Homeसमाचारपार्टी सशक्तीकरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान जरुरी- महामन्त्री शर्मा

पार्टी सशक्तीकरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान जरुरी- महामन्त्री शर्मा

धुलावारी ३० भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सशक्तीकरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान जरुरी भएको बताएका छन् । उनले सबै टोलमा गाउँ सेवा दल बनाउन पार्टी पंक्तिलाई निर्देशन समेत दिए।
झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने,‘पार्टी रुपान्तरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान चलाउनु पर्छ,सबैलाई जिम्मेवारी दिनुपर्छ।’
काङ्ग्रेसले गर्ने हरेक कार्यक्रमको स्वरुप परिवर्तन हुनु पर्नेमा जोड दिएका उनले काङ्ग्रेसका हरेक हातहरु सहयोगी बन्नु सक्नु पर्ने धारणा राखे। उनले भने, ‘केन्द्रमा पार्टीले पोलिसी ह्याकाथुन चलायो, यसले गैरकाङ्ग्रेसलाई पनि काङ्ग्रेससँग जोड्न, अब गाउँ तहसम्म नै नयाँ कार्यक्रम गर्नुपर्छ, ढिलो गर्नु हुन्न ।’
दुबै महामन्त्रीको परीक्षणकाल सकिएको र अब पूर्णरूपमा काम गर्ने उनले विश्वास दिलाए। पार्टी सभापतिको आलोचना गरेर मात्रै केही नहुने भन्दै उनले विधानमा व्यवस्था भएका काम गर्न नसक्नुमा आफूहरूको पनि कमजोरी रहेको स्वीकारे।
तर, पार्टीमा भएका गल्ती, कमजोरीको सबै दोष आफूले नलिने उनले बताए। तथापि, उनले अहिले केन्द्रीय कार्यालय प्रखर भएको दाबी गर्न भने भ्याए। देशभर जारी सम्मेलनले पार्टी सुधारको संकेत मिलेको बताए।
देश र निर्वाचन क्षेत्रको समस्याका बारेमा सिलसिलेवार बोलेका महामन्त्री शर्माले सरकारले संसदमा दर्ता गरेको शिक्षा ऐन काङ्ग्रेसलाई अस्वीकार्य भएको बताए ।
ूपहिलाको प्रस्तावित ऐन त्रुटिपूर्ण रहेकाले सच्याएर ल्याउने सल्लाह भएको हो फेरि पनि असंगत ऐन ल्याइयो ‘उनले भने,ू म शिक्षको छोरा हुँ, समस्या बुझेको छु, प्रधानमन्त्रीलाई भन्छु, यो ऐन अस्वीकार्य छ।’
भ्रष्टाचारको विषयमा सरकारले गरेको काममा काङ्ग्रेसको समर्थन रहेको उनले बताए। शर्माले भने, ‘काङ्ग्रेसले कसैलाई निलम्बन गर्‍यो, गरेन त्यो ठूलो कुरो होइन, यस्तो हल्ला गर्नुको अर्थ पनि छैन, संसदमा उभिएर मैले नै भनेको हुँ, भ्रष्टाचारको फायल होइन फायर खोलिनु पर्छ।’
झापामा हात्ती नियन्त्रणका लागि ५८ किलोमिटर क्षेत्रमा डिपीआर बनेको र अढाई करोड बजेट छुट्टिएको उनले जानकारी दिए। सोलार फेन्सिङले मात्रै हात्ती नियन्त्रण नहुनेमा निष्कर्षमा पुगेको उनले बताए । झापा १ का सांसद समेत रहेका शर्माले भने, ‘प्राविधिक टोली ल्याएर हात्ती नियन्त्रणको उपाय खोज्ने काम छिट्टै हुन्छ।’
आयोगबाट वितरण हुने धनीपुर्जाको कर घटाउन आफूले निरन्तर पहल गरिरहेको उनले बताए ।सीमामाका समस्या र मेची नदी नियन्त्रणमा सक्दो पहल गर्ने उनले आश्वासन दिए। रेल्वेमा परेका जग्गाको मुआब्जा दिन सके न्याय हुने उनको तर्क छ। यद्यपि, उनले सबै समस्या एकैपटक हल नहुने प्रष्ट्याए।
महामन्त्री शर्माले सुवास नेम्वाङको भूमिका देशका लागि साझा भएको स्मरण गरे। उनले नेम्वाङको व्यक्तित्व शालीन भएको बताए। ओल्लो घरमा शंख बजेको बेला पल्लो घरमा सनाई र मादल बज्दा राम्रो सन्देश नजाने भएर बिपी महोत्सव पार्टीले स्थगित गरेको शर्माले जानकारी दिए।
केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला सभापति देउमान थेवे , कोशी प्रदेश सांसद गोपाल तामाङ, कोशी प्रदेश सदस्य विमल आचार्य, काङ्ग्रेस झापा उपसभापति केशवराज पाण्डे, काङ्ग्रेस झापाका पूर्वउपसभापति राम कट्टेल , मेचीनगर सभापति सुवेश पनेरु (सुदय), बुद्धशान्ति गाउँ सभापति चक्र शेर्मा लगायतले पार्टीको वर्तमान अवस्था, जारी गाउँ र नगर सम्मेलन र पार्टीमा देखिएको उभारका बारेमा धारणा राखेका थिए।
क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सुझाव सहित पारित भएको छ। १९ जना सहभागीले आआफ्नो सुझाव राखेका थिए। सम्मेलनमा क्षेत्रीय सचिवद्वय गुणराज भट्टराई, सुरेन्द्र बुढाथोकी, झापा १ प्रदेश क सभापति हरि बुढाथोकीले क्षेत्रमा पार्टीको सांगठनिक अवस्था, आफूहरूले जिम्मेवारी सम्हालेपछिका कामको चर्चा गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपार्टी सशक्तीकरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान जरुरी- महामन्त्री शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img