काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका आफन्तले ३ दिनपछि मात्रै शव पाउने भएका छन् । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतले जनाएको छ । शवको पोष्टमार्टमका लागि प्राविधिक टोलीलाई अस्पताल पुग्न खबर गरिसकेको अवस्थामा सौर्य एयरलाइन्सका प्रतिनिधि र मृतकका आफन्त उपस्थित भएपछि पोष्टमार्टम शुरु गरिने स्रोतको भनाई छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते भएका छन् । विमानमा पाइलट, काे पाइलट र अन्यसहित १९ जना रहेका खुलेकाे छ ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ भने पाइलट शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
क्याप्टेन शाक्य घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । जहाज दुर्घटनामा परेका सबै साैर्य एयरलाइन्सका कर्मचारी रहेकाे बताइएकाे छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट उड्नासाथ जहाज दुर्घटनामा परेको हो । यो जहाज मर्मत परीक्षणका लागि पोखरा जाने क्रममा थियो ।

































































































