भद्रपुर २४ भदौं । बदलिदो जीवन शैलीसंगैै नेपालमा हरेक दिन २० जनाले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको नेपाल सरकारको तथ्याङ्कले देखाएको छ । हरेक वर्ष दुई प्रतिशतभन्दा बढी संख्यामा नेपालमा बढिरहेको आत्महत्याको मूल कारण मानसिक रोग रहेको विज्ञहरूको भनाइ छ ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नशा तथा मानसिक रोग विशेषज्ञ डा। सन्दर्भ अधिकारीले दिएको जानकारी अनुसार विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा हरेक दिन २० जनाको मानसिक रोगका कारण आत्महत्या हुने गरेको हो ।
नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालका ७ वटा प्रदेश मध्ये कोशी, बागमती र लुम्बिनी प्रदेशमा आत्महत्याको दर उच्च देखिन्छ । जसमा नेपाल प्रहरीको विवरणले देशभर आर्थिक वर्ष २०७९/०८० मा ६ हजार नौसय ९३ जनाले आत्महत्या गरेका छन् । यो संख्यासित तुलना गर्दा एक दशक अगाडि आत्महत्याको अवस्था आर्थिक वर्ष २०६८/०७९ मा ३ हजार नौसय ७७ मात्र देखिन्छ । १५ देखि ४९ वर्ष उमेर समूहको महिला मृत्युको प्रमुख कारण आत्महत्या हुने गरेको समेत नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।
हरेक वर्ष आत्महत्या २ प्रतिशतभन्दा बढीकै दरमा बृद्धि भइरहँदा त्यसका पछाडि मानसिक समस्या नै कारक बन्ने गरेको अनुसन्धानले देखाउने गरेको छ ।
कोशी प्रदेशमा आत्महत्याका कारण आर्थिक वर्ष २०७९/०८० मा एक हजार पाँचसय ५० जनाको आत्महत्याका कारण ज्यान गएको छ । जसमा पुरूषको संख्या नौ सय २९ र महिलाको संख्या चारसय ५९ जना तथा बालक ६४ जना र बालिका ९८ जनाले आत्महत्या गर्दै ज्यान गुमाएको कोशी प्रदेश प्रहरीको विवरणले देखाएको छ ।
डा। अधिकारीका अनुसार मानसिक समस्या पहिचान गर्न सके आत्महत्या न्यूनिकरण गर्न सकिन्छ । तर, बेवास्ता गर्ने प्रबृत्तिले मानसिक समस्या आत्महत्याको बाटोमा गइरहेको हो ।
आत्महत्या रोकथामका लागि सरकारले आशा जगाऔं जीवन बचाऔं नारा समेत तय गरेर विभिन्न चेतना मुलक काम गरि गरिरहेको छ । तर आत्महत्याको दर घट्न सकिरहेको छैन ।
नेपालमा आत्महत्या बढ्नुको प्रमुख कारण मानसिक समस्या

































































































