भद्रपुर । ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा ६० जना ज्येष्ठ तथा असल संरक्षक बुहारीलाई सम्मान गरिएको छ ।
ज्येष्ठ नागरिक समन्वयन समिति भद्रपुरको आयोजनामा बुधवार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाबाट २/२ ज्येष्ठ जना महिला/पुरुषसहित ४ जना आमा/बुवा र २ जना असल संरक्षक बुहारी गरि ६० जनालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गणेश पोखरेल लगायतका अतिथिहरुले ज्येष्ठ नागरिकलाई लगाउने कपडा, छाता प्रदान गर्दै सम्मान गरिएको थियो । त्यस्तै ज्येष्ठ सदस्यको उत्कृष्ठ सेवा गरेको भन्दै असल बुहारीलाई कुर्था सुरुवालको कपडा सहित प्रशंसा पत्र तथा यातायात खर्च समेत प्रदान गरेर सम्मान गरिएको बताइएको छ ।
समिति अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, उप प्रमुख राधा कार्की, ज्येष्ठ नागरिक समिति वडा नं. ९ का संयोजक ईश्वर पोखरेल, समिति झापाका कार्यवाहक जिल्ला अध्यक्ष ईश्वरी तिमसिना, राजेन्द्र चापागाई , भद्रपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राम दाहाल लगायतले शुभकामना मन्तब्य दिदै ज्येष्ठ माता पितालाई सबैले सम्मान गर्नु पर्नेमा जोड दिए । हरिकिसोर आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव शंकर गौतमले गरेका थिए ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा भद्रपुरका ज्येष्ठ नागरिकलाई सम्मान

































































































