बिर्तामोड २ पुस । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाचारमा आएजस्तो कुनै पनि समस्या नभएको बताएका छन् । पश्चिमको झुलाघाटबाट शुरु गरेको एमालेको संकल्प यात्राका क्रममा कोशी प्रदेशमा पहिचानवादीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मुक्का हानेको भन्ने भिडियोसहित सार्वजनिक भएको थियो भने ठाउँ ठाउँमा अवरोध सिर्जना गरेको सार्वजनिक भएको थियो । त्यही विषयमा राखिएको जिज्ञासामा बरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चारमा आए जस्तो ब्यवहार आफूले नपाएको बताएका हुन् । यात्राका क्रममा आफू अध्यक्षसंगसंगै भएको बताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले छिटफुट भएको भन्ने कुरापनि आफूले सञ्चारमाध्यमबाटै थाहा पाएको बताए ।
पहिचानवादीले संकल्प यात्रामा रहेका बेला एमाले अध्यक्षमाथि अवरोध गरेको भन्ने समाचार प्रकाशन प्रशारणभएको विषयलाई जोडेर राखिएको जिज्ञासामा बरिष्ठ उपाध्यक्ष पोखरेलले कुरामा विमती राख्न र विरोध जनाउन पाइने भएपनि त्यो संविधान संमत हुनुपर्ने बताए । बैतडीको झुलाघाटदेखि मंसीर १४ गते शुरुभएको संकल्प यात्रा आइतबार पाँचथरको च्युवाभञ्ज्याङमा समापन गरी काठमाडौं फर्कने क्रममा सोमबार प्रेस चौतारी झापाद्वारा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा बरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘विमती राख्न पाइन्छ, विरोध जनाउँन पाइन्छ, तर त्यो संविधान संमत हुनुपर्छ ।’ तर, त्यो भन्दा फरक ढंगले हिंसालाई प्रोत्साहन गर्ने र बलजफ्ती गर्ने हिसाबले कुरा गर्छ भने त्यो स्वीकार्य हुन सक्दैन ।’ यद्यपी एमाले प्रतिहिंसामा नजाने स्पष्ट पार्दै पोखरेले आफूहरुले शान्तिपूर्ण ढंगबाट जनतामा जाने र आफ्ना कुरा राख्ने बताए । सोही विषयमा बोल्दै पोखरेलले विरोध गरेर भन्दा वार्ताबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिंदै एमाले वार्ता र छलफलमा बस्न तयार रहेको बताए ।
प्रक्रियाबाट टुङ्गो लागेको कुरामा असहमति राख्न पाइने भएपनि संविधान विपरित गतिविधि गरेर नहुने बताए । प्रदेशको नामाकरण सम्बन्धमा आफूहरुको मधेश प्रदेशप्रति असहमति भएपनि प्रक्रियाबाट आएको कुरालाई स्वीकार गरेको उदाहरण पेश गर्दै पोखरेलले भने, ‘विधी संमत गरिएको काममा सामाजिक सद्भाव खल्बल्याउने काम कसैले पनि गर्नु हुँदैन ।’
संकल्प यात्रा कसैको विरोधमा नभइ आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश निर्माणका लागि भएको पोखरेलले बताए । यात्राले आफूहरुलाई उत्साहित बनाएको प्रतिक्रिया दिंर्दै पोखरेलले जनताको उपस्थिति सोचे भन्दा राम्रो पाएको र त्यसले पार्टीलाई उत्साहित समेत बनाएको बताए ।
राष्ट्रिय आर्थिक विकास समृद्धिलाई जोड दिने, राष्ट्रिय एकताको भावना अभिबृद्धि गर्ने, सामाजिक सद्भावलाई अभिबृद्धि गर्ने, सामाजिक एकतालाई कायम राख्ने उदेश्यका साथ संकल्प यात्रा शुरु गरिएको नेता पोखरेलले बताएका छन् ।
यात्राका क्रममा एमाले सरकारको पालामा घोषणा गरिएको विकास कार्यहरु भद्रगोल अवस्थामा रहेको पाइएको बताएका पोखरेलले गठबन्धनको सरकारले जनतालाई सेवा प्रवाहमा समस्या पैदा गरेको, जनताको राय सुझाव लिने कार्य भएको, जनताले सेवा नपाइरहेको, विकास योजना ठप्प भएको लगायतका बिषयमा जनतासँग जानकारी लिने र बुझाउने काम भएको बताए । संकल्प यात्राले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै केही दिनमै काठमाडौंमा यात्रामा देखिएका समस्या र समाधानका बिषय सार्वजनिक गरिने जानकारी दिए ।
सो अवसरमा एमाले पोलिट ब्यूरो सदस्य बिशाल भट्टराई, पार्टी झापा अध्यक्ष दीपक कार्की, संघीय सांसद हर्कमाया बिक, कोशी प्रदेश सांसद कमला थापा मगर, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
जनताको सहभागिताले उत्साह बढ्यो– बरिष्ठ उपाध्यक्ष पोखरेल

































































































