Homeमहिलाभेटघाटमा परिणत हुँदै तीज

भेटघाटमा परिणत हुँदै तीज

आज भाद्र शुक्ल पक्ष द्वितीयाको दिन । अर्थात दर खाने दिन । लगभग ५–७ घण्टाको बाटो, पहाडको ठाउँ, दिदीहरुलाई तीजमा दरखान बोलाउने प्रचलन थियो । ४–५ दिन अगाडि नै चेलिबेटीलाई लिन माइतीहरु जाने चलन थियो । सानो छँदा लगभग १५–१६ बर्षमै विवाह गरिदिने प्रचलन थियो । कलिलै उमेरमा विवाह गर्ने त्यसबेलाको प्रचलन नै थियो । तीजमा माइत आएकी चेली । अधिकांशका घरमा दुईचार माउ दुहुना गाई–भैंसी हुन्थे । त्यसबेला दुध बेच्ने चलन थिएन । दुधबाट दही र दहीबाट मोही तथा घिऊ निकालिन्थ्यो । आर्थिक समस्या भए घिऊ नै बेच्ने चलन थियो । तर आमा हजुरआमाहरुले तीजलाई भनेर काठको भाँडा (हर्पे) मा घिउ साँचेर राख्नुभएको हुन्थ्यो । अनि सबैजना भेला भएर दर खाने दिन खिर, ढकने लगायतका परिकार पाक्थ्यो सबैका घरमा । हाम्रामा पनि प्राय खिर र ढकने नै पकाउने गरिन्थ्यो । विहान खाना खाएर दर खाने दिनको दिउसो, बेलुका र राति उठेर घिउमा बनाएको हविष्य भोजन खाइन्थ्यो ।
राति उठेर खाएको त्यो ढकनेको स्वाद अहिले पनि याद आउँछ । अनि भाद्र शुक्ल तृतीयाका दिन विहानै नजिकैको नदी, तलाऊ वा धारामा गएर स्नान गर्ने, अनि विवाह भएका महिलाले साडी चोलो तथा नभएकाले पनि रातो लुगा लगाएर निराहार बस्ने चलन थियो । त्यसबेला गाउँघरमा तीजको पूजा तीनबजेपछि मात्रै लगाउनु अरे भनेको सुन्थ्यौं हामी । हामी केटाकेटी नै भए पनि ब्रत चाहिं बस्नुपर्छ भन्नुहुन्थ्यो आमाले । ‘सकुँन्जेल बर्त लिनु, सकेउन भने बेलुका केटाकेटीले खाँदा हुन्छ ’ भन्नुहुन्थ्यो । तर विवाह गरेका महिलाले चाहिं निर्जल ब्रत बसेर साँझतिर पूजा लगाउने अनि भोलीपल्ट विहान घरको बलेंसीमा अगस्तीको पूजा गरेर खाना खाने चलन थियो ।यसरी निराहार ब्रत बसेर परिवारको समृद्धि एवं पतिको समृद्धिको कामना पूर्ण हुने जनविश्वास थियो भने तीजको कथामा पनि पार्वतीले मनपरेको पति प्राप्त गर्न निर्जला ब्रत बसेर शिवजीलाई खुशी पारेको एवं पार्वतीको उपासनाबाट खुशी भएका शिवजीले बरदान माग्न भनेको र शिवजीलाई प्राप्त गरेको प्रसङ्ग सुनाइथ्यो । चतुर्थीका दिन एकछाक खाएर बस्ने अनि पञ्चमीका दिन पुनः नदी तथा तलाउमा माटो, गोबर, गोमूत्र, दही, दुध, मह, दतिवन लगायतका सामग्रीहरुको प्रयोग गरी सामुहिक स्नान गरेर सूर्यलाई अर्घ दिने अनि ऋषिहरुको पूजा गरिसकेपछि खाना खाने प्रचलन थियो । यसो गर्नाले रजश्वला भएका बेला जानी–नजानी छुवाछुत भएको भए मुक्ति पाइने जनविश्वास छ ।
बाटोको असुविधाका कारण दशैं तिहार मानेर घर–घर गएका चेलीहरु माइतीघरमा कुनै सांस्कृतिक कार्य वा पूजा–आजा भएमात्र माइतीघर पुग्थे । अझ जेठ–असार लागिसकेपछि त खोलानालाको डर पुलपुलेसाको अभाव र यातायातको साधन नहुँदा माइतीघर विरलै पुग्थे । सानैमा विवाह गरेर दिइने प्रचलनले पनि होला–माइती लिन नगएसम्म चेलीहरु माइतीघर पठाउँदैनथे घरकाले । बहुपरिवारमा बस्ने, भगवानको कोशेली सम्झिएर सन्तान जन्माउने चलन थियो । त्यसो हुँदा ठूलो परिवारमा मिठो खान पाउन पनि बुहारीलाई मुस्किल नै पर्दथ्यो । सासु, नन्द, आमाजुहरुको खटन, अनि आफ्ना पतिले पनि कतिपय चेलीलाई साथ नदिएको विरह र बेदना मिसिएका गित तीजमा गाइन्थ्यो । ब्रत बस्ने दिन यिनै बेदना पोखिएका गितमा नाच्ने गाउँने प्रचलनले मनोरञ्जन पनि प्रदान गर्दथ्यो । मनोरञ्जनको अन्य साधन नभएको त्यो समय तीजमा गाइने गित र नाचले बेग्लै रौनक छर्दथ्यो । विवाह गरेर विभिन्न ठाउँमा गएका चेलीहरुले आ–आफ्ना घर–घरमा भोगेका विषयबस्तुहरुमा फुपु, भदै, दिदी–बहिनीको गफको मिठास बेग्लै हुन्थ्यो ।
अहिले समय फेरिएको छ । बाल विवाहको अन्त्य भएर २० बर्ष पार भएपछि मात्रै विवाह गर्ने, अध्ययन गरेका कतिपय छोरी चेलीहरु रोजगारीमा लाग्ने, एक वा दुईमात्र सन्तान जन्माउने, सुखसयलमा हुर्काउने, पढाउने, बढाउने र रोजगारीमा लागेपछि मात्रै विवाह गरिदिने प्रचलन बढेको छ । मधेसका त अधिकांश भुभाग सडक सञ्जालसँग जोडिएका छन् । पहाडी क्षेत्रमा पनि धेरै ठाउँमा सडक बनेको छ । अधिकांशका हातहातमा मोवाइल छ । माइतीघरको खबर नै नसुनिने विगत अहिलेका पुस्तालाई अनौठो लाग्न सक्छ । अझ इन्टरनेटको सुविधाल े त एक–एकछिनमा अनुहार हेरेरै बोल्न मिल्ने भएको छ । भौतिक विकास एवं सूचना–सञ्चारको विकासले मानिसलाई जति नजिक बनाएको छ–त्यतिकै टाढा पनि बनाएको छ । किनकि अहिले फुपु–भदै, दिदी–बहिनी भेला भएर दुःखसुखका गफ गर्ने चलन हटेर टिकटक बनाउने, फोटो खिचेर फेसबुकमा पोष्ट्याउने, त्यही लाइक र कमेन्ट गर्ने अनि त्यसैमा रमाउने प्रचलन बढ्दो छ । सन्चो–विसन्चो, दुःख–सुख र घरपरिवारका कुराहरु गफका विषय बन्न छोडेका छन् । समग्रमा भन्नुपर्दा प्रविधिको बढ्दो प्रयोगले मानिस एक्लिएको छ–समाजको त के कुरा आफन्त र कुलकुटुम्ब, नातागोताभित्रका मान्छे चिन्न पनि अहिलेको पुस्ताले धेरै हदसम्म छोडेको छ ।
प्रविधिको बढ्दो प्रयोग, महिलाहरु रोजगारीमा आबद्ध हुनु, ब्यापार–ब्यवसाय, सामाजिक काम, राजनीतिक एवं संस्थागत जिम्मेवारी आदिले महिलाहरु ब्यस्त छन् । अब माइत जानेभन्दा पनि आफ्नो कर्मक्षेत्रमै रमाउने क्रम बढेसँगै महिलाहरुको महान चाडका रुपमा परिचित विशेष सांस्कृतिक महत्व बोकेको तीज मनाउने प्रक्रिया पनि परिवर्तित भएको छ । सहकर्मीहरुसँगै रमाउने, घर–परिवारभित्र पनि दरखाने दिनभन्दा अगावै बोलाएर तीज खुवाउने चलन बढेको छ । विभिन्न सामाजिक संघसंस्थाहरुले आफ्नै सदस्यहरुसँग सामान्य आर्थिक स्रोत संकलन गरेर अन्तर संस्थागत सहभागितामा तीज मान्न थालेका छन् ।
तर अधिकांश संघसंस्थाहरुले यसरी तीज मान्दै गर्दा तीजपर्व विकृत भयो भनेर आवाज पनि उठ्न थालेको छ । अझ तीज मनाउने नाममा ‘कुकुर डान्स’ वियर र रक्सी पिउँदै गरेका, वियरको बोतल नै बोकेर नाच्दै गरेका महिलाहरुको टिकटक बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । एकमहिना अघिदेखि तीज खाने र घरपरिवारलाई वास्तै नगर्ने भन्ने खालका नकारात्मक प्रचारहरु पनि छन् । यसलाई देख्दा लाग्छ–तीजलाई विवादित बनाउन र सांस्कृतिक मर्ममाथी प्रहार गर्न र विकृति भयो भनेर तीज पर्व नै नमनाउने वातावरण सिर्जना गर्न निश्चित समूह सक्रिय भएको त छैन ? प्रश्न उठेको छ । सिमित ब्यक्तिको मजाकको यस्तो भिडियोले समग्र महिलाहरुको शिर निहुराएको छ भने संस्कार र संस्कृतिमाथिको निर्लज्ज प्रहार गरिएको छ ।

लगभग आठ–दश बर्षयता सामाजिक संघसंस्था वा ब्यक्तिको अगुवाइमा सामुहिक तीज आयोजना गर्दैगर्दा होटल, मन्दिर, पार्टी प्यालेस वा सार्वजनिक ठाउँमा आयोजना गरिएका तीज विशेष समारोहमा माछा–मासु र रक्सीको परिकार राखिएको अहिलेसम्म देखिएको भेटिएको छैन । यसले पनि संस्कृतिमाथि प्रहार गर्न कुनै समूह परिचालित त छैन ? भन्ने प्रश्न उठ्छ । कुनै ब्यक्ति वा परिवारले आयोजना गरेको तीजमा आ–आफ्नै परिवार भेला भएर रक्सी पिएर सामाजिक सञ्जालमा पोष्ट्याउँछन् भने त्यो निजी विषय होला तर यसलाई सामाजिक सञ्जालमा भाइरल बनाएर संस्कार र संस्कृतिको मर्ममाथि नै प्रहार गर्ने प्रयत्न चाहिं कसैले पनि गर्नुहुँदैन ।
महिलाहरुको ब्यस्ततासँगै सामुहिक रुपमा मनाइने तीजका विकृति मात्रै छैनन् । यसले सहकर्मी, पेशाकर्मीबीचमा आत्मीयता बढाएको छ, आपसी माया, प्रेम र सद्भाव बढाएको छ । माइत गएर लामो समय बस्न नभ्याउने एवं माइती नभएका चेलीहरुका लागि पनि तीज खल्लो महसुस हुन छाडेको छ । अनि यसरी कार्यक्रम आयोजना हुँदै गर्दा आयोजक र सहभागीहरुले घर–परिवारको खुशीलाई पनि पक्कै मारेका छैनन् । किनकि घरबाहिर निस्किएर सेवा क्षेत्रमा सक्रिय महिलाहरुले जहिले पनि घर–परिवार र आफ्नो पेशागत जिम्मेवारी पूरा गर्ने दोहोरो भूमिका निर्वाह गरेकै हुन्छन् । साथै घर–घरमा समेत दर खाने दिनभन्दा अगावै बोलाएर खुवाउने चलनले चेलीबेटीबीच मात्रै होइन, सम्पूर्ण नातेदारबीचको आत्मीयता र भाइचारालाई बढाएको छ । किनकि पछिल्लो समय चेलीलाई मात्रै नभएर ज्वाई, भान्जा, भतिजाहरुलाई पनि बोलाउने चलन बढेको छ, यसले तीज पर्व भेटघाट र आपसी समन्वय, सद्भावको पर्वमा परिणत भएको छ भन्दा अतिउक्ति हुँदैन । तसर्थ एकाध विकृत पक्षको अन्त्य गरेर तीज पर्वको मौलिकतासमेतलाई कायम राख्दै सामुहिक तीजलाई भड्काउरहित बनाउन जरुरी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाभेटघाटमा परिणत हुँदै तीज
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img