बिर्तामोड २५ असोज । ऐतिहासिक सम्पदाको संरक्षण गर्ने तथा सामाजिक सद्भाव र एकतामा जोड दिंदै बिर्तामोड ४ स्थित सिंहबाहिनी देवी पिपलबोटमा आयोजना हुन लागेको श्रीमद् देवी भागवत महापुराणको तयारी अन्तिम चरणमा पुगेको छ ।
दैविक शक्ति रहेको विश्वास गरिएको देवीथान र जनश्रुतीको आधारमा झण्डै दुुईसय वर्ष पुरानो मानिएको पिपलको बोटको संरक्षण, संवद्र्धन गर्ने उद्देश्यले नवरात्रको अवसर पारेर यही असोज २८ गतेदेखि शुरु हुने पुराणको तयारी बारे आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
पुराणको मुख्य उद्देश्य ऐतिहासिक सम्पदाको संरक्षण साथै सामाजिक सद्भाव र एकता कायम राख्ने तथा पुराणबाट प्राप्त आम्दानीले सो क्षेत्रको संरक्षणका लागि कोषको व्यस्थापन गर्ने सिंहबाहिनी देवी पिपलबोट श्रीमद् देवी भागवत देवीमहापुराण आयोजक समितिकी अध्यक्ष हेमकला कट्टेलले बताइन् ।
पुराणबाट लगभग २५ लाख आम्दानी हुने लक्ष्य राखेको आयोजकले पहिलो पटक आयोजना गरिएको पुराणबाट विशेष गरी ठाउँको प्रचारलाई प्राथमिकतामा राखेको बताइएको छ । पत्रकार सम्मेलनमा ऐतिहासिक सम्पदा (पिपल बृक्ष) र देवीथानका शक्तिको विश्वासबारे हरि तिम्सिनाले बताएका थिए ।
असोज २८ गतेदेखि शुरु भएर कात्तिक ६ गते समापन हुने पुराणको प्रमुख वाचकमा आचार्य पण्डित छन्दुराम भण्डारी र उपवाचकमा पण्डित जयभद्र सुवेदी रहेका छन् । नवरात्रको घटस्थापनाबाट शुरु हुने पुराण सञ्चालनस्थलमा सामुहिक जमरा राख्ने कार्यक्रम समेत रहेको बताइएको छ ।
पुराण आयोजक मूल समितिकी महासचिव उमा शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा पूराण शुरु हुनुपूर्व देवीथानबाट निस्किएको कलशयात्राले बिर्ताबजार हुँदै बिर्तामोडस्थित अंधुवा खोला पश्चिमबाट उत्तर हुँदै शश्चिरेरोडबाट दुर्गा मन्दिर परिक्रममा पछि इलाका प्रहरी कार्यालयबाट पुनः देवीथान पुगेर विसर्जन हुने बताइएको छ । कलशयात्रामा आ–आफ्नै संस्कृति र भेषभुषामा सहभागी हुने बताइएको छ ।
सिंहबाहिनी देवी पिपलबोट बिर्तामोड ४ मा हुने पुराणको तयारी अन्तिम चरणमा

































































































