भद्रपुर । भद्रपुर १० स्थित विपि चौकमा झण्डै दुई वर्षयता सञ्चालनमा रहेको उत्तरदायित्व ऋण तथा बचत सहकारी संस्था विना इजाजत निर्वाध सञ्चालनमा रहेको पाइएको छ ।
साइन बोर्डमा स्थापना २०७० लेखेर टाँगिएको सहकारीको मुख्य कार्यालय कहाँ छ ? अनि सहकारीको जिम्मेवार व्यक्ति को हो ? भन्ने सूचना समेत दिन नसक्ने कर्मचारीको भरमा सयौं स्थानीयबाट रकम संकलन गर्दै आएको सहकारीले बचत फिर्ता गर्न नसकेपछि भद्रपुर १० नम्बर वडा कार्यालयले खोजी गर्दा इजाजतको प्रमाण नपाइएको हो ।
स्थानीय सरकारसित कुनै अनुमती लिएको नपाइएपछि भद्रपुर सहकारी शाखा प्रमुख नेत्र पोखरेल तथा भद्रपुर १० का वडा सचिव मनकुमार डाँगीको टोलीले कार्यालयमै गएर कागजपत्र माग्दा त्यहा रहेकी संकलक कर्मचारीले केही पनि देखाउन नसकेको वडा सचिव डाँगीको भनाई छ । उनका अनुसार शुक्रबार १० बजेभित्र सम्पूर्ण कागज पत्र लिएर वडा कार्यालयमा आउन संस्थाका व्यवस्थापकलाई जानकारी गराइएको छ ।
पछिल्लो दुई महिनायता बचतकर्ताले बचत रकम माग्न थालेपछि पुराना संकलक कर्मचारी काम छोडेर अन्यत्रै गएका छन् भने नयाँ कर्मचारीका रूपमा एक जना संकलक देखिए पनि अन्य जिम्मेवार व्यक्ति नभेटिदा अधिकांस बचतकर्ताको रकम फिर्ता हुन नसकेको पीडितहरूको गुनासो छ ।
डेढ वर्षयता टोलटोलमा रहेका बेरोजगार तथा आर्थिक रूपमा कमजोर रहेका व्यक्तिलाई राम्रो तलव दिने बहाना बनाएर आफन्त तथा छरछिमेकीलाई सदस्य बनाउन लगाई रकम संकलन गर्दै आएको सहकारीमा तीन महिनायता व्यवस्थापक समेत नरहेको स्थानीयको भनाइ छ । तलव नपाएपछि पूराना संकलक कर्मचारी काम छोडेर अन्यत्र गइसकेकाले उनीहरूको भरमा रकम जम्मा गर्ने बचतकर्ताको बचत रकम फिर्ता हुन नसकेको पीडितको गुनासो छ । सहकारीको आधिकारिक व्यक्ति नभेटिनु, व्यवस्थापक समेत तीनमहिनादेखि संस्थामा नहुनु र पुराना कर्मचारीले समेत काम छाडेपछि बचतकर्ताको रकम जोखिममा परेको देखिन्छ ।
उत्तरदायित्व सहकारी भद्रपुरमा विना इजाजत सञ्चालनमा रहेको खुलासा, बचतकर्ताको रकम जोखिममा

































































































