बिर्तामोड १५ बैशाख । वीरता लेडी जेसीजको आयोजनामा शनिबार झापाको अर्जुनधारा–६ स्थित गरमकाली मन्दिरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।
आँखा शिविरमा ३९० जनाले आँखा जाँच गराएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । अध्यक्ष ओलीका अनुसार नौ जनामा मोतिया बिन्दुको सङ्क्रमण भेटिएको छ ।
मोतिया बिन्दु देखिएका ती बिरामीको मेची आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष ओलीले जानकारी दिइन् । आँखा जाँच गराएकाहरूलाई अस्पतालकै व्यवस्थापनमा औषधि र चश्मा निःशुल्क वितरण गरिएको छ ।
अर्जुनधारा वडा नम्बर–६ का वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा आयोजित शिविरमा बिहानी टोल सुधार समितिका अध्यक्ष गोपाल चुडाल, लालीगुराँस महिला समूहकी अध्यक्ष मीना चुडाल, आँखा अस्पतालका तर्फबाट नेत्र सहायक निरज दाहाल र अप्टिकल डिपार्टका नेत्र अधिकारीको आतिथ्य रहेको थियो ।
समुदायका नागरिकलाई सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित कार्यक्रमको औचित्यमाथि लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता चिमरियाले प्रकाश पारेकी थिइन् ।
वीरता लेडी जेसीजले आयोजना गरेका शिविरमा ३९० जनाको आँखा परीक्षण



















