विराटनगर । प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्ष (आर्थिक वर्ष २०८०/०८१) मा कोशी प्रदेशको बजेटको आकार घट्ने संकेत गरेका छन् । प्रदेशको बजेट तथा कार्यक्रमबारे विभिन्न सरोकारवालाहरुसंग छलफलमा रहेका मुख्यमन्त्री कार्कीले पत्रकारहरुसंगको छलफलमा यस्तो संकेत गरेका हुन् ।
राजश्व संकलनमा कमी हुनु, नेपालसहित विश्वमा देखिएको आर्थिक मन्दी लगायतका कारणले बजेटको आकार घट्ने संभावना छ मुख्यमन्त्री कार्कीले भने–‘यद्यपी सरकारले गर्नैपर्ने कामहरु भने गर्छ ।’
सो क्रममा उपस्थित पत्रकारहरुले जनताले अनुभूत गर्ने खालका काम गर्न सुझाव दिएका थिए । दीर्घकालिन महत्व राख्ने र गरेका कामले जनतालाई प्रत्यक्ष आर्थिक पाटोसंग जोड्न सकिने खालका काम गर्नुपर्नेमा जोड दिंदै पत्रकारहरुले देखिने काम गर्न अनुरोध गरेका हुन् ।
सो क्रममा बोल्दै मुख्यमन्त्री कार्कीले जनताको बुझाई खाली बाटो र पुलमा मात्र भएको बताए । बाटो र पुल निर्माणलाई मात्र विकास सम्झिएका छन्, आवश्यकता हो कि होइन, कति आवश्यक हो भन्ने कुरातिर जनताको ध्यानै नगएको बताउँदै भने–नेपालको सन्दर्भमा बाटो र पुल मात्रै सबै थोक हो भन्ने बुझाइ नै गलत छ ।’
बजेटको आकार घट्ने मुख्यमन्त्रीको संकेत

































































































