काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएसंगै पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेसंगै आ आफ्नो जिम्मेवारीमा परेका मन्त्रालयका पदभार ग्रहण गर्दै केही महत्वपूर्ण र महत्वाकांक्षी निर्णय समेत गरेका छन् ।
यसअघि सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच नवनियुक्त प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए । त्यस लगत्तै मन्त्रालयमा पुगेर मन्त्रीहरुले मन्त्रालयकोे जिम्मेवारी लिएका हुन् ।
सपथग्रहणका अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, उपराष्ट्रपति, प्रधानन्यायाधिस, संवैधानिक निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्रीसंगै नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ लिएसंगै प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीहरुले आफ्नो कार्यभार सम्हालेका छन् । ओली नेतृत्वमा २२ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।
ओली नेतृत्वको मन्त्रीपरिषदमा उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालय, उपप्रधानमन्त्री विष्णु पौडेल अर्थ, पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि, रमेश लेखक गृह, शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, आरजु राण परराष्ट्र, प्रदिप यादव खानेपानी, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, दामोदर भण्डारी उद्योग बाणिज्य तथा आपूर्ति, नवलकिशोर साह सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, तेजुलाल चौधरी युवा खेलकुद, अजय चौरसिया कानून, न्याय तथा संसदीय मामिला, मानविर राई रक्षा, दिपक खड्का उर्जा, जलस्रोत तथा सिंचाई, ऐनबहादुर शाही वन तथा वातावरण, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास, प्रदिप पौडेल स्वास्थ्य मन्त्रालय, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, विद्या भट्टराई शिक्ष, विज्ञान तथा प्रविधि, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । चौथो पटक नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका ओलीसंगै झापाबाट दुईजना मन्त्री भएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले आफूसंगै झापा क्षेत्र नं.–५ निवासी देवेन्द्र दाहाललाई पनि मन्त्रीमा नियुक्त गर्दै शक्तिशाली मन्त्रालयको जिम्मेवारी समेत दिएका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीको नियुक्ति गैह्रसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्रीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट निवेदकले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । रिटमा निवेदकले एउटै धारा दोहो¥याएर नियुक्त गर्न नमिल्ने जिकिर गरेका छन्। ‘एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो। संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधि सभा सदस्यका रूपमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको र उनले विश्वासको मत नपाए ७६(३) को सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था हो, यसबाट बाहिर जान मिल्दैन,’ रिटमा भनिएको छ।
प्रधानमन्त्रीसहित मन्त्रीहरुले सपथसंगै पदभार ग्रहण, २२ सदस्यीय मन्त्रीमण्डल



















