बिर्तामोड २ पुस । महिला उद्यमी संघ नेपाल झापाको आठौं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शुष्मा पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नंं ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष पौडेलले संस्थाले बार्षिक रुपमा गरेका गतिविधि समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संघले महिलाहरुलाइ उद्यमी तथा व्यवसायी बनाउने उद्देश्यले अचार बनाउने, कौशी खेती लगायतका विभिन्न तालिम सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विशिष्ठ अतिथि महिला उद्यमी महासंघ कोशी प्रदेश संयोजक कृतिका श्रेष्ठ, पूर्व अध्यक्ष गोमा भट्टराई, महिला उद्यमी तथा नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, उद्योग वाणिज्य संघ बिर्तामोडकी सहकोषाध्यक्ष राधिका चुडाल, नारी संकल्पका उपाध्यक्ष तिलरूपा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा महिला उद्यमी संघले महिलालाई सीपमुलक काममा पनि दक्ष बनाउने उद्देश्यले सञ्चालन गरेको एक महिने सिलाई कटाई तालिमको प्रमाणपत्र समेत सोमबार नै वितरण गरिएको थियो । संस्थाकी निवर्तमान अध्यक्ष नैनकला भट्टराईले प्रमाणपत्र वाचन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष सर्मिला अधिकारीले गरेकी थिइन भने सञ्चालन महासचिव यमुना तिवारी चिमरियाले गरेकी थिइन् ।

































































































