बिर्तामोड १ भदौ । झापाको बिर्तामोड आयोजित एक कार्यक्रमका बीच युवा सर्जक मिलन संग्रौलाद्वारा लिखित बावरी उपन्यासको गृह विमोचन तथा चर्चा गरिएको छ । संग्रौलाद्वारा लिखित बाबरीको कार्यक्रमका प्रमुख अतिथि पुन्यप्रसाद खरेल, चुडामणी बाशिष्ठ, चन्द्र भण्डारी, सुभद्रा प्याकुरेल, प्राज्ञसभा सदस्य मुनाराज शेर्मा, केशव आचार्य लगायतले सामुहिक रुपमा विमोचन गरेका हुन् । विमोचनपछि कृतिबारे गरिएको चर्चामा तीनैजना अग्रजले उपन्यास सफल भएको टिप्पणी गरेका छन् ।
माओवादी द्वन्द्वकाललाई पृष्ठभूमि बनाएर लेखिएको उपन्यासमा मस्तिष्क र प्रेमको द्वन्द्वलाई लेखकले कौशलताका साथ प्रस्तुत गरेको बताए । साथै नेपालको पूर्वी पहाडमा बोलिने, ठेट भाषा, शब्द, शैली, माओवादी द्वन्द्वले दिएको पीडा र परिवेशलाई कलात्मक ढंगले पस्किएको उल्लेख गर्दै सामुहिक छलफलमा सहभागी बाशिष्ठ, भण्डारी र भट्टराईले परिवेश बुझ्नका लागि पनि अहिलेको पुस्ताले पढ्नैपर्ने कृतिका रुपमा बाबरी आएको ठहर्याएका छन् । पुस्तक माथिको संवादको सहजीकरण झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले गरेको कार्यक्रममा उपन्यासका लेखक संग्रौलाले कृतिमाथि उठेका जिज्ञासाबारे प्रष्ट्याएका थिए । सो अवसरमा सहभागीका तर्फबाट केशव भट्टराई र डिल्लीराम परदेशीले जिज्ञासा राखेका थिए ।
झापाली साहित्य समाजको आयोजनामा भएको पुस्तक विमोचन, विशेष रचना वाचन, ‘बा’ विशेष बावक्र संवाद कार्यक्रम एकसाथ सम्पन्न भएको छ । संगिता कोइरालाको अध्यक्षता तथा सुनिता तामाङको सञ्चालन रहेको कार्यक्रममा स्रष्टाहरु विमल बैद्य, भरत बर्बरिक, विवश बलिभद्र कोेइराला र रिता पोखरेलले रचना वाचन गरेका थिए । विवेक निशानीको विशेष कविता वाचन रहेको कार्यक्रममा बावक्र विशेष संवादमा राजेन्द्र संग्रौला र हरिनारायण भट्टराई रहेको संवादको सहजीकरण केशव आचार्यले गरेका थिए । कार्यक्रममा स्वागत झापाली साहित्य समाजका सदस्य पर्वत चिमरियाले गरेका थिए ।
माओवादी द्वन्द्वको पृष्ठभूमिबाट जन्मिएको ‘बावरी’मा प्रेम र पूर्वीय परिवेश

































































































