गाउँगाउँमा सिंहदरबार आउने हो भने गाउँघरमा किन प्रज्ञा प्रतिष्ठान नआउने ? किन त्रिभुवन विश्वविद्यालय नआउने ? किन वीर अस्पताल नआउने ? किन रेडियो नेपाल नआउने ? किन नेपाल टेलिभिजन नआउने ? अनि सर्वोच्च अदालत किन नआउने आदि इत्यादि नारा उरालेर गरिएको अर्मले गाउँको आन्दोलन निकै लामो सङ्घर्षपछि सफल भएको छ । परिणामस्वरूप यस गाउँमा पनि केही प्रतिष्ठानहरु, केही अस्पतालहरु, केही विश्वविद्यालय केही अदालतहरु खोल्ने कुरा चलिरहेकोमा गोलमेच सम्मेलन गरेपछि सबै भन्दा पहिले प्रज्ञाप्रतिष्ठान नै खोल्ने सबैको सहमति भयो । अदालत खोल्ने हो भने फेरि प्रधानन्यायाधीसको लफडा चल्ला । विश्वविद्यालय खोल्ने हो भने पाडाहरु चाहिने भए । भएका पनि अलेलि पाडाहरु पनि राँगा भइसके अनि यो विश्वविद्यालय अहिले नखोलौँ भन्नेमा पनि सहमति भो । यस्तै अरु अरु कुरा खोल्दा आफ्ना आफ्नै ठाउँका लफडाहरु देखिने भए । यसैले सबै भन्दा पहिले र सबै भन्दा सजिलो प्रज्ञाप्रतिष्ठान नै खोल्ने विचारमा सहमति भो । प्रज्ञाप्रतिष्ठानका लागि ता म्यानपावरको कमी भएन । गाउँभरि सबै प्राज्ञ छँदैछन् । यसमा पनि कुलपति उपकुलपति सदस्य सचिब ता चाहिन्छ नै । यो गठन पनि कहाँ सजिलो छ र ? तैपनि कटुवालले बुद्धि पुर्याएकोले यसमा खासै समस्या भएन । चलेको रीत अनुसार कुलपतिको पदका लागि भित्रभित्रै कसैले थाहा नपाइकन विधि पु¥याएर कटुवाल कान्छो स्वयं गाउँको प्रज्ञा प्रतिष्ठानको कुलपतिमा छानिएको छ । सम्झन्छ धन्न हो गणतन्त्र र यसको प्रताप !
हुन त प्रज्ञाप्रतिष्ठान पनि हेर्नका छन् । कुनै कलाकारका, कुनै साहित्यकारका, कुनै सङ्गीतकारका, कुनै यति लामो कपाल पालेका झ्याम्लेहरुका, अनि अरु के के जातिका । अनि हामी चैँ कुन खालको खोल्ने हो त भनेर निकै लामो बहस भएकै पनि हो तर अन्तमा कटुवालको बुद्धिले काम ग¥यो र अहिले आन्दोलन मथ्थर भएको छ, कुरा मिलेको छ ।
गणतन्त्र आएपछि देशका गाउँगाउँमा सिंहदरबार आएको सबैलाई थाहा भएकै हो । नागरिकता किन्न कुनै बेला सिंहदरबार पुग्नु पथ्र्याे । अलिक पछि सिडियो कार्यालयबाटै किनबेच हुन थाल्यो । अब त गाउँगाउँबाटै सुपथ मूल्यमा पाइन्छ अनि सिंहदरबार गाउँमा नआएको हो र ? अझ कतिले त पारि इन्डियातिरै लगेर भाउ शान्तिमा नागरिकता बेच्छन् पनि । अनि सिंहदरबार नआएको कसले भन्छ ? नेपालमा मात्र कहाँ हो र सिंहदरबार ता पारि इन्डियामा पनि पुगिसकेको छ । खासमा अहिले नेपालका गाउँकै सिंहदरबारको कुरा गरौँ ।
मन्त्रीको दर्शन गर्न मन लागेमा उतै सिंहदरबार मै जानु पथ्र्याे धाइफल तोडेर कुनै बेला । अब त्यो झमेलो पनि गाउँमा रहेन । गाउँघरमा मन्त्री बग्रेल्ती छन् । काठमाडाँैमा ता धरहराका टुप्पामा चढेर एक मुठी गुच्चा तल हिँडिरहेका मान्छेका गोलामा हान्नु हो भने पाँच दस जति ता मन्त्रीलाई नै लाग्न सक्छ भनेको पनि सुनिन्छ । तर गाउँ घरमा त्यति बिधि बाक्लै मन्त्री चैँ छैनन् है । यसमा गणतन्त्रको पं्रताप अलिक धिमा नै छ, खैर । नभाको कुरा भन्ने पनि हैन । हो अस्पताल भने छन् । तरकारी बेच्ने बेपारीले पनि ओखती बेच्यो भने डाक्टर कहिन्छ र त्यो तर्कारी पसलसमेत तत्कालै अस्पताल भनिन्छ । यसैले अस्पताल निकै छन् गाउँघरमा ।
अस्पतालका लागि वीर अस्पतालकै भर परिन्थ्यो कुनै बेला अब सटर सटरमा र कोठाकोठामा अस्पताल खुलेका छन् । अवैध गर्भ रह्यो भने ज्यानै जाने खतरा थियो कुनै बेला । खोलुवा डाक्टरलाई अलिकति पैसाले नपुग्ने ! अब जतासुकै गर्भ तुहाउने अस्पताल खुलेका छन् । यसै गरी पुत्लेपाङ्ग्रे रेडियोहरू र धार्मिक अड्डाहरु पनि घरघरमा खुलेका छन् । रातबिरात झ्याम्ले गीत बजाएर खपिसक्नु हुन्न । यसबाट जाग्राम भने भएकै छ । सुत्न पाइन्न । झ्याम्ले गीत सुन्यो जागृत बस्यो । धर्म कमायो । वस ।
अब यी कुरा छाडौँ र प्रज्ञाप्रतिष्ठानकै कुरातिर लागौँ ।
उहिले जे पनि पञ्चायतका प्रतापले हुने गथ्र्योे, अब गणतन्त्रका प्रतापले हुने गरेको छ । हरेक गाउँमा प्रज्ञाप्रतिष्ठान पनि आइपुगेका छन् त्यो पनि गणतन्त्रको प्रतापले नै हो । प्रज्ञाप्रतिष्ठानको छेलोखेलो छ । छिचिमिरा कम होलान् प्रज्ञाप्रतिष्ठान बग्रेल्ती छन् । प्रज्ञाप्रतिष्ठान पनि एक थोकका मात्र कहाँ हो र भन्या । साहित्यकारका छन् । अनि कलाकारका छन् । संस्कृतिकर्मीका छन् । गीतकारका र गजलकारका छन् । ठेटर, मारुनी, नाच, च्याब्रुङ नाच, घ्याम्पे नाच, झ्याम्ले नाच, सबका छन् । विकास भनेको यो हो । सबैले आफ्ना आफ्ना कुराहरुको गाउँठाउमै अनुभूत गर्न पाउनु नै विकास हो । यो सब गणतन्त्रको प्रताप हो । सबैले देशको एकएक कित्ता लिएका छन् त । प्रतिष्ठानैको कुरा ता कति ठुलो भो र ?
गोलेनी कान्छीले, डबलीकी साइँलीले, आम्बोटेकी रेसमाले कोदाको दुरुङ पानी बनाएर पैकार गरेर बेचेको कति भइसकेको थियो । बडो मुस्किल थियो उनीहरुलाई । पुलिसलाई र जङ्गलीलाई बुझाएर बाँचेको रकमले घर धान्दथे । तर अब बल्ल कोदाको तिनपाने दुरुङले लेबलिङ हुने अवसर पाएको छ । अब गाउँमा सिंहदरबार नआएको भनेर कसले भन्छ ? गणतन्त्रका प्रतापले नभएर यो अरू कसका प्रतापले हो ? लु भनम त । अब तीनपाने प्रतिष्ठान चाहियो । गतिलो जँड्याहा यताको उपकुलपति हुनपर्छ । राजकिशोरहरूले लुकीलुकी गाँजा बेच्दाको हैरानी थियो । अब गाँजा पनि खुला खेती गर्ने कुरामा माग बढेको छ । उपल्लो सिंहदरबारबाटै माग आएको छ । गँजडी प्रज्ञाप्रतिष्ठान अब तुरुन्त चाहियो । यसबारे नामी गँजडीले कुलपतिका लागि राम्रो गरी धोती कसिराखे हुन्छ । यीबाहेक त्यस्ता नयाँ वस्तुका सेवीहरुले अरूअरू यहाँ नपरेकाहरुका पनि प्रतिष्ठान खोल्लान् । यो गणतन्त्रको सानो प्रताप हो त !
कोदाको दुरुङपानी र जाँड नेपालमा पुरानो अवस्थादेखि नै सेवन गर्ने परम्परा थियो भन्ने कुरामा बल्ल गाउँ गाउँमा आइपुगेका सिंहदरबारले अनुभव गराएको छ । यो जस्तै धामी झाँक्री वैदाङ्गी र धन्वन्तरी विद्या पनि नेपालको इतिहासदेखि नै प्रयोगमा आएको एक नामी विद्या हो भन्ने कुरा बल्ल देशले बुझेको छ । गणतन्त्र नआएको थियो भने दुरुङपानी पुरानै पारामा लुकेर बेच्दाका दास्ती हुने । धन्न छ गणतन्त्र । यसैले यस्तो महत्वको गणतन्त्रले देशमा कहिल्यै नभएको विकास हुन थालेको छ । अरूअरू धेरै कुराको बिङ्गो यहाँ म कसरी लाउन सक्छु र । यहाँ खाली झाँक्री प्रज्ञाप्रतिष्ठानको कुरा अलिकति गर्छु र बिदा हुन्छु है ।
अँ त अर्मले गाउँका कटुवाल कुलबादुर गाउँभरि कान्छो धामी भनेर कहलिएको धामी हुन् । यो गाउँको साहित्यतिरका कुलपति उपकुलपति, नाचगानतिरका कुलपति उपकुलपति, कला र रङ्गकर्मतिरका कुलपति उपकुलपतिहरु नियुक्त होलान् अब गणतन्त्रका प्रतापले । अरु जे होला होला । यहाँ ता कटुवाल कान्छो कुलपति भएको कुरा मात्र छ ।
कटुवाल कान्छोको अलिक माथिका मुन्तिरीसँग चिनाजानी भएकोले धामी झाँक्री प्रज्ञाप्रतिष्ठानका कुलपतिमा माथिबाट सोझै नियुक्त गरिदिएकोले गाउँमा उनको स्वागतको कार्यक्रम छ । उसलाई उपकुलपतिको मनोनयन गर्नु छ, प्रतिष्ठानका सदस्यहरु प्राज्ञहरु छान्नु छ । आफैँ धामी र आफैँ बैदाङ्गी विद्या जाने बुझेका महत्वपूर्ण मन्त्री परेको हुनाले यस विद्याको सुरक्षा, उपयोगिता र यसबारे अनुसन्धान गर्नु पर्ने कुरा गाउँ सरकारको मन्त्रालयबाट ठहर भएकाले गाउँका धामीहरु निकै खुसी छन् । काम्न, अक्षता छर्न र जोखाना हेर्न अभ्यास गरिरहेका छन् । कटहरे कान्छो ता यो कुरा सुनेर हे….. राजै भन्दै देउता चढेर उतिबेलै निकै काम्यो पनि । वास्तवमा देशका लागि यो मेलोको विद्या प्राचीन कालदेखिकै हो र अहिले पनि निकै जरुरी हो भन्ने बोध गरेको हुनाले यस विषयको शोधखोज र उन्नति गर्ने हेतुले अर्मले गाउँका धामीहरूले धामी झाँक्री प्रतिष्ठान खडा गरेको थियो गणतन्त्रका प्रतापबाट ।
त्यही प्रतिष्ठानमा भर्खरका नयाँ सर्खारले अर्मले गाउँका कटुवाल कान्छा धामीलाई टपक्क टिपेर प्रतिष्ठानको कुलपति बनाइदिएको थियो । अहिले अर्मले गाउँमा प्रतिष्ठानका तिनै कुलपतिको आगमन हुन लागेको थियो । आफ्नै गाउँका मान्छे कुलपति भएकोले धेरैलाई हर्क छ । यसैले गाई फुकाउन छाडेर गोठालाहरू, मेलो बिचैमा छाडेर खेतालाहरू, अनि भुराभुरी रुवाउँदै काखमा बोकेका गृहिणी महिलाहरू, आदि इत्यादिहरु रमितेका रूपमा थिए । कोही फूलका गुच्छा त कोही खादा हातमा लिएर स्वागतका लागि तयार थिए ।
कुलपति आए सबैले ताली बजाए । टीका लगाइदिए । माला लगाइदिए । खादा ओढाइदिए । फूलका गुच्छा दिए । कुलपतिको मानमनितो धुमधामसँग भो । धूपधुवार गरे । फलाके । स्वागत भो सम्मान भो । भाषण गरे । उर्दी गरिएको हुनाले सबैले ताली बजाए परररररर । बच्चाबच्चीले पनि बजाए । भाषणमा बुझ्नचाहिँ कसले के बुझ्यो त्यो थाहा भएन । कार्जेकर्मको मेलो सकियो । निर्विघ्नतापूर्वक कार्जे सकिएकोले कान्छाका आसेपासे बाहेकका सबै आफ्ना आफ्नोतिर लागे । कान्छा धामीले प्रतिष्ठानलाई पूर्णता दिनु थियो त्यसैले उनका नजिककाहरुलाई सभा सकिए पनि सभाबाट घर नजाने उर्दी गरेको थियो । अलिकति दुरुङ पानीका साथै लोकल साँप्राको बन्दोवस्तका साथ कुलपतिका भरियाहरू साँझसाँझ पर्दा नपर्दै पिपले डाँडाको पिपलको रुखका फेदमा बसे ।
“तँ फलाक्न जान्दछस् ?” श्रीमान् कुलपतिले आफ्ना फुपूका छोरा कान्छालाई सोधे ।
“ए गजबीरे ? तँ सेग्र्यायाम गर्न आउँछ ?” गजबिरेलाई सोधे ।
“ए याङ्दुवा तँलाई अछेता छर्न आउँछ ?” याङ्दुवालाई सोधे ।
“ए खैमले तँलाई पानी मन्तर्न आउँछ ?” खैनी माड्दै गरेका खैमलेलाई सोधे ।
यी सबैले जान्दिनँ भन्ने ता कुरै थिएन । सबैले जान्दछौँ भने ।
उसो भए तिमीहरु सबै यस प्रतिष्ठानका प्राज्ञ भयौ । ती सबैको नाममा लालमोहर लाउनु भो कुलपतिले ।
यी घर बाहिरकाहरुलाई उनले बडो गणतान्त्रिक विधिबाट प्रतिष्ठानका सदस्य छान्ने काम गरे । घरभित्रका नातागोताका इष्टमित्रहरु भान्जाभान्जीहरु कुलकुटुम्बहरुबाट पनि प्रतिष्ठानका सदस्यहरु छाने र त्यो साँझको दुरुङसभामा सुनाए । दुरुङले तातो तातो भएकाहरुले ताली बजाए । अलिक कम दारु लाएका खन्तरेले चाहिँ “यसो पातिकसातिक पनि गर्न पाएको भए हुने !” भने ।
मनोनयन त अझ छ नि । त्यो बेलामा यो पातिकसातिक पनि मिलाउँछु । लिङ्गको कुरा पनि मिलाउँछु । सिमान्तिकिर्तनको कुरा पनि मिलाउँछु । तिमेरु धेर नकराओ न । म सब मिलाउँछु ।” जिब्रो बटार्दै कुलपतिले भने । यसो भन्दाभन्दै उनले अस्ति जवानीको बेलामा रसबस गरेकी कान्छी ओडार्नीलाई झलक्क सम्झिए । प्राज्ञमा त्यसलाई नराखी हुन्न भन्ने सोचे । महिला प्रतिनिधि भन्ने पनि हुन्छ स्वकीय सचिव बनाउँछु । आफ्नो पुरानो मायापिर्ति पनि बिउँझन्छ सोचाइ अझ गहिरियो ।
यस्तै के–के जाति गर्दैवर्दै साँझको दुरुङ्पार्टी निकै बेला बितेपछि सकियो । सबै सम्भावित प्राज्ञहरु आफ्ना आफ्ना घरतिर खुट्टा मर्काउँदै लागे ।
कतिबेला कुलबादुर घर पुगे भनेको त उही ओडार्नी कान्छीको घरतिर पो पुगेछन् । धन्न आफ्नै पुरानी मान्छे थिन् र मात्रै नत्र अरू कुनै भएको भए उपकुलपतिको इज्जतै जाने बा……… ।
भद्रपुर, झापा
फोनः ९८४२६२६१९०
गणतन्त्रको प्रतापः सिंहदरबार र प्रतिष्ठानहरू
