चितवन २८ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस आज बिहान झण्डै साढे ३ बजेतिर भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाउँदा त्रिशूली नदी किनारमा खसेको थियो ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
दुईवटा बसमा चालकसहित ६५ रहेको अनुमान गरिएपनि कति यात्रु थिए भन्ने वास्तविक तथ्याङ्क आइसकेको छैन । पहिरोमा परेको बस र यात्रुको उद्दार निकै कठिन भएको बताइएको छ । त्रिशुली नदीको बहाव बढीरहेको हुँदा उद्दार कार्यमा समस्या भएको उद्दारमा खटिएको टोलीले जनाएको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकमा पहिरोबाट वेपत्ता खोज्न गोताखोर परिचालन



















