कास्की १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गरेका छन् । समाजवादी मोर्चाले आज शुक्रवार पोखरामा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले माधव नेपाल निर्दोष साबित भएको नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको र मुद्दा चलाउन नपर्ने भएपछि निर्दोष साबित गरेको प्रचण्डको दाबी छ । उनले सरकार ‘निर्दोष नफसून्, दोषी नछुटून्’ भन्ने मान्यतामा रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका व्यक्तिहरू संलग्न रहेको उल्लेख गरे । क्विन्टलका क्विन्टल सुन तस्करी हुने गरेको थाहा पाएपछि सरकारले अनुसन्धान शुरु गरेको उनले बताए ।
प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा पोखरा र गौतमबुद्ध विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान, कोरोला नाका, रुइला नाका सञ्चालन, विद्युत व्यापारलगायतका विषय राख्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी मोर्चा अघि बढेको दाबी गरे । मोर्चाले समाजवादी क्रान्तिलाई सम्पन्न गर्ने आधारशीला बनाउन काम गरिरहेको उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी फुट्न मात्र नभई जुट्न पनि जानेको जिकिर गरे । माओवादी आन्दोलनको विरुद्धमा ठूलो समूह लागेकै कारण आफूहरू समाजवादी मोर्चा बनाएर अगाडि बढेको उनले बताए ।
माधवकुमार निर्दोष रहेको प्रचण्डको भनाई

































































































