काठमाडौँ १४ भाद्र । छैठौँ विश्व संस्कृत दिवसको अवसरमा आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान र उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) लाई एकलाख राशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गरिएको छ ।
वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्गमा सम्पन्न छैठौँ विश्व संंस्कृत दिवसमा उहाँहरुलाई सम्मान गरिएको हो ।
संस्कृत क्षेत्रमा विशेष योगदान गरेकोमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति आचार्य ‘पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई ‘संस्कृत विशेष सम्मान’ प्रदान गरिएको हो । कार्यक्रमका सभापति एवं विश्वसंस्कृत दिवसका संकल्पकर्ता डा. निर्मलमणि अधिकारी र विश्व संस्कृत दिवस कार्यपरिषदका संयोजक प्रा. डा. माधवप्रसाद पाण्डेयले संयुक्त रुपमा सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) लाई एक लाख राशिको ‘आरुणि संस्कृत शोधवृत्ति’ पनि प्रदान गरिएको छ । कार्यक्रमका अभ्यागत वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल तथा विश्व संस्कृत दिवस कार्यपरिषद्का उपसंयोजक डा. माधवप्रसाद लामिछानेले संयुक्तरुपमा प्रमाणपत्र तथा एकलाख रुपैयाँको चेक हस्तान्तरण गर्दै शोधवृत्ति प्रदान गरे ।
नेपाल र भारतमा गरी १०० भन्दा बढी शोधार्थीको अनुसन्धानमा शोधनिर्देशकको भूमिकामा रहेर विद्यासाधनामा विशिष्ट योगदान गरेकाका आचार्य ढुङ्गेलको योगदानको उच्च मूल्यांकन गरी उक्त सम्मान गरिएको हो । संस्कृत भाषाको अध्ययन अध्यापनमा निरन्तर योगदान पुर्याएको तथा समाज विकासको मौलिक सिद्धान्त ‘स्थितिगत्यात्मक प्रगतिवाद’ पुस्तकको अनुवाद गरेकोमा आरुणि संस्कृशोध वृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा रोहिणीराज तिमिल्सिनाले रचना गरेको संस्कृत गीत गायक त्रिलोक जोशीले गायन गरी प्रस्तुत गरेका थिए । त्यसैगरी संस्कृत वाङ्मयलाई नवीन प्रविधि मार्फत पनि प्रचारप्रसार गर्ने उद्देश्यले सञ्चारयोग मिडियाले निर्माण गरेको संस्कृत भाषाको लघु चलचित्र पनि लोकार्पण गरिएको थियो । मकै पोल्नेको व्यथा समेटिएको ‘मकायदाहकस्य व्यथा’ शीर्षकको लघुचलचित्र कार्यक्रममा प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा। निर्मलमणि अधिकारीले संस्कृत भाषालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्न संस्कृत दिवसको आयोजना गरिँदै आएको बताए । संस्कृत दिवसलाई संयुक्त राष्ट्रसंघबाट अनुमोदन गराउने उद्देश्यका साथ संस्कृत दिवस मनाउन आह्वान गरिएको पनि जानकारी समेत दिए।
कार्यक्रममा जयतु संस्कृतम्का महासचिव प्रा.डा. नवराज कट्टेल, काठमाडौँ विश्वविद्यालयका रामचन्द्र पौडेल, त्रिचन्द्र क्याम्पस दर्शन विभागका डा. गोविन्द शरण उपाध्याय, त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका रोहिणीराज तिमिल्सिना लगायतका वक्ताहरुले संस्कृत भाषाको महत्वबारे चर्चा गरेका थिए।
छैठौँ विश्व संस्कृत दिवस सम्पन्न, संस्कृत विशेष सम्मान ढुङ्गेललाई

































































































