भद्रपुर २२ भदौ । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८० को सन्दर्भमा भद्रपुरमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।
भद्रपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भद्रपुरमा सम्पन्न कार्यक्रममा २०७९ को एसइई परिक्षा तथा कक्षा ८ मा नगरपालिका भित्रबाट उत्कृष्ट विद्यार्थी, सेवानिबृत शिक्षक, कुशल प्रधानाध्यापक र राष्ट्रपति रनिङ शिल्ड २०७९ मा सहभागीलाइ कदरपत्रसहित विभिन्न विधाका उत्कृष्टलाई सम्मान गरिएको हो ।भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २०७९ सालको एस इई परिक्षामा सामुदायिक विद्यालयबाट हिमाली मावि भद्रपुरका प्रतीक देउजा र विरेन्द्र मावि चन्द्रगढीस्वीकृति पौडेललाई एक÷एक सेट ल्यापटपसहित कदर पत्रले सम्मान गरिएको थियो । त्यसै गरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट कक्षा ८ को परिक्षामा उत्कृष्ट अलविन तामाङ सहित २३ जना बालबालिकालाई नगद र प्रमाण सहित पत्र प्रदान गरिएको थियो । यसैगरी नगरभित्रका कुशल प्रधानाध्यापकहरु क्रमशः विरेन्द्र माविका खिलाराज कोईराला, रामप्रसाद घिमिरे, चमकलाल राजबंशीलाई सम्मान गरिएको थियो । दिवसको सन्दर्भमा सेवानिवृत बाल शिक्षिका गुणादेवि राजबंशीलाई नगद ५० हजार प्रदान गरिएको थियो ।
यसैगरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा जिल्मा दोस्रो स्थान ल्याउन सफल गराउनु हुने ४ जना शिक्षकहरुलाई कदर पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्ति खिलाराज कोईराला, शिक्षक महासंघ भद्रपुर नगर अध्यक्ष गणेश गिरी लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन योगेन्द्र पौडेल र स्वागत शाखा प्रमुख प्रेम भूजेलले गरेका थिए ।