बिर्तामोड २२ भदौ । नेपाली काङ्ग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)–ले संविधानले गरेको ब्यवस्थाको आधारमा टेकेर महिला सहभागिताका लागि संघर्ष गर्न सकिने बताएकी छन् ।
नेपाल महिला संघ झापाको बिस्तारित बैंठकलाई सम्बोधन गर्दै सहमहामन्त्री उपाध्यायले सबै राजनीतिक दलका महिला संविधानसभा सदस्यहरुको संस्था ककसमार्फत दलीय ह्वीपको बेवास्ता गरेर आफुहरुको जोडबलमा समाबेशी सहभागितालाई सुनिश्चित गरिएको स्पष्ट पारिन ।
बीपी कोइरालाले जनताको जीवन पढ्ने ब्यक्तिमात्रै राजनीतिज्ञ हुनसक्छ भनेरको प्रसङ्ग उल्लेख गर्दै नेतृ डिनाले राजनीतिक योगदान भएकै ब्यक्तिलाई समाबेशी कोटामा सहभागी गराइनुपर्नेमा जोड दिइन् । राजनीतिक योगदान नभएको ब्यक्तिलाई आरक्षण कोटामा नसमेट्न पनि उनले पार्टी नेतृत्वलाई आग्रह गरिन ।
अहिले पनि समाजले महिलाको योगदानलाई पुरुषसरह मूल्याकंन नगर्ने बताउँदै उनले आरक्षण कोटामा समेत अवसर नदिने गरेको बताइन् । नेपाल महिला संघ झापा अध्यक्ष टीका सिटौला मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल आचार्य, गोमा भट्टराई, नेपाली काङ्ग्रेस कोशी प्रदेस समिति सदस्य रन्जिता कार्की, मिरा खड्का लगायतले शुभकामना राखे । शर्मिला अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गिता ओडारी खरेलले गरेकी थिइन् ।
बैठकले आगामी असोज ४ गतेसम्ममा पाँचवटै क्षेत्रका क्षेत्रीय समितिलाई पूर्णता दिइसक्ने निर्णय गरेको बताइएको छ ।
संवैधानिक व्यवस्थाका आधारमा सहभागिताको संघर्ष गर्न सकिन्छ-डिना

































































































