बिर्तामोड २६ असोज । बिर्तामोड नगरपालिकाले आज पेट्रोल पम्पहरुको अनुगमन गरेको छ । नगर उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाको नेतृत्वमा बजार क्षेत्रमा रहेका पम्पहरुको अनुगमन भएको हो ।
अनुगमनका क्रममा अधिकांस पम्पहरुमा रहेका सार्वजनिक शौचालयहरु फोहोर रहेको पाइएको छ । सफा नगरिएको, पानीको व्यवस्थापन नभएको, पानी जमेको लगायतका समस्या रहेको पाइएको हो ।
नगरमा व्यवसाय नविकरण नगरेको, मूल्यसूची सबैले देख्ने ठाउँमा नराखेको, मूल्य सूची परिवर्तन नगरेको, नागरिकले देख्नेगरि सार्वजनिक शौचालय लेखेको स्पष्ट बोर्ड नराखेको, अग्नी नियन्त्रक सामाग्रीको म्याद गुज्रिएको लगायतका समस्या पम्पहरुमा फेला परेको नगर उप प्रमुख संग्रौलाले बताए। समस्या देखिएका पम्पहरुलाई ३ दिन भित्र आवश्यक कागजपत्र सहित नगरपालिकामा हाजिर हुन निर्देशन दिएको उप प्रमुख संग्रौलाले जानकारी दिए ।
अनुगमन टोलीले देखिएका समस्या समाधानका लागि सबै पम्प सन्चालकहरुलाई सुझाब दिइएको छ । बसपार्क देखि चारपानेसम्म रहेका पेट्रोल पम्पहरुको अनुगमन गरिएको हो ।
अनुगमनमा उप प्रमुख संग्रौला, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशोर पौडेल, राहुल शर्मा, रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, नगरपालिकाका राजश्व शाखा प्रमुख पदम घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतम, वडा सदस्य चेतन बिमली, कर्मचारीहरु शम्भु साह, दिपेश गणेश लगायत प्रहरी,सञ्चारकर्मीको सहभागिता थियो ।
बिर्तामोडका पेट्रोलपम्पहरुको अनुगमन



















