बिर्तामोड २७ साउन । प्रहरी चौकी शनिश्चरेले चोरीका सामान तथा भरुवा बन्दुकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । साउन २५ गते बेलुका १० बजेपछि अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित मिलडाँडामा सञ्चालित इन्दिरा अधिकारीको किराना पसलको ताला फुटाएर सामान चोरी गरेको भनेपछि खोजीका लागि खटिएको प्रहरी चौकी शनिश्चरेको टोलीले साउन २६ गते बेलुका साढे १० बजेको समयमा अर्जुनधारा ४ स्थित देवान चोकबाट ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले अर्जुनधारा ४ का १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षको छिरिङ तामाङ र निखिल तामाङलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका आदित्यको साथबाट एकथान चाँदीको सिक्री, ५० रुपैयाँ दरको १९ वटा नेपाल टेलिकमकोे रिचार्ज कार्ड, छिरिङका साथबाट चाँदीको पाउजु र औंठी दुई/दुई थान र एनसेलको रु ५० को रिचार्ज ५ वटा र निखिलको साथबाट १ थान चाँदीको सिक्री बरामद गरेको प्रहरीले छिरिङको घरबाट एकथान भरुवा बन्दुक र पसल चोरी गर्दा प्रयोग गरिएको खुकुरी समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ गरिएका तिनैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।
भरुवा बन्दुकसहित चोरीमा संलग्न तीनजना प्रहरी नियन्त्रणमा

































































































