भद्रपुर १२ भदौ। १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस झापामा संयुक्त रुपमा मनाइने भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला संघ संस्थाको संयुक्त बैठकले आगामी भदौ २० गते पर्ने १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस पूर्वी नाका काँकरभिट्टामा विभिन्न कार्यक्रमहरु गरेर मनाउने निर्णय भएको हो ।
दिवसका अवसरमा काँकरभिट्टामा आयोजित कार्यक्रममा अन्तरक्रिया, र्याली, सडक नाटक प्रस्तुत, स्टिकर टाँस, सूचनासहितको होडिङबोर्ड टाँस गर्ने तथा मानव बेचबिखन विरुद्ध काम गर्दै आएका संघसंस्थालाई सम्मान लगायतका कार्यक्रम तय गरिएको बताइएको छ ।
जिल्लामा क्रियाशील मानव बेचबिखन विरुद्ध काम गर्दै आएका संघ संस्थाले अहिलेसम्म गरेका काम र बेचबिखनमा परेकाहरुको उद्दार तथा शंकास्पदलाई रोक्ने क्रममा पाइएको अप्ठ्याराबारे प्रमुख जिल्ला अधिकारीलाई अवगत गराउँदै संभव भएसम्म सहजीकरण र समन्वयात्मक भूमिका निर्वाहका लागि आग्रह गरेका थिए ।
साथै मानवबेच बिखनको फेरिंदो प्रकृति, सचेतनाका लागि लक्षित समूह, शंकास्पद व्यक्ति र कागजात लगायतका विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पोखरेलले कानूनमा भएका व्यवस्था, उद्दारका क्रममा च्यानलाइज्ड संस्था वा सरकारी निकाय लगायतका विषयमा पनि जानकार हुनुपर्नेमा जोड दिए । छलफलका क्रममा पोखरेले स्कुल तहदेखि नै भविष्यमा के गर्ने के बन्ने भन्ने करियर काउन्सिलिङ गर्न सके बेचबिखनका घटनामा कमी आउने विश्वास समेत व्यक्त गरे ।
छलफलमा सहायत प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, सरकारी वकिल रुद्रप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मी, माइती नेपालका गोविन्द घिमिरे, कारितास नेपालका देवेन्द्र पोखरेल, मानव अधिकारका लागि महिला एकल महिलाकी अध्यक्ष रेखा अधिकारी, एबीसी नेपाल झापा अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्री, उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष मोहन काजी, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दिपक भारती, दिनेश कटुवाल, मेचीनगरपालिका होमनाथ भट्टराई, सानाहातहरु काँकरभिट्टाका रमेश गुरुङ, शक्ति समूहकी रिना विक, आफन्त नेपालका मातृका गुरुङ, विश्व सेवा संस्थाका इन्द्रबहादुर बस्नेत, ज्योती न्यौपाने रिजाल लगायतको उपस्थिति रहेको थियो ।
झापामा १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस संयुक्त मनाइने

































































































