भद्रपुर असार । लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसको अवसरमा मनाईने सप्ताहव्यापी कार्यक्रम झापामा पनि शुरु भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बिहीबारदेखि झापामा सप्ताहब्यापी कार्यक्रम शुरु भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता कृष्णकुमार चन्दले लागूऔषध नियन्त्रणका क्षेत्रमा भएका प्रयास र झापाको वर्तमान अवस्थाको बारेमा आफ्नो प्रस्तुति राख्नु भएको थियो भने त्रिदेव बहुमुखी क्याम्पसका उप प्राध्यापक साबित्रा दहालले लागूपदार्थ प्रयोगले समाज विकासमा पारेको असर र यसको नियन्त्रणमा सरोकारवालाको भूमिका विषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियोे ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनुभएका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ भएको र एक हप्ताभरि नै लागू औषध नियन्त्रणका लागि विभिन्न क्षेत्रसँग सहकार्य गरेर अन्तरक्रिया, छलफल लगायत कार्यक्रम गर्ने र सुरक्षा निकायले विद्यालय कलेजहरुसँगको सहकार्यमा सम्बन्धित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा शसस्त्र प्रहरी बलका प्रमुख कबिन्द्र राईले लागूऔषध नियन्त्रणमा हाल झापामा सुरक्षा निकायको तर्फबाट भईरहेका प्रयास र मेची अञ्चल अस्पतालका डा. बाह्रकोटीले अस्पतालले गरिरहेका गतिविधि बारेमा जानकारी गराए ।
भने सहभागीको तर्फबाट काँकरभिट्टा माविका प्रधानअध्यापक हरिप्रसाद न्यौपाने, धुलाबारी माविका प्र.अ. महेन्द्र बिलास लुइटेल, मोहनमाया माविका प्र.अ. शेरबहादुर श्रेष्ठ, भद्रपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख जीवनकला राउत, लागू औसत पुनर्स्थापना केन्द्रहरूका तर्फबाट राजु गिरी लगायतका सहभागीहरूले आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सुरक्षा निकायका जिल्ला प्रमुखहरू, जिल्ला रेडक्रस झापाका प्रमुख , सामुदायिक विद्यालयका प्रअहरू, मेची अञ्चल अस्पतालका सम्बन्धित क्षेत्रमा क्रियाशील डा.लागूऔषध विरूद्ध क्रियाशील संघका प्रमुख तथा प्रतिनिधि, विभिन्न पालिकाका कर्मचारी , झापामा रहेका सुधार गृहका सञ्चालकहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वमणि नेपाल गरेका थिए ।
लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरूद्ध साताब्यापी कार्यक्रम



















