Homeसमाचारचुनौति चिर्ने हिम्मत बटुलौं-'राजनीतिमा महिलालाई संभावना प्रशस्त छ’

चुनौति चिर्ने हिम्मत बटुलौं-‘राजनीतिमा महिलालाई संभावना प्रशस्त छ’

रेजिना गौतम
बिर्तामोड ।
नेपालमा महिलाका लागि राजनीति चुनौति र संभावना दुवै भएको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले ठहर्याएका छन् ।
बीरता लेडी जेसीजको जेसीज सप्ताह अन्तरगत बिर्तामोडमा आयोजित राजनीतिमा महिला सहभागिता–चूनौति र संभावना विषयक अन्तरक्रियामा बोल्ने महिला नेतृहरुले चुनौतिको सामना गर्ने हिम्मत गर्नुपर्नेमा जोड दिंदै संभावनाहरु प्रशस्तै भएको बताएका हुन् ।
समाज र राजनीतिको शुरुवातसंगै महिलाहरुले विभिन्न खालका सामाजिक, राजनीतिक हिंसा र उत्पीडनबाट पाठ सिक्दै आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै चुनौति सामना गर्ने हिम्मतबाट पछि हट्न नहुने बताए । साथै महिलाहरुलाई राजनीतिमा अघि बढ्नका लागि देखिएका र भोगिएका समस्याबारे पनि आ–आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।
‘आन्दोलन गर्ने बेलामा महिलालाई जिम्मेवारी दिइन्छ । तर, आन्दोलन सफल भएर राज्यको जिम्मेवारी लिने अवसर आउँदा महिला असक्षम हुन्छन् यो बिडम्बना छ ।’–नेकपा एमाले लेखा समितिकी केन्द्रीय सदस्य जसमाया गजमेरले नेपालको राजनीतिक परिवर्तनमा महिलाको योगदान र प्राप्त उपलब्धीपछि महिलामाथि हुने विभेदपूर्ण व्यवहारबारे यसरी जानकारी गराइन् ।
दलहरुले आन्दोलन हाँक्न महिलालाई अवसर दिने तर, राज्यसत्तामा पुग्ने बेलामा बञ्चित महिलालाई बञ्चित गर्ने गरेको उनको भनाई थियो ।
अन्तरक्रियामा बोल्दै गजमेरले भनिन्–‘परिवर्तनका लागि इतिहास रचेका महिलाहरुको योगदान हामी कहाँ पढ्न पाउँछौं ? ’उनले थपिन्–‘योगदानको मूल्याङ्कनमा पनि महिलालाई छुट्छन् ।’
परिवर्तनका लागि भएका आन्दोलनमा जिम्मेवारी पाएका सहाना प्रधान, सैलजा आचार्यहरुको समेत योगदानको मूल्याङ्कन हुन नसकेको बताउँदै भनिन्–‘इतिहास पनि महिलाले आफैं लेख्नुपर्ने भयो ।’ नभए राममाया पोडे र स्नेहलताको जस्तै अवस्था हुन्छ ।
महिलाहरुले गरेको आन्दोलनबाटै ठूला–ठूला उपलब्धी भएको उदाहरण समेत प्रस्तुत गर्दै कोशी प्रदेशको पूर्व राज्यमन्त्री समेत रहेकी गजमेरले राजनीतिलाई निराशा र धमिलो ढंगबाट हेर्न नहुने बताइन् । चुनौतिहरु छन्, उपलब्धीहरु पनि भएका छन् ।
राजनीतिसंगै हरेक क्षेत्रमा महिलालाई चुनौति रहेको बताउँदै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले जुनकुनै काममा आएका चुनौतिलाई कोशेलीका रुपमा ग्रहण गर्न सुझाव दिइन् । महिलाको शारीरिक बनोट नै विशिष्ट किसिमको भएको उल्लेख गर्दै शिवाकोटीले पारिवारिक जिम्मेवारी र सामाजिक उत्तरदायित्वप्रति पनि त्यत्तिकै जिम्मेवार बनेर अघि बढ्न प्रेरित गर्दै भनिन्–‘एक्ज्युकेटिभ समय बुबा आमाका साथमा बित्छ, त्यो पनि सम्झौताको रिस्ता लिएर श्रीमान्को घर जानुपर्छ, त्यसपछि अघि बढ्ने क्रममा पनि सम्झौतामै चल्नुपर्ने कुरालाई समायोजन गरेर अघि बढ्नुपर्छ, परिवार विचल्ली पार्नुपनि हुन्न ।’
शिक्षा क्षेत्रबाट अवकास लिएकी शिवाकोटीले आफूले प्रधानाध्यापक हुने समयमा र परीक्षा सञ्चालनको जिम्मेवारी पूरा गर्ने क्रममा महिलालाई हेर्ने दृष्टिकोणको अनुभव साट्दै भनिन्–‘चुनौति सबै क्षेत्रमा हुन्छन्, तर हिम्मत आफूमा हुनुपर्छ ।’
महिलालाई राजनीतिमा अघि बढ्न आर्थिक पाटो पनि मुख्य बाधक भएको अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुलीले बताइन् । नगरमा न्यायिक समितिको संयोजक समेत रहेकी पराजुलीले मुद्दा दर्ता र छलफलमा समेत हिचकिचाउने गरेको पाएको बताइन् ।
महिलालाई हतोत्साही बनाउन घर परिवारलाई नभएको चिन्ता गाउँ समाजले लिइदिने र प्रश्न गर्ने गरेको बताउँदै भनिन्–‘हामीलाई सामाजिक चुनौति ठूलो छ’ उनले थपिन्–‘काम विशेषले एकछिन ढिलो भयो भने महिलाले ‘क’ को सामना गर्नुपर्छ भने पुरुषलाई जे गरेपनि ठिक । महिलालाई (क) ले बाँधिन्छ, पुरुषलाई (ज) ले छोडिन्छ ।’ त्यसो त घरभित्रको पारिवारिक जिम्मेवारीमाथि पनि समाजले अनावश्यक चासो राखेर प्रश्न उठाएर गर्ने छुल्याई पनि महिलाका लागि चुनौति रहेको बताइन् । निर्वाचनमा महिला उम्मेद्वार बनेपनि सम्पत्तीमाथि अधिकार नहुँदा आर्थिक रुपमा समस्या हुने पराजुलीले बताइन् ।
महिलाको राजनीतिमा २००७ सालदेखि नै योगदान भएपनि निर्णायक र कार्यान्वयन गर्ने तहमा महिला नहुँदा महिलाले अझै पनि विभेदको अनुभूति गर्नुपरेको नेपाल महिला संघकी केन्द्रीय सदस्य उमा शिवाकोटीले बताइन् । उनले भनिन्–‘कानून कार्यान्वयन गर्ने ठाउँमा महिला नहुनु, पार्टी नेतृत्वमा महिला नहुनु, निर्वाचनका बेला टिकट वितरणमा महिलालाई सहभागिता नगराइनु जस्ता कारणले महिला अघि बढ्ने कुरामा समस्या छ ।’ महिलाले गरेको आन्दोलनकै कारण राजनीतिदेखि विभिन्न प्रशासनिक निकाय, प्रहरी, सेनामा समेत महिला सहभागिता बढेको उल्लेख गर्दै शिवाकोटीले संविधानको सही कार्यान्वयन भएका कारण पनि हिंसा महशुस भएको टिप्पणी गरिन् ।
राजनीति धमिलिएको बताउँदै शिवाकोटीले सुधारका लागि सकारात्मक सोच भएका युवाशक्ति शुत्र बनेर प्रवेश गर्नुपर्ने बताइन् । उनले भनिन्–‘राजनीति भित्र राजनीतिक हिंसा बहुत छ, त्यसको सुधारको खाँचो छ, भ्रष्ट राजनीतिलाई प्रष्ट पार्ने बाटो लिनका लागि शुत्र बनेर राजनीतिमा प्रवेश गर्न आग्रह गर्छु ।’ राजनीतिमा संभावना भने प्रशस्तै भएको उनले बताइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेलले महिलाले गर्ने राजनीतिबीच भावना र मस्तिष्कको फरक हुने बताइन् । भावनाले गर्ने राजनीतिक निर्णय दीर्घ र सफल हुने बताउँदै भनिन्–‘मस्तिष्कले गरेको निर्णय ठिक नभएपनि जबरजस्ती ठिक भन्ने बनाउँछन्, तर महिलाले भावनाले गरेको निर्णयले कहिले बिगार्दैन, कहिले काँही निर्णय गर्न ढिलो होला त्यतिमात्रै हो ।’ महिलाको कुरा हत्तपत्त पुरुषले सुन्न नचाहने अनुभव आफूले पनि व्यहोरेको बताउँदै भनिन्–‘कहिले काहीं महिलाले तानाशाही पनि हुनुपर्छ ।’ राजनीतिमा सोचेभन्दा बढी नै संभावना भएको प्याकुरेलको भनाई थियो ।
कार्यक्रमको उद्घाटन गर्दै विर्तामोड नगरपालिकाकी मेयर तथा प्रमुख अतिथि पवित्रा महतारा प्रसाईले पारिवारिक जिम्मेवारीसंगै अन्य जिम्मेवारी बहन गरिरहँदा काम गर्ने ठाउँमा पनि समस्या रहेको अनुभव सुनाइन् ।
आफूभन्दा उपल्लो तहका सरकारका मन्त्री र सचिवले आफूले केही कुरा राख्न खोज्दा पनि सुन्न मनै नगर्ने, कुरा अर्कैतिर मोड्ने गरेको तितो अनुभव आफूसंग भएको बताउँदै भनिन्–‘महिलाका कुरा सुन्नै हतपत्त चाहँदैनन्, कुरा अर्कैतिर मोड्न खोज्छन्, यो काम गर्दाको अनुभव हो ।’
राजनीति तथा सामाजिक क्षेत्रको नेतृत्व गरेका महिलाले गरेका राम्रा कामको सकारात्मक प्रचार गर्न नसके आगामी दिनमा महिलालाई जिम्मेवारीमा आउन पनि समस्या रहेको बताउँदै भनिन्–‘महिलाले गरेका राम्रा कामलाई प्रचारमा ल्याउन नसके आगामी दिनमा महिलाले जिम्मेवारी प्राप्त गर्न कठिन छ ।’ उनले थपिन्–‘महिला नेतृत्व टिकाएर लैजान सबैको भूमिका रहनुपर्छ, तबमात्र आगामी दिनमा महिलालाई जिम्मेवारी दिने कुरामा दलहरु सकारात्मक हुन्छन् ।’
सो अवसरमा सहजकर्ता भीमा शिवाकोटीले २०७९ मा सम्पन्न वडा, पालिका, प्रदेश र संघीय संसदमा महिला प्रतिनिधित्वबारे तथ्यगत जानकारी अगवत गराएकी थिइन् ।
बीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको सञ्चालन निशा शाक्यले गरेकी थिइन् भने संस्थापक अध्यक्ष शारदा रिजालले शुभकामना मन्तव्य राखेका थिए । लेडी जेसीजले सोमबार नै साताव्यापी जेसीज सप्ताह सम्पन्न गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचुनौति चिर्ने हिम्मत बटुलौं-'राजनीतिमा महिलालाई संभावना प्रशस्त छ’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img