काठमाडौं ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेका हुन्।
संसद्को ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। प्रधानमन्त्रीमा आज नियुक्ति पाएका ओलीले भोली बिहान ११ बजे सपथ लिने बताइएको छ ।
प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ । शपथ भोलि बिहान ११ बजे राष्ट्रपति निवास शीतल निवासमा हुनेछ । सबै सांसदहरूलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले पत्र पठाएको हो ।
आज चौथोपटक प्रधानमन्त्री भएका ओली यसअघि २०७२ सालको असोज २४ गते, २०७४ सालको फागुन ३ गते र २०७८ सालको वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग सहकार्य भएसँगै ओली प्रधानमन्त्री बनेका हुन् । अर्को चुनावसम्म एमाले र कांग्रेसले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।




















