भद्रपुर २८ साउन । भद्रपुर नगर पालिकाको सहयोगमा झापा जिल्ला अदालतमा निर्माण भएको थुनुवा कक्ष एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
अदालतमा सोमबार आयोजित कार्यक्रममा अदालतका एक नं.न्यायाधीश अशोककुमार बस्नेत र भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, तथा भद्रपुर नगर पालिकाकी उप प्रमुख राधा कार्की, प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौला, श्रेस्तेदार किरणकुमार सिंह, जिल्ला सरकारी वकिल कार्यालय झापाका प्रमुख रुद्र आचार्य, जिल्ला प्रहरी कार्यालयका, बार इकाई झापा र कारागार कार्यालय झापाका प्रतिनिधि लगायत अदालतका शाखा अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गरेका थिए ।
सो अवसरमा मुद्दा पुर्पक्षको क्रममा कारागार रहेका एवं अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय र मातहत ईलाका प्रहरी कार्यालयमा हिरासतमा रहेका फौजदारी अभियोग लागेका प्रतिवादीहरू मुद्दाको प्रक्रियागत सिलसिलामा अदालतमा उपस्थित गराउदा सुरक्षित तवरले राख्नको लागी अदालतमा थुनुवा कक्ष निर्माण भएको न्यायाधीश बस्नेतले बताए ।
यसअघि थुनुवाहरूले आफन्तसंग भेटघाट गर्न नपाएको गुनासो आउने गरेको थियो । थुनुवा कक्ष निर्माण भएसंगै थुनुवाले आफन्तसंग निश्चित समयसम्म भेटघाट र बोलचाल गर्न समेत सकिने अदालतका श्रेस्तेदार सिंहले जानकारी दिए ।
लगभग ३० जना क्षमता भएको थुनुवा कक्षमा महिला र पुरुषको फरक फरक शौचालय, स्टेन फेन सहितको कक्ष निर्माणका लागि भद्रपुर नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।
अदालतमा निर्मित थुनुवा कक्षाको उद्घाटन

































































































