Homeसमाचार‘कांग्रेसको राजनीतिमा निराशा शब्द छैन

‘कांग्रेसको राजनीतिमा निराशा शब्द छैन

बिर्तामोड २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उहाँले यसको प्रचार–प्रसार गरेर कांग्रेसप्रति जनआकर्षण बढाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपालमा उडान भर्ने आकाशे मार्गको अनुमतिविना अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुभन्दा ७ वटा प्रादेशिक प्राविधिक शिक्षालय निर्माण, रोजगारमूलक शिक्षा, आयआर्जन बृद्धि गर्ने खालका विकासे योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो ।
वडा तहमा गएर जनताका समस्या बुझ्दै समाधानका लागि काम गर्न आह्वान गर्दै नेता सिटौलाले गरिव, किसान, मजदुरको पक्षमा काम गर्दै नमूना वडा तथा पालिका बनाउन पार्टीबाट वडा एवं पालिका तहमा निर्वाचित जनप्रतिनिधिलाई आह्वान गर्नुभयो ।
संविधान कार्यान्वयन गर्ने मूल कानून नै नआउँदा संविधानले दिएको अधिकारको सदुपयोग नभएको बताउँदै नेता सिटौलाले कानून नहुँदा संविधान नै निरर्थक देखिन थालेको टिप्पणी गर्नुभयो ।
संविधान मस्यौदा समितिका संयोजक समेत रहनुभएका सिटौलाले उदाहरण दिदै भन्नुभयो–‘संविधान बनेको तीन बर्षभित्र आउनुपर्ने शिक्षा ऐन अहिलेसम्म आएको छैन, पालिकापिच्छे फरक–फरक नियम छ, गुणस्तरीय शिक्षा दिने सवालमै समस्या छ ।’ कानून नबन्दा प्रदेश सरकारहरु विकासे एजेन्सीजस्तो भएको उहाँको भनाई थियो ।

No description available.


कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस समाजको अभिभावक पार्टी भएको बताउँदै कांग्रेसकै काँधमा बढी जिम्मेवारी भएको बताउनुभयो ।
हारको मानसिकताले निराश र जितको मानसिकताले बढी उत्साहित नभई संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै नेता शर्माले सामाजिक एकतालाइ कायम राख्ने गरी कांग्रेसले नीतिगत निर्णय गर्न जरुरी रहेको बताउनुभयो ।
‘मंसिर ४ मा कांग्रेस निर्वाचित ठूलो दल भयो । पुस १० मा गठबन्धन टुट्यो र सत्ताबाहिर भयो, फेरि राष्ट्रपति निर्वाचनमा गठबन्धन बनेर कांग्रेस सरकारमा गयो, यी तीनवटै हारको मानसिकता राख्ने उत्तेजित हुने विषय होइनन्’–शर्माले भन्नुभयो–‘गाउँमा बेण्ड बाजा बज्दा नाच्न खोज्नु ठिकै हो तर मै बेहुलो बन्छु भन्ने धारणा राख्नुहुँदैन।’ शर्माले सांकेतिक रुपमा नयाँ राजनीतिक दलले बेण्ड बाजा बजाए पनि परिवर्तनको आभाष दिन नसक्ने दावी गर्नुभयो । मृत्यु दण्डको सजाँय दिइने देशमा समेत पीडित परिवारको सहमति लिएर मात्रै कारवाही गर्ने व्यवस्था रहेको उदाहरण दिंदै नेता शर्माले अपराधीलाई छोड्नु अघि पीडित परिवारको राय लिने कानूनी व्यवस्था नेपालमा पनि जरुरी रहेको धारणा राख्नुभयो ।
राजनीतिक दलहरु समय अनुकुल परिस्कृत भएर आउने तर कहिल्यै बुढो नहुने बताउँदै नेता शर्माले कांग्रेसले सँधै समाजलाई केन्द्रमा राखेर निर्णय गरेको बताउनुभयो ।नेपाली कांग्रेसका कार्यकर्ताले अब अन्तरघात शब्द बिर्सिएर अन्तर विश्वासको मन्त्र जप्नुपर्नेमा जोड दिनुभएका नेता शर्माले परीक्षाको भन्दा पढाइको चिन्ता गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । २०८४ को निर्वाचन एउटा स्वभाविक प्रक्रिया हुने बताउँदै नेता शर्माले संगठन बनाउन एकढिक्का भएर लाग्न आह्वान गर्नुभयो । जिम्मेवारीका हिसावले जो जहाँ भएपनि संगठन निर्माणमा सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले गाउँ–टोल र वडामा कांग्रेसकाप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।
एक्लै सरकार गठन गर्ने बहुमत कांग्रेससँग नभएको स्पष्ट पार्दै महामन्त्री शर्माले वर्तमान सरकारले भ्रष्टाचारको फायल खोलेर राम्रो काम गरेको टिप्पणी गर्नुभयो । भ्रष्टाचार निर्वारण ऐन, मुलुकी अपराध संहिता लगायतका कानून कांग्रेस नेतृत्वकै सरकारले बनाएको दावी गर्दै नेता शर्माले भ्रष्टाचारमा सून्य सहनशिलता कांग्रेसको स्पष्ट नीति रहेको बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको महाधिवेशनबाट निर्वाचित नेतृत्व अहिले पुस्तान्तरण नहुने दावी गर्दै १५ औं महाधिवेशनमा पार्टीभित्र तीनै पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ सोच र नयाँ चेतना बोकेर पार्टीलाई सुदृढ गर्नुपर्नेमा जोड दिदै नेता आङदेम्बेले विचार नमिल्ने शक्तिहरुबीचको कार्यगत एकता गलत भएको टिप्पणी गर्नुभयो । वर्तमान संविधानको विशेषता समावेशी, धर्म निरपेक्षता, संघीयता भएको बताउँदै नेता आङदेम्बेले कसैलाई मन परेन भन्दैमा यी विशेषता निकाल्दा संविधानको अर्थ नै नहुने धारणा राख्नुभयो ।


नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु नैनसिंह महर, सुशिला ढकाल आचार्य, गोमा भट्टराई लगायतले बोल्नुभएको थियो । नेपाली कांग्रेस झापाले हालसम्म गरेका गतिविधि एवं भावी कार्ययोजना समेटिएको राजनीतिक सांगठनिक प्रतिवेदन पार्टीका उपसभापति केशवराज पाण्डेले प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘कांग्रेसको राजनीतिमा निराशा शब्द छैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img