बिर्तामोड २० चैत । ६७ वर्ष अघि चितवनमा सहकारी स्थापना भएको दिनलाई नेपालमा सहकारी स्थापनाको दिन मान्दै आएका सहकारीकर्मीहरुले मंगलबार ६७ औं स्थापना दिवस मनाएका छन् । सहकार्यबाट सञ्चालन हुने र अधिकतम सदस्यको हितमा काम गर्ने सहकारीका प्रकृति अनुसारका उद्देश्यले स्थापित सहकारीहरुमा पछिल्लो समय देखिएका केही समस्याका कारण झापामा सहकारी दिवसलाई निकै महत्व र प्राथमिकतामा राखेर कार्यक्रमको आयोजना गरिएको थियो ।
सहकारी क्षेत्रलाई धरासायी बनाउन केही तत्व सक्रिय भएको महसुस गरेका सहकारीकर्मीहरुले ६७ औं स्थापना दिवसलाई महत्वका साथ लिंदै सोही किसिमको उपस्थितिको तयारी समेत गरेका थिए । सहकारीमा पछिल्लो समय सुरक्षा चुनौति थपिएको भन्दै उनीहरुले केही समय अगाडि जिल्ला प्रशासन कार्यालयमा सहकारीकर्मी र सहकारी कर्मचारीको सुरक्षाको माग समेत गरेका थिए ।
सहभागितालाई प्राथमिकतामा राखेको जिल्ला सहकारी संघ झापाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर तीन उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ । न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडमा आयोजित कार्यक्रममा नेपालकै उत्कृष्ट सहकारी सहारा नेपालसहित झापामा मुख्य कार्यालय रहेर अन्य जिल्लामा पनि काम गर्दै आएका तीनवटा सहकारीलाई सम्मान गरिएको हो ।
बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा आयोजित कार्यक्रममा सहकारी सहारा नेपाल सकोस्, दोस्रो नेपाल बहुउद्देश्यीय सहकारी संस्था र नबौं स्थानमा पर्न सफल कर्णाली सहकारीलाई सम्मान गरिएको छ ।
सहारा नेपालका अध्यक्ष हरिबहादुर राजवंशी , प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती तथा कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ र कार्यकारी प्रमुख कुमार याक्सोलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरी, राष्ट्रिय सहकारी महासङ्घका निर्वतमान अध्यक्ष मिनराज कडेल , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले झापाका नव निर्वाचित अध्यक्ष प्रेमवहादुर गिरी र नेकपा (माओवादी केन्द्र) झापाका अध्यक्ष राजु आचार्य (अग्नि) लगायतले सहकारी संस्थालाई व्यवस्थित गर्दै लानुपर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कँडेललाई सम्मान गरिएको कार्यक्रममा संघले प्रकाशन गरेको सहकारी स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।
कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी प्रर्दशनी गरिएको थियो । कार्यक्रम अघि झापाका विभिन्न स्थानमा सञ्चालित सहकारीका प्रतिनिधिहरूले प्रभात फेरीको आयोजना गरेका थिए ।
यसअघि मुक्तिचोकको चारैतिरबाट महानन्द चौक, भगवान चौक, बिर्तावजार र पूर्वतर्फ बसपार्क क्षेत्रबाट विभिन्न २९ वटा नारा सहितको प्लेकार्ड र झाँकी सहितको र्यालीले मुक्तिचोक परिक्रमा गरी कार्यक्रम स्थलमा पुगेको थियो।
सहकारीको ६७ औं स्थापना दिवस, उत्कृष्ठ सहकारीलाई सम्मान
