बिर्तामोड । पहिचान पक्षधरहरु एकठाउँमा उभिने अभियानमा लागेका पहिचानवादी राजनीतिक दल तथा संग संगठनहरु संगठित हुन थालेका छन् । त्यही अभियान अन्तरगत बिर्तामो आयोजित पत्रकार सम्मेलनमार्फत नागरिक उन्मुक्ति पार्टी (एकिकृत) गठन भएको औपचारिक घोषणा गरिएको छ । बुधबार झापाको बिर्तामोडमा पहिचान पक्षधर घटकहरुको एकताबाट सो पार्टी गठन भएको घोषणा गरिएको हो ।
नागरिक उन्मुक्ति पार्टी (नाउप), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम), कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तिकरणका लागि जागरण अभियानबिच औपचारिक रुपमा एकता भएर नागरिक उन्मुक्ति पार्टी (एकिकृत) भएको जानकारी दिइएको हो । गत वैशाख १८ गते पार्टी एकिकरण गर्ने बिषयमा नाउपका अध्यक्ष रञ्जिता श्रेष्ठ र संलोरामको तर्फबाट अध्यक्ष ज्ञानबहादुर गुरुङबिच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । पार्टी संरचनाका विभिन्न कुराहरु समेट्दै १० बुँदे सम्झौता सम्झौता भएको बताइएको छ ।
आलङ्कारिक राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई शासकीय स्वरुप मानेको नाउप (एकिकृत) को झण्डा भने प्रदेश संख्या निर्धारणको आधारमा प्रदेश प्रतिकको रुपमा ताराहरु रहने गरी नयाँ झण्डा निर्माण गर्ने कार्य विधान मस्यौदा समितिले टुङ्गो लगाइने पार्टीको सचिवालय सदस्य धनबहादुर पङ्गधाकले जानकारी दिए । चुनाव चिन्ह ढकिया हुने र पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगिकार गर्ने जनाइएको छ ।
पार्टीको केन्द्रिय अध्यक्ष साविक नाउपका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने र संलोरामको तर्फबाट साविक अध्यक्ष ज्ञानबहादुर गुरुङ संघीय अध्यक्ष रहने सहमति भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । केन्द्रिय कमिटी करिब २ सय हाराहारीको बन्ने महासचिव दिलकुमार लावतीले बताए ।
पहिचानको मुद्धा कमजोर बनाउन विभिन्न शक्तिको आडमा षड्यन्त्र गरियो भन्ने आक्षेप लागिरहेको बेला संघीय अध्यक्ष गुरुङले अन्य पहिचान पक्षधर घटकहरुसँग मिलेर ठूलो पार्टी बनाउँदा मुद्धा कसरी कमजोर भयो रु भन्दै प्रतिप्रश्न गरे । पहिचानको पक्षमा विभिन्न व्यक्तिहरुले बलिदान गरेर निर्माण भएको नाउप, लामो समयदेखि पहिचानको लागि संघर्ष गरिरहेको कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तिकरणका लागि जागरण अभियानबिच एकता भएको उनले बताए ।
एक्ला एक्लै संघर्ष गर्दा मुद्धा कमजोर बन्दै गएको र जनमत घट्दै गएको बताउँदै गुरुङ्ले पहिचान पक्षधरहरु एक ठाउँमा उभिएको जानकारी दिए । आफुहरु नागरिक उन्मुक्तिमा गएको नभई पहिचान पक्षधरहरुसँग एकता गरेको बताए । ‘नागरिक उन्मुक्तिमा गयो भन्दै होलान् तर पहिचान विरोधी नेपाली कांग्रेस, एमालेसँग गएका होइनौँ,’ उनले भने । पहिचान विरोधीहरुसँग मिल्न नसक्ने तर पहिचान पक्षधरहरुसँग एकता गर्दै जाने गुरुङ्को भनाई छ ।
‘कोशी’ नाम नेपालीहरुको मौलिक नभएको र कोशीसँग कुनै पहिचान नजोडिएको भन्दै गुरुङ्ले प्रदेशको नाम कोशी हटाउन शसक्त आन्दोलन गर्ने जानकारी दिए । ‘अझै लाजेहाङ बन्न तयार छौँ,’ उनले भने, ‘प्रदेशको नाम कोशी खारेज नभए र हाम्रो बलिदानीलाई निरन्तर बेवास्ता गरिए देश सग्लो रहँदैन । धनबहादुर पन्धाकले सहजीकरण गरेका थिए ।
पहिचानको मुद्धा बलियो बनाउन एक हुँदै पहिचानवादीहरु

































































































