बिर्तामोड ५ पुस । कोशी प्रदेशमा दलित, आदिवासी, जनजाति लक्षित गैरसरकारी संस्थाहरुको क्षमता अभिबृद्धिका लागि दुईदिने तालिम झापाको बिर्तामोडमा शुरु भएको छ ।
लिडरसिप एकेडेमी नेपाल (लान) को आयोजना तथा कोशी प्रदेशमा लक्षित समुदायमा काम गर्ने गैरसरकारी संस्था तथा जिल्लास्थित गैरसरहकारी संस्था महासंघका नेतृत्वलाई लक्षित गरी आयोजना गरिएको तालिमको संघीय सांसद हर्कमाया विकले उद्घाटन गरिन् ।

लानका अध्यक्ष प्रभाकर प्रधानको अध्यक्ष तथा सांसद विकको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रमको उद्घाटद गर्दै प्रमुख अतिथि विकले सरकारले ठूलो लगानी गरेपनि परिणाम नदेखिंदा समस्या भएको बताइन् ।
पहुँचको आधारमा संस्थाहरुलाई नजिक पार्ने पालिका र प्रदेशमा देखिएको गलत प्रबृत्तिले गैरसरकारी संस्थालाई राज्यले हेर्ने दृष्टिकोण पनि फरक बनेको बताउँदै खर्च भइरहने तर जुन कामका लागि लगानी गरेको हो त्यसमा कुनै पनि परिवर्तन नदेखिनु दुःखद भएको भन्दै परिणाममुखी काम गर्न आग्रह गरिन् ।
गैरसरकारी संघसंस्थाका कामको पनि अब अडिट गर्नुपर्नेमा जोड दिंदै सांसद विकले संविधान अनुुसार संघ–संस्थाले पनि समावेशी सहभागितालाई कार्यान्वयनमा ल्याउनु सुझाइन् ।
सो अवसरमा गैरसरकारी महासंघ कोशीका इन्जार्च छविलाल खतिवडाले गैरसरकारी संस्थालाई हेर्ने सरकारको गलत दृष्टिकोणका कारण परिवर्तनका लागि नेतृत्व गरेका संघसंस्थाहरु आत्मरक्षाको अवस्थामा पुगेको गुनासो गरे । व्यवस्था परिवर्तनसंगै जननिर्वाचित सत्तामा पुगेका शासकहरु गैरसरकारी संस्थाहरुप्रति निरंकुश बनेको आरोप लगाए । सरकारकै कारण कोशीमा गैरसरकारी संस्थाहरु अनिकालको बिऊ भने झैंको अवस्थामा पुगेको खतिवडाको भनाई थियो ।
कार्यक्रमका स्थानीय संयोजक भीमा शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा लेनका कार्यक्रम अधिकृत सविना बोडेले कार्यक्रमको ओैचित्य र तालिममा सहजीकरणका विषयवस्तुमाथि प्रकाश पारेकी थिइन् ।
दुईदिन सम्म सञ्चालन हुने तालिममा प्रस्ताव लेखन, कार्यक्रम योजना र कार्यान्वयन, वित्तीय व्यवस्थापन र बजेट, नेतृत्व विकास र वकालत लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइने बताइएको छ । तालिममा बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिना, सोमराज ढकाल र राजन न्यौपानेले सहजीकरण गर्ने बताइएको छ ।

































































































