बिर्तामोड ९ माघ । यही माघ ११ गते सातवटै प्रदेशसभामा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । रिक्त भएका २० पदमध्ये १९ राष्ट्रियसभा सांसद पदमा निर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीको २, जसपाको १, स्वतन्त्र १, मनोनित (एमाले) १ सांसदको पद रिक्त भएपछि १९ पदमा निर्वाचन हुनेछ भने मन्त्रीपरिषदको निर्णयबाट सिफारिस भएका एकजना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
२० जना सांसदको पद आगामी फागुन २० गते सकिनेछ भने माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका सांसदहरुको कार्यकाल सोही मितिदेखि लागु हुनेछ । २० मध्ये यसअघि एमाले नेतृत्वको सरकारले मनोनित गरेका विमला राई पौडेलसहित एमालेका ११ जना छन् । कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना छन् । पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुनेछ ।
त्यसैले आगामी निर्वाचनमा गठबन्धनका १०, एमालेका ८ र स्वतन्त्र सांसद एकजनाको स्थानपूर्तिका लागि प्रतिस्पर्धा हुनेछ । राष्ट्रपतिबाट मनोनित पौड्यालको ठाउँमा भने सरकारले आफ्नो अनुकूलतामा सिफारिस गर्नेछ ।
हाल राष्ट्रियसभामा एमालेका १७, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपाका एक, राजमोका एक र स्वतन्त्र १ जना सांसद छन् । यसपटक अधिकांश प्रदेशमा गठबन्धन सरकारमा रहेका दलहरुको मतभार बढी देखिएको छ । सोही अनुरुप परिणाम आएमा निर्वाचनपछि राष्ट्रिय सभाको शक्ति सन्तुलनमा परिवर्तन आउनेछ । निर्वाचन आयोगले प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार परिवर्तन गर्दै सांसदको ५३ र पालिकाका प्रमुख–उपप्रमुखको १९ कायम गरेको छ ।
कोशी प्रदेश
कोशी प्रदेशबाट दुईजनाको पद रिक्त भएको हो । माओवादी केन्द्रकी विना पोखरेल र कांग्रेसका रमेशजंग रायमाझीको स्थान खाली भएको हो । पोखरेल महिला र रायमाझी अन्य समूहबाट निर्वाचित भएका थिए । अहिले अन्य समूहतर्फ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाको उम्मेद्वारी छ भने एमालेका तर्फबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्वव पौडेलको उम्मेद्वारी छ । यसैगरी महिलातर्फ गठबन्धनबाट माओवादीका चम्पादेवी कार्कीको उम्मेद्वारी छ भने एमालेबाट रुक्मिणी कोइरालाको उम्मेद्वारी रहेको छ । कोशी प्रदेशमा प्रदेश सभा सदस्यको संख्या ९३ छ भने स्थानीय तहको संख्या १३७ छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २७४ हुनेछ । यसरी कोशी प्रदेशको कुन मतदाता ३६७ र कुल मतभार १०, १३५ छ ।
त्यसमध्ये स्थानीय तहतर्फ कांग्रेसका ११५ (मतभार–२१८५), एमाले ११० (मतभार–२०९०), माओवादी केन्द्र ३१ (मतभार–५८९), नेकपा एस ४ (मतभार–७६), राप्रपा ४ (मतभार–७६), स्वतन्त्र ३ (मतभार–५७) गरी स्थानीयतर्फको कुल मतभार ५ हजार २ सय ६ रहेको छ ।
यसैगरी प्रदेशसभा सांसदतर्फ कांग्रेसका २९ (मतभार–१५३७), एमाले ४० (मतभार–२१२०), माओवादी केन्द्रका १३ (मतभार–६८९), नेकपा एसका ४ (२१२), जसपा नेपालका १ (५३) राप्रपाका ६ (मतभार–३१८) गरी प्रदेशसभा सदस्यको जम्मा मतभार ४९२९ रहेको छ । स्थानीय तह एवं प्रदेशसभा सदस्य गरी कांग्रेसका १४४ (मतभार–३७२२), एमालेका १५० (मतभार–४२१०), माओवादी केन्द्रका ४४ (मतभार – १२७८), नेकपा एसका ११ (मतभार–३४५), जसपाका ५ (मतभार–१२९), राप्रपाका १० (मतभार–३९४), स्वतन्त्र ३ (मतभार–५७) गरी १० हजार एकसय ३५ कुल मतभार छ ।
सत्ता गठबन्धनमा रहेका र राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन गरेरै उम्मेद्वारी दिएका गठबन्धन दलको पक्षमा कोशीमा ५ हजार ४ सय ७४ मत देखिन्छ भने एमालेसँग ४ हजार २ सय १० मतभार देखिन्छ । राप्रपा र स्वतन्त्रले कसलाई सघाउने ? भन्ने सुनिश्चित नभइसकेको र राप्रपाले आफ्नै उम्मेद्वार समेत उठाएको अवस्थामा मतक्रस नभए गठबन्धनका उम्मेद्वार विजयी हुने देखिन्छ ।
कोशी प्रदेशमा गठबन्धन दल एमालेभन्दा १ हजार २ सय ६४ मतान्तरका साथ अघि छ भने एमाले र राप्रपा र स्वतन्त्रले सघाएको अवस्थामा पनि गठबन्धन दल ८ सय १३ मतान्तरले अगाडि देखिन्छ । यसैबीच निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि शुरु भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन: कोशीमा गठबन्धनको मतभार बढी, एमाले र राप्रपाबीच सहमती



















