झापा ३० असार । भ्रष्टाचार विरुद्ध निरन्तर सचेतना आवाज उठाउँदै आएको अमेरिकास्थित हेम–सरिता फाउण्डेसनले २०८१ को ‘भ्रष्टाचार विरुद्ध’को टंकप्रसाद–रमादेवी अन्तराष्ट्रिय पुरस्कार मातृका दाहाल र दिपा दाहाललाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।
पुरस्कृत प्रतिभा मध्ये मातृका कान्तिपूर दैनिकका उपसम्पादक हुन् भने दिपा उकालो डटकममा आवद्ध रहेकीे छन् ।
नेपाली पत्रकारितामा चर्चित प्रकरणहरुमा निष्पक्षतवरमा निडर भएर समाचार सम्प्रेषण गरेको ठहर गर्दै दाहालद्वयलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । पुरस्कृत प्रतिभा दुवैले राष्ट्रिय तथा विभिन्न अन्तराष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत भइसकेको जनाइएको छ ।
फाउण्डेसनका संरक्षक हेम–सरिताले बुबा–आमा (टंकप्रसाद र रमादेवी पाठक) का नाममा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।
फाउन्डेसनले एक लाखको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता २०८१’ को उत्कृष्ट पच्चीस र एक लाखको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ को लागि भ्रष्टाचार ‘विरुद्धको गीत प्रतियोगिता’को निर्णय सार्वजनिक गरिसकेको छ । संगीततर्फ शिशिर योगी छनौटमा परेको पारिवारिक स्रोतले जनाएको छ । संगीततर्फको प्रतिभा छनौटका लागि प्रेमराजा महतको संयोजकत्वमा रहेको छ । महत फाउण्डेसनका पूर्व पुरस्कृत प्रतिभा हुन ।
विगतमा आफू र आफ्ना परिवारका सदस्य समेत पत्रकारितामा संलग्न रहेको इतिहास बोकेको फाउण्डेसनका संरक्षकले झापामा क्रियाशील पत्रकारलाई प्रत्येक वर्ष वितरण गर्ने गरी पाँच लाखको अक्षयकोष सहितको भ्रष्टाचार विरुद्धको पत्रकारिता पुरस्कारको स्थापना गरेका छन् । पत्रकार महासंघ झापा शाखामा स्थापित उक्त प्रत्येक वर्ष भ्रष्टाचार विरुद्धको दिवसका दिन वितरण गर्ने गरी राखिएको पत्रकार महासंघ जिल्ला शाखाद्वारा जारी पुरस्कार कार्यविधीमा उल्लेख छ ।
त्यस्तै बुबा आमा दिवंगत भएपछि उहाँहरुको प्रत्येक बार्षिक पुण्य तिथीमा दुईजनालाई नगद राशीसहित सम्मान गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भएका एक÷एक महिला र पुरुषलाई जनही नगद ११÷११ हजार राशी, दोसल्ला र सम्मान पत्रसहित सम्मान गर्दै आएको परिवारका सदस्य यज्ञप्रसाद पाठकले जानकारी दिए ।
फाउन्डेसनले पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न विधाबाट भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि कलम चलाउन प्रोत्साहित र सम्मान गर्दै आएको छ । साथै निम्न बर्गीय परिवारका बालबालिकालाई गुणस्तरिय शिक्षा दिने उद्देश्यले शैक्षिक क्षेत्रमा समेत लगानी गर्दै आएको छ । सोही उद्देश्य अनुसार झापाका एकलर्ट एकदेखि १२ कक्षासम्म १२ जना विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरेको फाउण्डेसनले काठमाडौंको साँगामा विद्यालय भवन नै निर्माण गरेर समाजलाई जिम्मा दिइसकेको छ भने अन्य जिल्लामा पनि विपन्न परिवारका बालबालिकाका लागि शिक्षामा लगानी गरेको पारिवारिक स्रोतले जनाएको छ ।
पुरस्कार निकट भविष्य मै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने बताइएको छ ।
भ्रष्टाचार विरुद्धको टंकप्रसाद–रमादेवी अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार मातृका र दिपालाई



















