बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ को वडा सचिवको जिम्मेवारी तत्कालका लागि नगरपालिकाकै कर्मचारीलाई दिने भएको छ ।
तत्कालिन वडा सचिव विमल पोखरेलको कार्य शैलीप्रति वडाध्यक्षले असन्तुष्टि जनाएपछि वडा सचिवको रुपमा नगरपालिकाले नगरपालिकामै कार्यरत पाँचौं तहका कर्मचारी पठाउन लागेको हो ।
अर्को विकल्प तयार नभइञ्जेल नगरपालिकाकै कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिने तयारी भएको निमित्त प्रशासकीय अधिकृत तिलचन भण्डारीले जानकारी दिए । ‘प्रमुख प्रशासकीय अधिकृत अहिले विदामा हुनुहुन्छ, उहाँ आएपछि अर्को विकल्प खोज्ने गरी हाललाई नगरपालिकाकै पाँचौ तहको कर्मचारी वडा सचिवको रुपमा खटाउने तयारी छ,’ उनले भने ।
पोखरेल कार्यालय समयमा नआउने, कार्यालय समयभरि नबस्ने र अधिकांश समय बिदा बस्ने गर्दा वडाबासीको काममा समस्या भएको भन्दै वडाध्यक्ष रोहित प्रसाईले असन्तुष्टि जनाएका थिए । वडा सचिवको बिषयमा पटक पटक नगरपालिकामा जानकारी गराउँदासमेत कुनै सुनुवाई नभएको भन्दै विरोध स्वरुप दुई दिन वडाको कामसमेत नगरपालिका परिसरबाटै गरेका थिए । नगरपालिकाले अर्को कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर पठाउने सहमति भएपछि वडाध्यक्ष प्रसाई वडा कार्यालय फर्किएका थिए ।
बिर्तामोड-५ मा तत्काललाई नगरपालिकाकै कर्मचारी पठाईने

































































































