बिर्तामोड ३ असोज । व्यापारिक दृष्टिले देशभर चर्चा कमाएको भाटभाटेनी सुपर मार्केटको २६ शाखा बिर्तामोडमा सञ्चालनमा आउने भएको छ । लामो समयसम्मको कोभिड संक्रमणका कारण मुलुकमा आर्थिक संकट उत्पन्न हुँदा पनि हजारौंलाई रोजगार प्रदान गर्दै आएको ठूलो चेन सुपरस्टोरका रुपमा परिचित भाटभाटेनी सुपर मार्केटले भने आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिने क्रममा झापाको बिर्तामोडमा २६ औं स्टोरका रुपमा सञ्चालनमा ल्याउन लागेको हो ।
बिर्तामोडको भगवान चोकमा असोज ४ गते (भोली) देखि सञ्चालनमा आउने भएको हो । यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा लगभग दुईलाख ५० हजार स्क्वायर फुट सपिङ्ग स्पेस सहित निर्माण गरिएको बताइएको छ ।
दुईअर्ब भन्दा बढी लगानीमा तयार भएको स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यसअघि धरान, विराट्नगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।
स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरु पाइने उक्त स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा भारतका सीमावर्ती शहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको छ ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन् ।
आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निरासा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ ।
उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने क्षेत्रीय व्यवस्थापक बिनोद भट्टराईको भनाई छ ।
भाटभटेनी व्यवसाय सञ्चालनसंगै रोजगारी अभियान पनि रहेको हुँदा हालसम्म १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको जनाइएको छ । बिर्तामोडको स्टोरमा पनि यस क्षेत्रका झण्डै ३०० जनाले रोजगार प्राप्त गरेको अध्यक्ष गुरुङ बताउँछन् ।
उद्घाटनका वसरमा ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशत सम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका चिफ अपरेसन म्यानेजर पानु पौडेलले बताए । मार्केटको बिहीबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
भाटभाटेनीको २६ औं शाखा बिर्तामोडमा उद्घाटनको तयारी

































































































