बिर्तामोड माघ । नेपाली कांग्रेसका नेता झापा अर्जुनधारा निवासी पूर्व मन्त्री केशबकुमार बुढाथोकीको निधन भएको छ । प्रोस्टेट क्यान्सर रोगबाट पीडित बुढाथोकी उपचारको क्रममा सोमबार बेलुका साढे ११ बजे निधन भएको जिल्ला स्रोतले जनाएको छ ।
नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे । बुढाथोकी बिराट नर्सिङ होम बिराटनगरमा उपचाररत थिए ।
संविधान सभा सदस्य समेत रहेका नेता बुढाथोकी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र व्यवस्था परिवर्तन भएपछि सामान्य प्रशासन मन्त्री भएका थिए ।
हक्की स्वभावका बुढाथोकी कांग्रेस राजनीतिमा मध्यमार्गी नेताका रुपमा परिचित थिए । ‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी विगत ४ बर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो ।
पछिल्लो समयमा फोक्सोमा इन्फेक्सन भएको थियो । मृगौलासमेत समस्या देखिएपछि उनलाई बिराट नर्सिङ होमको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको सोमबार राति निधन भएको छ ।नेता बुढाथोकीको आजै १ बजे कनकाई माईमा अन्त्येष्ठि गरिने नेपाली कांग्रेस झापाले सूचना सार्वजनिक गरेको छ । त्यसअघि श्रद्धाञ्जलीका लागि बुढाथोकीको पार्थिव शरीरलाई जिल्ला पार्टी कार्यालयमा राखिने छ ।
को हुन नेता बुढाथोकी :
साविक शनिश्चरे गाउँ पञ्चायत प्रधानपन्च एक कार्यकाल
– जिल्ला पञ्चायत सभापति एक कार्यकाल
– २०३८ सालमा सम्पन्न निर्वाचनमा जनपक्षीय उम्मेदवार भइ राष्ट्रिय पञ्चायत सदस्य (सहायक जलश्रोत मन्त्री )
–२०४७ सालको आम निर्वाचनमा राप्रपा बाट चुनाब लड्दा पराजित
– २०५०–०५१ सालतिर पार्टी प्रवेश (नेपाली कांग्रेस )
– पार्टीको नवौ महाधिवेशनमा जिल्ला सभापति उठ्दा कृष्ण सिटौलासँग पराजित
– २०५६ मा झापा क्षेत्र न–५ बाट प्रतिनिधिसभा सदस्य
– शेरबहादुर देउवाले प्रजातान्त्रिक काँग्र्रेस स्थापना गरेपछी प्रजातान्त्रिक काँग्र्रेसको झापा जिल्ला सभापति ।
– प्रजातान्त्रिक काँग्र्रेसको केन्द्रीय सदस्यमा मनोनीत गरेपछी काशी चौधरीलाई जिल्ला सभापतिको जिम्मेवारी ।
– २०६४ सालमा झापा क्षेत्र नम्बर–४ बाट संविधानसभा सदस्यमा निर्वाचित
– २०७० सालमा झापा क्षेत्र नम्बर–४ बाट सविधानसभा सदस्य निर्वाचित
– सोही कार्यकालमा सामान्य प्रशासन मन्त्री
– १३ औ र १४ औ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य
कडा मिजासका बुढाथोकी बोलेपछि गर्छन् भन्ने विश्वास धेरैको थियो । स्पष्ट बोल्ने नेताका रुपमा चिनिएका बुढाथोकी कांग्रेसमा मात्र नभएर अन्य दलमा आस्था राख्ने कार्यकर्ताले पनि विश्वासिला र काम गर्ने नेताका रुपमा चर्चा गरेको सुनिन्थ्यो ।
कांग्रेस नेता बुढाथोकीको निधन



















