चारआली १० असार । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आउँदो वर्षातमा आवश्यक परेको खण्डमा क्याम्पस सहका शैक्षिक जनशक्ति तथा क्याम्पससंग आवद्ध सबैलाई परिचालन गर्ने बताएका छन् ।
झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा आयोजित विपद ब्यवस्थापन ः हामी सबैको दायित्व विषयक सचेतनामूलक कार्यक्रममा बोल्दै जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख अतिथि बास्तोलाले मनसुन पूर्वानुमान अनुसार २०८१ मा हुने बाढीको जोखिमबाट झापा उच्च जोखिममा रहेको जानकारी दिए । बाढीबाट हुने जोखिमको सामना गर्न भौतिक, शारीरिक तथा मानसिक रुपमा समेत तयार रहनुपर्नेमा जोड दिंदै प्रमुख जिल्ला अधिकारी बास्तोलाले राज्यले नीति निर्माण गरेर पूर्वाधार निर्माण गर्दा विपद जोखिमबाट बच्न सहज हुने प्रकृतिका संरचना निर्माण गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
क्याम्पस सञ्चालन समितिकाअध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षता र क्याम्पस प्रमुख माधव प्याकुरेलको स्वागत तथा प्राध्यापक सावित्रा दाहालले सञ्चालन गरेकोे कार्यक्रममा मेचीनगर १२ का वडाध्यक्ष मधुसुधन निरौला लगायतले विपदबारे आ–आफ्नो धारणा राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले विपदबारे तयारी, विपत् पूर्वानुमानको अवस्था, झापाका बाढीबाट पुग्नसक्ने संभावित क्षति तथा क्षति न्यूनिकरणका लागि अपनाउन सकिने उपाय, बाढी पूर्वसूचना प्रणाली, खतराको संकेत, बाढीले डुवान भएका ठाउँहरुमा उद्दारका लागि यसअघि भएका अभ्यास, स्थानीय स्रोत साधन परिचालनको अवस्था लगायतका बारेमा सहजीकरण गरेका थिए ।
विपत प्रतिकार्यका लागि समुदायमा भएका अभ्यास र ती अभ्यासको महत्व तथा त्यसले विपतमा पुर्याएको योगदानका बारेमा सहजकर्ता ढकालले स्पष्ट पारेका थिए ।
विपत विरुद्ध लड्नका लागि राज्यले नीति निर्माण गरेपनि कार्यान्वयनमा आउनै नसकेको तथा अधिकार प्राप्त स्थानीयहरु मध्ये केहीले सामान्य तयारी गरेपनि झापाका सबै पालिकाले विपतको सामनाका लागि नीतिगत व्यवस्था नगरेको बताइएको छ ।
त्रिदेव क्याम्पसमा विपद ब्यवस्थापन सचेतनामुलक कार्यक्रम



















