बिर्तामोड १६ भदौ । लगभग साढे चारदशकयता ऐलानी जग्गामा बसोबास गरिरहेका बिर्तामोड नगरपालिका-३ करेलाबारीको जग्गा ब्यक्तिका नाममा धनीपुर्जा रहेको दाबी गरेको घटनाप्रती नेपाली काङ्ग्रेस बिर्तामोड ३ नम्बर वडा समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिर्ताबजारको सैनिकमोडबाट पश्चिम अन्धुवापुल पश्चिम् दक्षिणपट्टीको जग्गा व्यक्तिको नाममा रहेको भन्दै साढे चारदशक यता बसोबास गर्दै आएका सुकुम्बासीलाई डर त्रास देखाएको उक्त कार्यप्रति नेपाली कांग्रेस बिर्तामोड ३ नं. वडासमितिले आइतबार पत्रकार भेटघाट गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
वडासमितिले आइतबार पार्टीको वडा कार्यालयमा पत्रकारहरुसंग भेटघाट गर्दै साढे ४ दशक अघिदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई भू–माफियाले दिएको दवावप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएको हो । वडा समितिका कार्यवाहक सभापति वासुदेव माझी र सचिव सुमन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘बिर्तामोड नगरपालिका वडा नं.–३ को विषयमा हाम्रो पार्टी नेपाली कांग्रेस बिर्तामोड नगरपालिका वडा नं.३ समितिको ध्यानाकर्षण भएको छ ।
बिगत ४५ वर्ष देखि भोग चलन तथा बसोबास गरी आइरहेको भूमिहीन स्थानीयबासीमाथि भू–माफियाले गरेको बदनियतपूर्ण कार्यप्रति हामी गम्भीर आपत्ति जनाउन चाहन्छौं । स्थानीय भूमिहीन नागरिकले बसोबास गरी आएको जग्गा–जमिनलाई भू–माफियाहरुले हडपी पुनः करेलाबारीहरुलाई भूमिहीन बनाउन खोज्ने भू–माफियाको प्रबृत्तिप्रति हाम्रो पार्टी खेद प्रकट गर्न चाहन्छ साथै भूमिहीन करेलाबारीबासीहरु प्रति न्याय हुनुपर्छ भन्ने कुरामा हाम्रो पार्टी दृढ रहेको जानकारी गराउन चाहन्छौं ।’
साढे ४ दशकदेखि बसोबास गर्दै आएको बिर्तामोड–३ स्थित करेलाबारीका सुकुम्बासी बस्तीका स्थानीय यतिबेला त्रास र आक्रोशमा छन् । बिर्तामोड नगरपालिका–३ स्थित अंधुवा खोला पश्चिमतर्फको ऐलानी जग्गामा बर्षौदेखि बसोबास गर्दै आएका उनीहरुलाई बस्ती छाड्न दवाव दिंदै भू–माफियाले डर, त्रास देखाउँदै धम्की दिन थालेपछि स्थानीयमा त्रास बढेको हो । त्यहा लगभग ५१ घरपरिवार बसोबास गरिरहेको र प्रत्येक घरपरिवारले न्युनतम ५ धुरदेखी अधिकतम १५ धुरसम्म जग्गा भोगचलन गरिरहेको स्थानीय बासिन्दा श्याम गुरुङले बताए ।
२०३८ सालदेखि बसोबास गर्दै आएको कल्ठु राजवंशीले उक्त ठाउँ आफूहरुले बसोबास गर्नुपूर्व चिहानखाडी भएको बताए ।
तत्कालिन भुपाल किराँती सुकुम्बासी आयोगको अध्यक्ष रहेको बेला करेलाबारीको ऐलानी जग्गालाई व्यक्तिको नाममा दर्ता गरिएको र अहिले उक्त जग्गा खाली गरिदिन भु–माफियाहरुले दिएको दबाबप्रति नेपाली कांग्रेस बिर्तामोड नगरको समेत ध्यानाकर्षण भएको नगरका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वाले बताए ।
वडासमितिले उठाएको सुकुम्बासीको समस्यालाई नगरसमितिले गम्भिर रुपमा लिएको बताएका छन् । करेलाबारीका स्थानीयको बसोबासको सुरक्षाका लागि आफूहरुले नगरपालिकामा शसक्त रुपमा कुरा उठाउने बताउँदै त्रासमा रहेका स्थानीयलाई ढुक्क भएर बस्न आग्रह गरे ।
भू–माफियाले सबै सकेको बताउँदै श्याम गुरुङले केही वर्ष अघि बिर्ताबजार पश्चिमको पुल निर्माण गर्ने क्रममा पुल निर्माण हुने स्थानको जग्गा दावी गर्दै एकपटक एकजना व्यक्ति आएको बताउँदै भने–‘त्यो भू–माफिया नै थियो । हामीले यो ऐलानी जग्गा कसरी व्यक्तिको भयो भनेर हाटहुट गरेपछि फर्केर आएन ।’
करेलाबासीका स्थानीय कुमार कन्दङ्वाले वास्तविक व्यक्तिको जग्गा भए खास धनी आउनु पर्ने हो, तर अर्को व्यक्ति आउँछ किन ? भन्दै प्रश्न गरे ।
साढेचार दशक अघिदेखि बसोबास गर्दै आएका झण्डै ५० परिवार सुकुम्बासी बसोबास गरेको ८ कठ्ठा जमिन नाप्न दिनका लागि नगरका उपमेयर समेत लागेपछि स्थानीय त्रसित र आक्रोसित भएका हुन् ।