बिर्तामोड ४ भदौं । हरेक बर्ष नेपालका विभिन्न जिल्लाका प्रमुख शहरहरूमा नेवार समुदायले सास्कृतिक झाँकीका रूपमा प्रदर्शन गर्दै आएको लाखे नाच (जात्रा) लाई बिर्तामोडले यस वर्ष पनि निरन्तरता दिएको छ ।
नेवाः पासा मुना पुचः बिर्तामोड र अर्जुनधारा नेवाः देय दवुको संयुक्त आयोजनामा लाखे नाचको विधिवत शुभारम्भ गरिएको हो । नाग पञ्चमीको दिन अर्जुनधारा–६ स्थित भिमसेन मन्दिरमा विधिवत रूपमा पुजा–आजा गरी लाखेनाचसंगै ठाकठुके नाचको समेत प्रारम्भ गरिएको हो ।
नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सल्लाहकार तथा पूर्व अध्यक्ष गणेश शाक्य, अर्जुनधारा नेवाः देय दवु अध्यक्ष रूद्रमणि श्रेष्ठ, लाखे संरक्षकहरु लक्ष्मी श्रेष्ठ लगायतले मन्तब्य राख्दै नेवार समुदायको सांस्कृतिक पर्वमा लाखेको महत्वबारे प्रष्ट्याएका थिए । कार्यक्रम संचालन भिमसेन मन्दिरका अध्यक्ष प्रभात मानानधर गरेको थिएँ ।
सांस्कृतिक झाँकी, जातीय संस्कार संरक्षण गर्ने उद्देश्यले मुना पुचःले हरेक बर्ष बिर्तामोडमा लाखे नाच प्रदर्शन गर्दै आएको छ । पुचःले यसबर्ष एक महिनाअघि देखी लाखे नाच संगसगै ठाकठुके नाचको प्रशिक्षण कार्यक्रम चलाएको थियो । पुचःले आयोजना गरेको प्रशिक्षणमा गौरादह र अर्जुनधारा नेवाः देय दवुले लाखे टिमलाई प्रशिक्षण लिएको अध्यक्ष दिनेश श्रेष्ठले बताए । लाखे नाच तथा जात्रा शुुभारम्भ तथा कार्यक्रममा नेवाःबन्धुहरु आफ्नो जातीय भेषभुषामा सहभागी भएका थिए ।
नाग पञ्चमीको दिनदेखि विधिवत रूपमा उदघाटन शुरू गरी शुभारम्भ गरिने यो साँस्कृतिक झाँकी तथा नाच प्रदर्शनी कतै कृष्ण जन्माष्टमीको मध्यराति १२ बजे विधिवत् रूपमा बिसर्जन गर्ने चलन छ । यद्यपी बिर्तामोडमा भने नवमीका दिन कृष्ण मन्दिरमा बिसर्जन गरिने मुना पुच अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
लाखे नाचसगै यस पटक ठाकठुके नाच पनि प्रदर्शन गरिएको छ । नेवार समुदायले नाच्ने महत्वपूर्ण ठाकठुके नाच भने बिर्तामोडमा यसै वर्षदेखि प्रदर्शन शुरु गरिएको हो । यो नाचमा नेवार समुदायका महिला र पुरुषले गीतको भाकामा डन्डीको सहायताले नाच्दै गीतको भाका अनुसार दुईजनाले आफूसंग भएका डण्डीलाई ठ्याक ठ्याक पार्छन् ।
बिर्तामोडमा नेवार समुदायको महत्वपूर्ण लाखे जात्रा शुरु

































































































