यसो सामाजिक सञ्जाल हेर्यो रंगिचङी पहिरनमा सजिएर नाचगान गरेको भिडियो फोटोहरु प्रसस्त देखिन्छ।तीज लागेछ है भन्ने थाहा हुन्छ । रेडियो टि भि मा पनि तीजकै रमझम र रमाइलो सुनिन्छ देखिन्छ । विभिन्न सामाजिक संघ संस्थाले सामुहिक रुपमा दर खाने चलनको इतिहास त्यति लामो छैन । तर यो अत्यधिक मौलाएको छ । नेपालमा मात्र होइन देश बिदेशमा पनि सामुहिक तीजको रमझम हुने गर्छ । तीजलाई कसैले नेपाली महिलाहरुको महान चाड र कसैले हिन्दू महिलाहरूको चाड भनेर सम्बोधन गर्छन् । तर, तीज सबै जातजाती धर्म समुदायका महिलाहरुले खुलेर मनाउँछन् । अर्थात तीजको रमझमप्रति सबै महिलाको आकर्षण छ ।
सुरु–सुरुमा सामुहिक तीजमा गहना र महंगा साडिको प्रदर्शनी जस्तै हुन्थ्यो । तर, यो चलन बिस्तारै हराएर जाँदैछ । यसले पनि महिला सचेतनामा अभिबृद्धी भएको दर्साउँछ । आजभोली समूहका सबैले एकै प्रकारको साडी लगाउने प्रचलन बढेको छ ।
अधिकांस महिलाहरु नाचगान र खानपिनमा रमाउन चाहान्छन् । तर नेताले भाषण सुनाएर वाक्क पारेको गुनासो पनि गर्छन् । कतिपय संघ–संस्था र राजनीतिक पार्टीहरुले महिलाहरुलाइ भेला गराएर सामाजिकरण राजनीतिक रुपमा सचेत गराउने उद्देश्य राखेका हुन्छन् र त्यो उद्देश्यले केही हदसम्म सफलता पनि पाएको छ । तीज जे जसरी मनाएपनी यो महिला स्वतन्त्रताको पर्याय बन्दै गएको छ ।
समुहमा मनाइने तीजले घरेलु महिलालाई सामाजिक बनाएको छ । कार्यक्रमको तारतम्य मिलाउनु पर्नाले योजनाकार बनाएको छ । औपचारिक कार्यक्रम संचालन गर्नुपर्ने कार्यले अभिव्यक्ति कलाको बिकास भएको छ । पटक–पटक कार्यक्रम गर्नु पर्दा नेतृत्व क्षमताको बिकास भएको छ । धेरै साथीहरुसँग सम्पर्कमा रहनुपर्ने कार्यले सूचनामा पहुँच पुगेको छ । सुसूचित गराएको छ । समग्रमा भन्नु पर्दा सामूहिक तीज मनाउने प्रचलनले महिलाहरुको सशक्तीकरण भएको छ ।
यसरी तीज मनाउने कार्यलाइ कसै–कसैले बिकृतिको नाम दिएका छन् । हुन त हाम्रो देश पितृसत्तात्मक मुलुक हो यहाँ आमा बाठी टाठी भएको आफैंले जन्माइ हुर्काइ गरेको छोरालाइ त मन पर्दैन । तर यसको धार्मिक र साँस्कृतिक मर्मलाइ नै खलल पुग्ने गरीको कार्य गरेर मनाउनु हुँदैन । यदाकदा महिलाहरुले मादक पदार्थ सेवन गरेर उत्ताउलो प्रबृति देखाएको पनि देखिन्छ । नकारात्मक कुरा थोरै भएर होला अलिक बढी देखिन्छ । जाना–जान यस्ता कार्य गर्नेलाइ बहिष्कार गर्नुपर्छ । राम्रा कुराको उजागर गरेर महिलाहरुमा उत्साह भर्नु पर्छ । हौसलाले राम्रा काम गर्न उत्प्रेरित गर्छ ।

“छोरीको जन्म हारेको कर्म “भन्ने संस्कार र सोचबाट हुर्के बढेका हामी नेपाली महिलाहरुले भोगेका उत्पिडनका बिषय गीतका रुपमा प्रस्तुत गरेर हाम्रा हजुरामा आमा हरुले यो समाज र कुरिती संस्कार बिरुद्ध बिद्रोह पोख्थे।सधैं ढिंडो रोटो मात्र खानुपर्ने छोरी बुहारीहरुलाई मीठो मसिनो खाने दिनको रुपमा दरखाने प्रचलन चल्यो । साँझको खाना छिट्टै खाएर सुत्ने र मध्यरातमा पुनः उठेर खाने मिष्ठान्न भोजन नै वास्तवमा दर हो । बर्षभरी कडा परिश्रम गरेर लखतरान भएका छोरीलाइ भाद्र शुक्ल द्वितीयामा एकदिन उनको पतिको घर लिन गएर ल्याएर आमाले पोषिलो स्वादिलो पकाइ तुल्याइ खुवाउने चलनले चेली माइतीको प्रेमलाइ सधैं उच्च स्थानमा राखेको छ । पुण्य कमाउने नाममा स–साना बालिकाको बिवाह गरिदिने, विवाह भएर गएको घरमा गरिने दुव्र्यवहार जस्ता कुराहरु गीतका बिषय बन्थे । छोरा र छोरीका बीचको विभेद, सासू, ससुरा, नन्द आमाजुका अरन–खटन्, लोग्नेले सौता हालेर दिएको दुःख जस्ता कुराको बिद्रोह बोलिन्थ्यो र आफ्ना भावना खोलिन्थ्यो । व्रत बस्दा पानी पिए लोग्नेको रगत पिए सरह हुन्छ र केही ठोस खाना फलफूल खाए लोग्नेको मासु खाए सरह हुन्छ भनिन्थ्यो । त्यस्ता कुरा पत्याएर मैले पनि कठोर व्रत बसेकी छु । समयसँगै बुझ्दै जाँदा यी कुराहरु मिथ्या लाग्न थाले । सुरुका दिनमा लुकिछिपी त्यस्ता नियम तोडियो । अहिले सायद कसैले मान्दैनन् । आजकाल त आमा हजुरआमाहरु पनि फलाहार गर्नुहुन्छ र हामीलाई पनि खाओ भन्नुहुन्छ । राजनीतिक जस्तो तख्ता पलट हुँदैमा संस्कृती परिवर्तन हुदोरहेनछ । साँस्कृतिक परिवर्तन त कछुवाको गतिमा हुने रहेछ । तर निरन्तर लागिरहनु पर्छ । मैले ८ बर्षको उमेरमा व्रत बस्दा अम्बा टिपेर खाँदा गाली गर्ने मेरी आमा र तिनै आमामा अहिले आएको परिवर्तनले यसको पुष्टि गर्छ ।
वास्तवमा तीज पार्वतीले स्वेच्छाले वर रोज्न पाउनु पर्छ भनेर बिद्रोह गरेको उपलक्ष्यमा नेपाली महिलाहरुले मनाउने पर्व हो । भाँङ, धतुरो, मद सेवन गरे पनि आफ्नी पत्नीलाई अति माया गर्ने, कालकुट सर्पको बिष पिएर घाँटीमै रोकी राख्ने र संसारलाई बिनास हुनबाट जोगाउने यस्ता महापुरुष, पत्नीलाई अर्धाङ्गिनी मान्ने देवहरुका पनि देव महादेव पार्वतीका पति बनेका थिए ।
कसैले हिन्दू धर्मले महिलाहरुलाइ विभेद गरेको आरोप लाग्ने गरेको छ । वास्तवमा हिन्दू धर्म शास्त्र अनुसार महिलालाइ नेतृत्व दिएर उच्च स्थानमा राखेको छ । धन दौलतको नेतृत्व लक्ष्मीले , बिद्या बुद्धिको नेतृत्व सरस्वतीले र शक्ति अर्थात पावरको नेतृत्व काली दुर्गा भवानीले गरेकी छन् । धर्मले महिलाहरुलाइ विभेद ग¥यो भन्नेहरुलाई धेरै केही भन्नू छैन । धर्म शास्त्र पढेर गलत व्याख्या गर्ने यसै धर्मका ब्याख्याताहरु नै हाम्रो धर्म संस्कारलाई बदनाम गराउने कारण हुन् ।
तीजलाई नेपाली महिलाहरुले स्वतन्त्रता दिवसको रुपमा मनाए पनि हुन्छ । यो हाम्रो मौलिक पर्व हो यसको संरक्षण गरौं । राम्रा पक्षहरुलाइ केलाएर हेरौं नराम्रो पक्ष आफैं गौंण भएर जान्छ । अन्त्यमा सम्पूर्ण देश बिदेशमा रहेका नेपाली आमा दिदी बहिनी र छोरीहरुमा हरितालिका तीज २०८० को हार्दिक शुभकामना ।
लेखकः राप्रपाकी बिर्तामोड नगर अध्यक्ष हुन् ।

































































































