इन्दु पूर्वेली
विर्तामोड । मानिस जन्मन्छ र मर्छ यो प्राकृतिक नियम हो । प्रकृतिको यो शास्वत नियमको अनुबन्धभित्र बाँचेको जीवनमा मानिसले के गर्यो –त्यही उसको परिचय हो । सामान्य जीवन जियो ऊ जन्मन्छ र मर्छ, कसैको स्मृतिमा रहँदैन । तर जीवन–मृत्युबीचको समयमा विशिष्ट कर्म गर्ने मानिस जन्म–जन्मान्तरसम्म बाँचिरहन्छ, भौतिक शरीर यो दुनियाँमा नरहेपनि उसको यस र कीर्तिले सर्बदा उसलाई बचाउँछ । हो, वी.पी. अर्थात विश्वेश्वरप्रसाद कोइराला त्यही ब्यक्ति हो–जो नेपाली राजनीति र साहित्य क्षेत्रमा जीवनभर गरेका विशिष्ट कर्मकै कारण भौतिक शरीर विलय भएको ४१ बर्षसम्म बाँचिरहनु भएको छ र युगयुगान्तरसम्म बाँचिरहनु हुनेछ ।
राजनीति र साहित्य दुई फरक विधा हुन् । राजनीतिमा साम–दाम दण्ड–भेद सबै प्रयोग हुन्छन् । यहाँ माया, करुणा, दया भन्दा बढी आफ्नो लक्षमा पुग्नका लागि कठोरता अपनाइन्छ । लोभिपापी दुनियाँमा आफ्नो स्वार्थ मिल्यो भने कहिले–काँही कुनै नेतृत्वले आफ्नो लक्ष विर्सन्छ, सत्ता र शक्तिका लागि निरन्तर दौडन्छ, अनि सत्ता प्राप्त हुनासाथ आफैले उठाएका मुद्दाहरुलाई विर्सन्छ, सत्ता र शक्तिका लागि आत्मसमर्पण गर्छ, अहिले यस्तै नेतृत्वको बढी बोलवाला छ । यसरी समर्पण गर्नेको यश र कीर्ति सम्भवतः उसको भौतिक शरीरसँगै विलय पनि हुन्छ । तर वी.पी. त्यस्ता ब्यक्ति हुन्–आफू र आफ्नो दल नेपाली कांग्रेसले उठाएको प्रजातान्त्रिक समाजवादको विचारबाट कहिल्यै पछि हट्नुभएन र नै उहाँको नाम जुग–जुगसम्म श्रद्धाका साथ लिने नाममा दरियो ।
साहित्यमा विश्वेश्वरप्रसाद कोइराला र राजनीतिमा वी.पी. कोइराला । प्रजातन्त्रकै लागि संघर्षरत कृष्णप्रसाद कोइाराला र दिब्या कोइरालाका साइला सन्तान वी.पी.को जन्म वि.सं. १९७१ भदौ २४ मा भारतमा भयो । जतिवेला उहाँका बुवाआमा राणा शासनका विरुद्धमा लागेकै कारण निर्वासित जीवन विताइरहेका थिए । भारतमै शिक्षाआर्जन गर्नुभएका बी.पी. मा भारतमा चलिरहेको ‘स्वतन्त्रता आन्दोलन’को गहिरो प्रभाव पर्यो । सोही आन्दोलनका क्रममा सन् १९४२ मा पक्राऊ परी हजारीबाग जेलमा लगभग तीनमहिना जेल जीवन बिताउन बाध्य वी.पी.ले भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण, राममनोहर लोहियालगायतका नेताहरूको सामिप्यता प्राप्त गर्नुभएको थियो ।
बाल्यावस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील र महत्वाकांक्षी स्वभावका बीपी कोइराला बिसौँ शताब्दीको पश्चिमी स्वतन्त्रता, मानवीय स्वतन्त्रता, मानवाधिकारबाट प्रभावित हुनुहुन्थ्यो भने महात्मा गान्धीको अहिंसावादी सिद्धान्तबाट पनि अभिप्रेरित हुनुहुन्थ्यो । भारतीय स्वतन्त्रता आन्दोलनकै क्रममा वि.सं. १९८६ मा तीन महिनासम्म जेल परेपछि राजनीतितर्फ प्रभावित उहाँमा भारत अंग्रेजहरुबाट स्वतन्त्र भएसँगै नेपालमा पनि राणा शासनको बहिर्गमन सम्भव छ भन्ने निष्कर्षसहित भारतमै बसेर पनि नेपालको जहानिया राणा शासनका विरुद्ध संगठन गर्न शुरु गर्नुभयो ।
वि।सं १९८८ मा उच्च माध्यमिक शिक्षा बनारसबाट पुरा गर्नुभएका वी.पी.ले बनारस हिन्दु विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक, कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभयो । दोस्रो विश्वयुद्धको समयमा उहाँलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरेको थियो । त्यहाँबाट छुटेपछि उहाँले वि।सं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभयो । जुन अहिले नेपाली कांग्रेसको रुपमा स्थापित छ ।
वि.सं. २००३ सालमा विराटनगरमा मजदुर आन्दोलनको नेतृत्व गरेका कारण एकबर्षसम्म कैद भुक्तान गरेपछि २००७ सालमा राणा शासनको अन्त्यका लागि वी.पी.कै नेतृत्वमा सैनिक संघर्ष शुरु भएको थियो । वी.पी. गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर राणा लगायत उहाँका समकालीन नेताहरुको नेतृत्वमा तत्कालीन नेपाल प्रजा परिषद र नेपाली कांग्रेसको संयुक्त आन्दोलनले अन्ततः राणा शासनको अन्त्य गरेर नेपालमा प्रजातन्त्र स्थापना गर्यो । मोहन शमशेर जबराको नेतृत्वमा तत्समयमा बनेको नयाँ सरकारमा वी.पी. गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले ९ महिना गृहमन्त्री चलाएपछि अन्तिम राणा प्रधानमन्त्रीको बर्खास्तीसँगै सरकार छाडेर संगठन विस्तारमा लाग्नुभएका कोइारालाले २०१५ सालमा भएको आम निर्वाचनमा आफू नेतृत्वको पार्टी नेपाली कांग्रेसलाई १०९ सिटमध्ये ७४ स्थानमा विजयी गराउन सफल हुनुभयो ।
नेपालका नागरिकको अवस्था हेरेर तत्कालीन अवस्थामा हरेक नेपालीको घरमा एकहल गोरु, एउटा दुहुना गाई, अनि शिक्षा र स्वास्थ्यमा पहुँचको परिकल्पना गर्नुभएका कोइराला लामो समय सत्तामा रहन पाउनुभएन । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरी तत्कालीन सरकारलाई बर्खास्त गरेर प्रजातान्त्रिक आन्दोलनमा लागेकाहरुलाई खोजी–खोजी जेल सजाय दिने क्रम शुरु भयो । वी.पी. गणेशमान लगायतका थुप्रै नेता–कार्यकर्ताहरु जेल परे भने थुप्रै प्रजातन्त्रवादी नेता–नेतृहरु सर्वश्वहरण एवं निर्वासनको सजाय भोग्न बाध्य भए । जसमा झापाका पनि सि.के. प्रसाई, लिला थपलिया, हर्षकुमारी थपलिया, फत्तेबहादुर बुढाथोकी, रणकेशर बुढाथोकी, दलकृष्ण श्रेष्ठ लगायतलाई सर्वस्वहरणसहित निर्वासनको सजाय दिइएको थियो । आफ्नो प्रधानमन्त्रीत्वकालमा बिर्ता उन्मुलन गरी ‘जोत्नेको जग्गा हुनुपर्छ’ भनी भूमिसुधार जस्ता क्रान्तिकारी परिवर्तनकारी कार्यक्रमहरु ल्याउनुभएका वी.पी.लाई ८ बर्षसम्म निरन्तर जेलजीवन विताएपश्चात स्वास्थ्य समस्या देखिएपछि २०२५ सालमा निर्वासनमा जान दिइएको थियो । उहाँ ८ बर्ष भारत बसेपश्चात २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो ।
भारतमा तत्कालीन समयमा इन्दिरा गान्धीको उच्च राजनीतिक प्रभाव थियो । स्वतन्त्र सिक्किम राज्यलाई भारतमा गाभ्न सफल भएपछि विस्तारबादी नीति नेपालमाथि पनि पर्ने खतरा बढेको समयमा देशमा संकट पर्दा राजनीतिक आस्था र विचार नमिल्ने शक्तिहरुसँग पनि सहकार्य गर्नुपर्छ भन्ने उद्देश्यसहित उहाँ नेपाल फर्कनुभयो । देशद्रोह, राजकाजसहितका विभिन्न मुद्धाहरु उहाँ विरुद्ध लगाइएपनि अन्तर्राष्ट्रिय दबाबका कारण २०३४ सालमा तत्कालीन श्री ५ को सरकारले सबै मुद्धाहरु फिर्ता लिएको थियो ।
बुलेटबाट भन्दा ब्यालेटबाट प्राप्त सत्ता चलाउनुपर्छ भन्ने दृढ संकल्पसहित जीवनभर प्रजातन्त्रकै लागि संघर्षरत उहाँको क्यान्सर रोगका कारण २०३९ साउन ६ गते निधन भएको थियो ।
राजनीतिमा वी.पी. र साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामले परिचित उहाँका थुप्रै साहित्यिक कृतिहरु छन् । तर साहित्यमा भन्दा बढी उहाँको चर्चा राजनीतिमा नै हुने गरेको छ । नेपालकै स्थानीय परिवेश, परिवार, समाज, समाजका विशेषता एवं मान्यता, संस्कार विभिन्न जातीय संस्कृतिभित्र यौन मनोविज्ञानको प्रयोग गर्दै विद्रोहको भावना बोल्नु र मुख्य गरी नारीहरुले आफ्नो अस्तित्वको लडाई गरेका कथाहरु उहाँका लेखनका प्राथमिकताका विषय हुन् । राजनीतिमा समाजवादी चिन्तन राखेर सबैको समान आर्थिक हैसियत भएपछि मात्रै पुजीवादतर्फ जानुपर्छ भन्ने सैद्धान्तिक दृष्टिकोण उहाँका साहित्यिक कृतिमा प्रसस्तै भेटिन्छन् । यसअर्थमा तत्कालीन शासन र सत्ताका विरुद्ध सिधै संघर्ष गर्न कठिन तत्क्षणमा साहित्यमार्फत पनि राजनीतिक ऊर्जा र चेतना प्रवाह गर्न उहाँका कृतिहरु साधनसावित छन् भन्दा अत्युक्ति हुँदैन ।
हुनतः कतिपयले वी.पी.का साहित्यिक कृतिहरुलाई फ्रायडवादी मनोविज्ञानको कसीमा राखेर विश्लेषण गरेको पनि पाइन्छ । तर उहाँका सिर्जनामा देखिएको नयाँ परम्परा, नयाँ आयाम, सिर्जना शैली, सरलता र सरसतालाई ‘विश्वेश्वरबाद’ कै रुपमा चर्चा गरेर विश्वसाहित्यमा नेपाली साहित्यको उचाई थप्नु उचित हुनेछ ।
उहाँका एउटी नारीको जीवनमा आउने तीन मोडहरु प्रेमिका, पत्नी र आमाको भूमिका निर्वाह गर्न संघर्षशील महिलाको कथा तीनघुम्ती, अन्तर संस्कृतिबीचको सम्मिलन सुम्निमा, पत्नी र प्रेमिका दुवैको अस्तित्वलाई स्वीकार गरिएको नरेन्द्र दाई, युद्धको परित्याग र शान्ति स्थापनाको सन्देश प्रवाह गर्ने मोदी आइन्, जर्मन तानाशाहको आधारमा लेखिएको हिटलर र यहुदी, प्रेमको त्रीकोणात्मक विश्लेषणसहित यौन मनोविज्ञान बोलेको बाबु, आमा र छोरा आदि उपन्यास एवं चर्चित कथा दोषी चश्मा, श्वेतभैरवी, लगायतका कृतिभित्र देखिने मुख्य एवं सहायक पात्रहरुको संघर्षको कथाले आर्थिक समानता, यौन स्वतन्त्रता, सामाजिक कुसंस्कारको अन्त्य, प्रशासनिक काममा खेप्नुपर्ने शास्तीको अन्त्य, स्थायी शान्ति र समुन्नत समाजकै परिकल्पना छन् ।
नेपाली राजनीति एवं साहित्यिक क्षेत्रमा श्रद्धाका साथ लिइने वी.पी. कोइरालाको सिद्धान्त, विचार र कृतिहरु मन नपराउने ब्यक्ति नगण्य होलान् शायद । तर उहाँको जीवन पढेर, अनुभव गरेर, संघर्ष बुझेर, सन्देश सुनेर एवं संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गरेर राजनीति गरिदिने सच्चा नागरिक पाउने हो भने नेपालमा समाजवाद कार्यान्वयन हुन समय लाग्दैन । ४१ औं स्मृति दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ।
वी.पी. एक, ब्यक्तित्व अनेक

































































































