सकुन्तला कार्की
आजदेखि उत्तरायण सकिएर दक्षिराण शुरु भएको छ । साउने संक्रान्तिदेखि शुरु भएको दक्षिणायन पुस मसान्तमा समाप्त भएर माघे संक्रान्तिदेखि उत्तरायण शुरु हुने मानिन्छ । साउन महिनामा महिलाले हरिया र पहेला चूरा, पोते, मेहन्दी लगाउने गरेको पाइन्छ । सौभाग्यको प्रतिकका रुपमा मानिएका हरिया, पहेला र राता चूरा, पोते, कपडा लगाएर प्रायः हिन्दू महिलाहरु सोमबार ब्रत पनि बस्ने गर्छन् । साउन महिनालाई भगवान शिवको प्यारो महिनाका रुपमा पनि लिइन्छ । साउनको सोमबार ब्रत बसेका महिलाहरुले भगवान शिवको मन्दिरमा गएर जलार्पण गर्ने गर्छन् । जसरी भगवान शिवलाई सृष्टि संरचनाको प्रमुख मानिन्छ–सोही मान्यता अनुसार महिलाहरु आफ्नो श्रीमानलाई पनि शिवको रुपमा मानेर श्रीमान्को दीर्घायु र परिवारमा सुखशान्तिको कामना ब्रत बस्ने गर्छन् ।
हरियो चूराको वास्तविकता
हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्य एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । हरियो, पहेंलो, रातो सम्मिश्रण गरी लगाउने चलन चलेको हो ।
साउन महिनाको सुरूवातसँगै हरियो चुरापोते र कपडाको फेसन नयाँ संस्कृति बनेर विगतदेखि नै नेपालमा भित्रिएको छ । यो नेपालीको मौलिक संस्कृति र परम्परा होइन । यो देखासिकीको आयातित फेसन संस्कृतिका रुपमा बढ्दै गएको छ । सभ्यताको विकास भएको प्रमुख देशमध्ये इजिप्ट भएको मानिन्छन् । तथापी इजिप्टका नागरिक सबैभन्दा असभ्य भएको टिप्पणी हुन थालेको छ । चुरा लगाउने प्रचलन पनि इजिप्टबाटै भएको इतिहासले देखाउँछ ।
नेपालमा भने भारतीय संस्कृतिबाट चुरा लगाउने परम्परा भित्रिएको मानिन्छ । यथार्थता र महत्व नबुझी छिमेकीको प्रभावले साउन हरियो चुरा लगाई मनको रहर पूरा गर्ने परम्पराको रुपमा विकास हुन थालेको मानिन्छ ।
चुरा नेपाली संस्कृति त होइन नै, यद्यपि विवाहित नारीले श्रृङ्गार र सुन्दरताका लागि चुरा लगाउन सुरू गरेका भएपनि पछिल्लो समय विवाहित अविवाहित सबैको रोजाईमा परेको चुरा बनाउन प्रयोग गरिने कच्चा पदार्थले मान्छेको स्वास्थ्यमा कस्तो असर पार्छ भन्नेबारे धेरै महिला बेखबर छन् ।
मेहेन्दी :
धार्मिक दृष्टिकोणले साउन पवित्र महिना हो । यो महिनामा हिन्दू धर्मावलम्बीहरू भगवान् शिवको व्रत बस्दै आराधना गर्छन् । मेहेन्दीले छालालाई पवित्र बनाउँछ भन्ने मान्यता पनि छ । त्यही कारण पनि यस महिनामा महिलाहरू मेहेन्दी लगाउँछ । हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । यद्यपी सबै महिलाले यही विश्वासमा मेहेन्दी लगाएका होइनन्, सौन्दर्यताका लागि पनि लगाएका हुन् ।
परापूर्वकालदेखि नै महिलाले मेहेन्दी लगाउने चलन छ । यसलाई सुन्दरताको प्रतीकका रूपमा पनि लिइन्छ । हातखुट्टामा मेहेन्दी लगाउँदा मानिसको छालामा लाग्ने विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने विश्वास पनि छ ।
किनकि, मेहेन्दी आफैँमा एन्टिब्याक्टेरियल वनस्पति हो । साउनमा अत्याधिक वर्षा हुने तथा खेतिपातीको काम गर्नुपर्ने भएकाले पनि हातखुट्टामा हिलो लाग्ने, चिलाउने, घाउ हुनेलगायत समस्या धेरैमा देखिन्छ ।
यस्ता समस्या कम गर्न पनि मेहेन्दीले भूमिका खेल्छ भन्ने मान्यता अनुसार नै प्राचीनकालदेखि विभिन्न वनस्पतिलाई पिसेर त्यसको मिश्रणलाई मेहेन्दीका रूपमा लगाउने गरिएको छ ।
हिजोआज पिसेको पातको धुलो बजारमा किन्न पाइन्छ । मेहेन्दी आर्टिस्टहरूले विभिन्न आकर्षक डिजाइनका चित्रहरू तयार गर्छन् । हात र खुट्टामा कोरिएका मेहन्दीका रंगीन बुट्टाले महिलालाई स्टाइलिस देखाउँछ ।
संस्कृतिविद् जगमान गुरुङका अनुसार साउनमा हरियो र पँहेलो रंगको चुरा र मेहेन्दी लगाउने चलन भारतको राजस्थानबाट भित्रिएको हो । ‘नेपालमा यो चलन थिएन ।
साउनमा नेपालमा भने महिलाले हातमा तिउरी लगाउने चलन थियो,’ उनले भने, ‘तिउरी एक फूल हो, जसको पात पिसेर परेवाको विष्ट मिसाएर हातमा रातभरी लगाएर छोप्ने चलन थियो । भोलिपल्ट रातो हुन्थ्यो । मेहेन्दी लगाउने चलन थिएन ।
किन लगाउछन् महिलाले साउनमा हरियो चूरा र मेहेन्दी



















