विर्तामोड १२ असार । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा सहभागी बक्ताहरुले रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कम भएको र यसले वातावरणमा नै प्रतिकुल असर देखिन थालेको बताउँदै माटोलाई प्राकृतिक अवस्थामा फर्काएर अर्गानिक उत्पादन गर्नु चुनौतिपूर्ण रहेको बताएका छन् ।
नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना र अर्गानिक एसोसिएसन नेपालको संयोजनमा विर्तामोडमा सम्पन्न लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजार पहुँचका लागि आवश्यक पर्ने सर्टिफिकेशन प्राप्त गर्ने प्रक्रिया सम्बन्धी पाँचदिने क्षमता अभिबृद्धि तालिममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
प्रकृतिको संरक्षण गर्दै अर्गानिक उत्पादन गर्न अब ढिलो गर्न नहुने धारणा राख्दै सहभागी एवं बक्ताहरुले अर्गानिक उत्पादन र यसको उपभोगले मात्रै मानव स्वास्थ्यमा सुधार आउने बताएका हुन् ।
‘स्लो पोइजनको उपभोगले क्यान्सरजस्ता घातक रोग सबै उमेर समूहमा देखिन थालेको छ’–कार्यक्रमका प्रमुख अतिथि एवं विर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंले भनिन् । कृषिलाई ब्यवस्थित गर्न कृषि फर्म र चक्लाबन्दी खेतीको आवश्यकता देखिन थालेको उनको भनाई थियो ।
‘बढ्दो बैदेशिक रोजगारीका कारण अशक्त जनशक्तिमात्रै गाउँमा रहँदा कृषि पेशा विस्थापन हुँदै गएको छ’–प्रसाईले भनिन्–‘पहाडमा खेती बाँझिने र मधेसमा प्लटिङले कृषि कर्म घट्दै गएको छ ।’ कृषि एवं पशुपालनका लागि नगरपालिकाले विभिन्न समूहमा लगानी गरेपनि कतिपय समूहले प्रभावकारी उपलब्धी हात पार्न नसकेको उनको भनाई थियो ।
नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक शरणविक्रम राणाले बढ्दो विषादीको प्रयोगले प्रजनन क्षमता ह्रास भइरहेकोप्रति चिन्ता ब्यक्त गर्दै विश्वमा नै बाँझोपनको समस्या देखिन थालेको उदाहरण प्रस्तुत गरे ।
कतिपय सामग्रीको सन्दर्भमा ‘बजार छ बस्तु छैन र वस्तु छ बजार छैन’ को अवस्था रहेको तर्क गर्दै उहाँले अरेविका जातको कफीको माग विश्व बजारमा रहेपनि नेपालले माग धान्ने गरी उत्पादन गर्नै नसकेको धारणा राखे ।
अर्गानिक एसोशिएसन नेपालका महासचिव शान्ता वास्कोटाले सरकारको मुख ताक्नुभन्दा घरघरबाट प्रकृतिको संरक्षण गर्दै अर्गानिक उत्पादन नथाले वातावरणीय सन्तुलनमै समस्या देखिने धारणा राखे ।
उमा शिवाकोटीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सहभागीका तर्फबाट रामलाल उप्रेती, सिता बजगाई, हरिभक्त उप्रेती, गंगा प्रसाई, रिना ओडारी लगायतले प्रशिक्षणको उपलब्धी र अर्गानिक उत्पादनका विषयमा आ–आफ्ना धारणा राख्दै विद्यालय तहको पाठ्यक्रममा नै कृषि पेशा र अर्गानिक उत्पादनका विषयवस्तु राखेर अध्ययन–अध्यापन शुरु गर्नुपर्नेमा जोड दिए ।
स्थानीय पालिका एवं वडाहरुले कृषिमा छुट्याएको रकमको निश्चित प्रतिशत रकम अर्गानिक उत्पादनका लागि गर्नुपर्ने माटोको उपचार, किराको नियन्त्रणका लागि प्राकृतिक जडिबुटीबाट औषधी निर्माण तथा प्रयोग, यसले मानव स्वास्थ्यमा पु¥याउने फाइदाका विषयमा जनचेतना अभिबृद्धि गर्न लगानी गर्न सुझाव दिएका थिए । अर्गानिक उत्पादन अवसर र चुनौति दुवै भएको बताउँदै सहभागीहरुले आफू र परिवारलाई स्वस्थ राख्न अर्गानिक उत्पादन र उपभोग जरुरी रहेको बताए ।
विभिन्न पेशा, ब्यवसाय, लघु उद्यम एवं ब्यवसायमा संलग्न महिला पुरुष गरी ३० बढीको सहभागिता रहेको कार्यक्रममा सहजीकरण शंकर गुरुङ र शान्ता वास्कोटाले गर्नुभएको सिद्धीचरण दाहालले जानकारी दिए । कार्यक्रमको सञ्चालन नवराज मरहठ्ठाले गरेका थिए ।
‘अर्गानिक उत्पादन चुनौतिपूर्ण’



















