बिर्तामोड १० असोज । विगत ३ दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिकाले गरिरहेका काम, विकास निर्माणको अवस्था, स्वास्थ्य, शिक्षाको अवस्था आगामी दिनमा गर्नुपर्ने काम लगायतका विषयमा जानकारी लिएका छन् ।
नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच निर्वाचित जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा नगरमा आगामी दिनमा थप गर्नुपर्ने योजना, चालु योजना र कार्यान्वयको अवस्था लगायतका विषयमा छलफल भएको हो ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतारा प्रसाईको अध्यक्षता तथा सभामुख घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले स्वागत साथै नगरले अहिलेसम्म गरेका कामकाबारेमा जानकारी दिंदै आगामी योजनाबारे अवगत गराएका थिए ।
कार्यक्रममा बोल्दै सभामुख घिमिरेले आफू बजेट बिनियोजनको कार्यकारी ठाउँमा नभएपनि विकास निर्माण र शुसासन कायम गर्न समन्वयकारी भूमिका खेल्ने ठाउँमा रहेको स्मरण गराउँदै आफू निर्वाचित क्षेत्रमा भएका विकास निर्माणसहित अन्य समसामयिक विषय, जनताको गुनासो र चाहना सुनेर आफूले सक्ने पहल गर्ने बताए ।

































































































