जोस्ना श्रेष्ठ
बिर्तामोड २४ चैत । ट्रष्ट टिम नेपालको मुख्य आयोजना तथा झापाका विभिन्न २१ वटा संघसंस्थाको सहआयोजनामा बिर्तामोडमा आफूलाई चिनौं, नचिनी सुखै छैन’ विषयक प्रवचन सम्पन्न भएको छ । आफूभित्रको उर्जालाई जागरुक गराउन सके विश्वमा ठूल्ठूला मानिएका मानिसहरु र आफूमा केही फरक नभएको अनुभूत गराउँदै आफूलाई चिन्न प्रेरित गर्दै आएका डा. योगी विकाशानन्दले प्रवचन दिएका थिए ।
अंगमय मानव जीवनको बाहिरी शरीर र भित्री अर्थात प्राणमय कोषको आत्मा, प्राणमय जीवनको उर्जाले अंगमय जीवनमा पार्ने प्रभाव, मनोमयकोष र प्राणमय शक्तिको सम्बन्ध, लगायत मानव जीवनका भ्रम र वास्तविकता बारे प्रवचन दिएका थिए ।

योग, साधनाले जीवनलाई उर्जामय बनाउने अभ्यास उदाहरण प्रस्तुत गरिएको थियो । ट्रष्ट टिम नेपालका अध्यक्ष खिबराज दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन महासचिव सागर रिजालले गरेका थिए । विश्वले मानेका व्यक्तिहरु र आफूहरुको शारिरीक रुपमा फरक नरहेको उल्लेख गर्दै विकाशानन्दले जीवनलाई सदैव उर्जाशिल बनाउनका लागि आफूमा पनि केही छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताए ।

कार्यक्रममा गोल्डेन नेपाल, जनसेवा साकोस, सुर्यकाली टी इण्डस्ट्रिज प्रालि, सप्तक संगीत विद्यालय, धौलागिरी साकोस, हिमालायन लाइफ इन्स्योरेन्स, विर्तामोड उवा संघ महिला उद्यमी समूह, द रिजेन्सी हस्पिटालिटी, स्वष्तिका शिशु सदन, सिद्धिविनायक भजन किर्तन मण्डली, आरआर पोलिक्लिनिक, कञ्जन पाउरोटी उद्योग, युनिकम नेपाल, नारी सञ्चार गृह झापा, मनकामना कलेज, नेपाल महिला चेम्बर बिर्तामोड, मिलनसार साकोस, इलाम झापा मैत्री समाज, तपस्या आइसक्रिम उद्योग र दन्तकाली इङ्गिलस बोर्डिङ स्कुल सहआयोजक रहेका थिए ।

सहआयोजकहरुलाई डा। योगी विकाशानन्दले प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रममा सप्तक संगीत विद्यालयका सञ्चालक तथा प्रशिक्षक सरोज वत्स तथा सञ्जिवनी पौड्याललगायत प्रशिक्षार्थीहरुले गुरुबन्दनाका साथै अन्य सांगीतिक प्रस्तुती राखेका थिए । आयोजक संस्थाका सदस्य निर्जला घिमिरेले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा तीन सय पचास जनाको सहभागिता रहेको थियो ।

































































































