बिर्तामोड । सम्पादकबाट यौन दुव्र्यवहारमा परेको सामाजिक सञ्जालमार्फत खुलासा गर्दैै न्याय मागीरहेकी झापाकी पीडित महिला सञ्चारकर्मीलाई नारी सञ्चार गृह झापाले न्यायिक लडाई लड्न अपिल गरेको छ ।
आफू कार्यरत मिडिया हाउसमा पुर्नबहाली नहुने अडान राख्दै पारिश्रमिक दिलाई दिन गरेको माग पूरा गराउन सफल भएकोमा सम्बन्धित सञ्चार गृहलाई धन्यवाद दिंदै पीडितलाई यौनहिंसाको पीडा बोकेर नबस्न सुझाएको हो ।
संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा संस्थाका निवर्तमान, पूर्व अध्यक्षहरुको उपस्थितिमा मंगलबार कार्यसमिति सम्पन्न कार्यसमिति बैठकले नारी सञ्चार गृहसहितको पहलमा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, पत्रकार महासंघ प्रदेश र तत्कालै पारिश्रमिक र काम छोड्दै गर्दा पत्रकारले प्राप्त गर्ने राहत रकम तत्काल उपलब्ध गराउन भूमिका खेल्ने सबै र सम्बन्धीत सञ्चार संस्थालाई धन्यवाद ज्ञापन गरेको छ ।
महिला पत्रकार तथा समग्र महिलाहरुमाथि हुने हिंसाजन्य घटना र हक अधिकारका लागि छुट्टै ढंगबाट सदैव आवाज उठाउँदै आएको नारी सञ्चार गृहको बैठकले पीडितको माग अनुसार नेपाल पत्रकार महासंघ समक्ष गरेको माग उपर यथासंभव चाँडो निर्णय गरेर पीडितलाई न्यायको अनुभूति दिलाउन समेत माग गरेको बताइएको छ ।
साथै पत्रकारिता क्षेत्रमा आउँदै गरेका नयाँ पिंढीलाई सञ्चार माध्यममा हुने हिंसाका विषयमा भिडियो मार्फत दिएको सचेतनाको सन्देशबाट नयाँ पिंढीलाई सतर्क हुन र हिंसाको अनुभूति हुने वित्तिकै घटना लुकाएर नबस्न आग्रह पनि गरेको छ ।
साथै विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा बसेको बैठकले लोकतन्त्रको संस्थागत विकासका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको ठहर गर्दै सबैमा शुभकामना समेत व्यक्त गरेको छ ।
पीडित महिला सञ्चारकर्मीलाई न्यायिक लडाई लड्न सञ्चार गृहको अपिल

































































































