झापा ८ जेठ । कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाल सिरोहिया पक्राउ परेपछि नेपाल पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आफूमाथि लागेको आरोपको सन्दर्भमा छानबीनलाई सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति महासंघले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।

महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोप सन्दर्भमा निरन्तर समाचार प्रकाशित गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यत्तिले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ ।
कानुन अनुसार हुने अनुसन्धानमा जहिले पनि साथमा रहने तथा अभिव्यत्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने विज्ञप्तिमा उल्लेख छ । प्रेस तथा अभिव्यत्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको प्रत्याभुतिलाई पालना गर्न महासंघले सरकारसँग जोडदार माग गरेको छ ।

यसैगरी सिरोहियालाई पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले ‘नागरिकताको विषय’ देखाएर पक्राउ गरिएको भनिए पनि मन्त्री लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने उद्देश्यले पक्राउ गरिएको युनियनले ठहर छ । महासचिव दिलिप पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘सहकारी ठगी’का विषयमा कान्तिपुर दैनिकमा निरन्तर खोजमूलक समाचार प्रकाशित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले पूर्वाग्रहपूर्ण ढंगले कान्तिपुरका प्रबन्धक निर्देशक सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको भन्दै प्रेस युनियनले घोर निन्दा गर्दछ । सिरोहियाको नागरिकताको विषयमा कानुन सम्मत अनुसन्धान गर्ने कुरा स्वभाविक छ र अनुसन्धानमा सिरोहियाले पनि सघाउनुपर्छ भन्ने मान्यता युनियनको छ । अनुसन्धानको बहानामा सञ्चार माध्यमलाई त्रसित बनाउने गरी विधि र प्रक्रिया मिचेर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी सत्ताको बलमा बदलाको भावनाले पक्राउ गरिएको घटना निन्दनीय छ । गृहमन्त्री लामिछानेले यसअघि ‘बाह्र भाइ’को नाममा सम्पादकहरू विरुद्ध दिएको अव्यिक्ति, सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने गरी गृह मन्त्रालयले दिएको हुकुमी शैलीको लिखित निर्देशन, सार्वभौम संसद्को रोष्टमबाटै मिडिया विरुद्ध बोल्नु, र अहिले मिडिया सञ्चालकलाई पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गर्न निर्देशन दिनुले रास्वपाका सभापतिसमेत रहेका लामिछानेको नियत प्रष्टिएको विज्ञप्तिमा उल्लेख छ ।
दोहोरो नागरिकता, राहदानी र सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने आफ्ना कुकृत्य ढाकछोप गर्न सत्ताको दुरुपयोग गर्दै अर्नगल प्रचारबाजी गर्दै आएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई आफ्नो राजनीतिक यात्राको जग स्मरण गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धताबाट विचलित नहुन, मिडियाप्रति पूवाग्रहपूर्ण व्यवहार नगर्न आग्रह गर्दछ । सिरोहियालाई पक्राउ गरिए पनि सम्पादकीय नीतिबाट विचलित नहुन, र नागरिकले सुसूचित हुन पाउने अधिकारलाई जीवन्त राख्न अविचलित भएर सञ्चार सामग्री उत्पादन गरी प्रकाशन तथा प्रशारणमा अडिग रहन कान्तिपुर मिडियालाई प्रेस युनियन आग्रह गर्दछ । साथै युनियन सञ्चार गृहको साथमा रहेको प्रतिवद्धतासमेत व्यक्त गर्दछ । सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न प्रेस युनियन सम्बन्धित सबै पक्षलाई सचेत गराउन चाहन्छ ।

त्यसैगरी प्रेस युनियन उपत्यका प्रतिष्ठान पनि विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने कार्यमा उद्दत देखिएको छ । मिडिया उद्यमी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रहरीले मिडिया हाउसको कार्यकक्षबाटै गिरफ्तार गरेर सरकारको स्वतन्त्र प्रेसविरोधी हर्कत उदाङ्गो पारेको जनाएको छ ।
अध्यक्ष लीलाराज खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ – सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले २०८१ जेठ ६ गते व्यवस्थापिका संसदको तल्लो सदन प्रतिनिधि सभामा उभिएर आमसंचार माध्यमबिरुद्ध अपमानजनक ढंगले स्वतन्त्र प्रेसमाथि धावा वोल्ने धृष्टता गरेका थिए । स्वतन्त्र प्रेसमाथि राज्य दमनमा उत्रने संकेत गृहमन्त्रीले संसदबाटै दिएका थिए । आफै फर्जी नागरिकता लिएकोमा दोषी ठहर भएका गृहमन्त्री लामिछानेले विभिन्न ४ वटा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा देशव्यापी विरोध भइरहेको छ । दुई, दुई वटा राहदानी प्रयोग गरी काूनको धज्जी उडाईरहेका गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विभिन्न प्रमाण र सूचनाहरु कान्तिपुर दैनिक र उसका अन्य प्रकाशनहरुले नियमित रुपमा प्रकाशन र प्रसारण गरिरहेका थिए । आफूबिरुद्ध समाचार लेखेको भन्दै गृहमन्त्री लामिछानेले प्रतिशोध साँध्नकै लागि आफूलाई गिरफ्तार गरेको सिरोहियाले जनाएका छन् ।
गृहमन्त्रीले राजनीतिक व्लाकमेलिङ गर्न कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा कार्यकक्षमै रहेका बेला मिडिया आउस बर्दी लगाएका हतियारधारी दर्जनौ प्रहरी तैनाथ गरी गिरफ्तार गर्नुले राज्य निरंकुस सत्ताको अभ्यास गरिरहेको देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरे पनि मिडिया उद्यमीलाई समाचार लेखेकै आधारमा सोधपुछ समेत नगरी गिरफ्तारी गर्नुलाई नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समित प्रेस स्वतन्त्रताको दमन गर्ने राज्यसत्ताको विरुद्ध जस्तोसुकै कदम चाल्न पनि तत्पर रहेको उल्लेख गरिएको छ । राज्यद्वारा प्रेसमाथि हुने जुनसुकै प्रकारको हस्तक्षेप र प्रहारविरुद्ध युनियनका तमाम श्रमजीवि पत्रकारहरु व्यवसायिक र भौतिकरुपमा समेत प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ ।
सिरोहियालाई आजै प्रहरीले कान्तिपुर मिडिया हाउसबाटै पक्राउ गरेको थियो । कान्तिपुर मिडियाले गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन प्रकरणमा संलग्न रहेको आधार प्रमाणसहित समाचार प्रकाशन हुँदै आएको थियो । यद्यपी सिरोहियालाई पक्राउ गर्नुको कारण दोहोरो नागरिकता जनाइएको छ । तर, सिरोहियाले भने लामिछानेका विषयमा लेखिएको समाचारको बदला लिइएको बताएका छन् ।
कार्यकक्षबाट पक्राउ गरिएपछि सिरोहियाले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्ट रहेको बताएका हुन् । उनले गृहमन्त्री लामिछानेमा नवअधिनायकवाद देखिएको टिप्पणी गरे । उनले भने, “गृहमन्त्रीसँग त दुईवटा पासपोर्ट छ । नवअधिनायकवाद देखिएको छ । कार्यकक्षबाट गिरफ्तार गरिएको छ । अन्तिमसम्म लड्छु ।’
सिरोहियाको पक्राउलाई विभिन्न राजनीतिक दलहरुले पनि टिप्पणी गरेका छन् । नेकपा एकीकृत समाजवादी एसले गलत कार्य भनेको छ भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गृहमन्त्रीको ज्ञानेन्द्र शैली भन्दै टिप्पणी गरेका छन् ।



















