Homeसमाचारसमाचारतिहारसंग जोडिएका ऐतिहासिक प्रसङ्ग र जीवनसंग जोडिएको तिहार

तिहारसंग जोडिएका ऐतिहासिक प्रसङ्ग र जीवनसंग जोडिएको तिहार

इन्द्रप्रसाद कटुवाल
यो ब्रह्माण्ड लगायत यसमा पाइने जीवहरुको सृष्टिकर्ता परमात्मा नै हुन् भन्ने वैदिक सनातन धर्मले मार्ग निर्देश गरेको पाइन्छ । यसरी परमात्माद्वारा सृष्टि गरिएका जीवहरु मध्ये मानिस नै इश्वरीय चेतनाको संवाहक सावित भएको छ । त्यसैले जहाँ प्रकृति छ त्यहाँ प्राणीहरु छन् र प्राणीहरुमा आ–आफ्नै प्रकारका शारीरिक वा दैहिक विशेषता रहेका हुन्छन् । चेतनाका दृष्टिले मानव जीवन नै इश्वरत्व प्राप्त गर्न सक्ने जीवन भएको हुँदा उसका हरेक गतिविधिले विभिन्न परम्पराको शुरुवात गरेको पाइन्ट भने यस्ता परम्पराहरु दैवी तथा धार्मिक विधानमा आधारित रहेको पाइन्छ र यस्ता परम्परा मध्ये मानिस आफूले मानिआएका चाडपर्वहरु पर्दछन् । विभिन्न धर्मावलम्बीहरुले आफ्नो मान्यता अनुसार मानी ल्याएका चाडपर्व मध्ये यहाँ हिन्दू वैदिक सनातन धर्मावलम्बीहरुले र किराँत धर्मावलम्बीहरु समेतले ह्ृदयतः मानिआएको तिहार पर्वको ऐतिहासिक प्रसङ्ग र जीवनमा यसको प्रभावबारे संक्षेपमा प्रकाश पार्ने प्रयास गरिएको छ ।
सर्वप्रथम शुरु गरौं तिहार पर्वको ऐतिहासिक प्रसङ्गबाट । यो प्रसङ्ग पृथ्वीमा शासन गर्ने कुनै राजा महाराजाहरुबाट शुरुवात भएको नभै पौराणिक कालका देवता तथा राजा महाराजाहरुसंग जोडिएको पौराणिक आख्यानका आधारमा चलेको पाइन्छ । यस अनुसार पनि फरक प्रसङ्गहरु तिहारको परम्परासंग मिल्दो–जुल्दो रहेको पाइन्छ । त्यस अनुसार–भगवानको वामन अवतार र राजा बलिको चरित्रमा आधारित प्रसङ्ग एवं यमराज र उनकी बहिनी यमुनसंगको भेटघाट तथा सूर्यकी पत्नी संज्ञा र छायाँको छाँया प्रसङ्ग बारेका चर्चाले तिहार पर्वको प्रचलनलार्ई छोएको पाइन्छ । यी मध्ये पहिले चर्चा गरौं वामन अवतार र वलि राजाको दानशीलताको प्रसङ्गबाट ।
एकपटक स्वर्गको सम्पूर्ण राज्यमा दानव राज वलिको अधिकार थियो । देवमाता अदितिका गर्भबाट भगवानले जन्म लिएर वलिराजासंग वामन रुपमा गएर तीन पाऊ भूमि दान माग्दा वलिले दिन मञ्जुर भएर तीन पाऊभूमि नापेर लिन भने । तदन्तर भगवान वामनले तीन पाऊ भूमि नाप्ने क्रममा एक पाउले पृथ्वी र दोस्रो पाउले स्वर्ग ढाकी दिए र तेस्रो पाउ राख्ने ठाउँ नपुग्दा वलिले आफ्नो शिरमा नै पाउ राख्न दिएर आत्म समर्पण गरिदिए । वलिको यस भक्तिको प्रभावले भगवानले सुतल लोक राज्य दिएर आफू त्यही नै पहराको रुपमा रहनु भयो । भगवान विष्णु सुतल लोकमा रहिरहँदा लक्ष्मी माताले वलिराजासंग वहिनीको रुपमा भेट गर्दा वलि खुशी भएर लक्ष्मीलाई उनको माग अनुसार भगवान विष्णुलाई पहरेदारीको कामबाट मुक्त गरी लक्ष्मीका साथ पठाइ दिनु भयो भने माता लक्ष्मीले पनि वलिलाई निष्कण्टक राज्य र ऐश्वर्यको आशिर्वाद दिनुभयो ।
हो, यसै प्रसङ्ग अनुसार लक्ष्मीमाता सुतल लोक गएको दिन र वलिले बहिनीको रुपमा उनको पूजा गरेको दिन यही लक्ष्मी पूजाको अवसर भएकाले जस्ले लक्ष्मी पूजाका दिन लक्ष्मीको पूजा गरी दान माग्न आउनेलाई दान दिन्छ त्यसले सुख, सम्पत्ति र ऐश्वर्य पाउँछ भन्ने विश्वास गरिन्छ । त्यसैले त लक्ष्मी पूजाका राति भैलो खेल्न आउने दिदी–बहिनीहरु पनि अद्यावधि यस्तै आशिर्वाद दिंदै भन्छन्–‘जसले दिन्छ मुरी….. उसको सुनको धुरी… हो औंसी बारो गाई तिहारो भैली… ।’ यस्तै यस्तै । यसरी यो प्रसङ्ग तिहारको परम्परासंग हुबहु मिल्न गएको छ ।
दोस्रो प्रसङ्ग अनुसार तिहार पर्व, यमराज र यमुना सूर्यकी पत्नी संज्ञाका जुम्ल्याहा सन्तान मानिन्छन् । यमराजले व्रह्माजीको कठोर तपस्या गरी पितृलोकको राज्य, लोकपालको पद, र धर्म अधर्मको फैसला गर्ने अधिकारी देवताको पद पाउनु भएको र बहिनी यमुना भने पृथ्वीमा नदीको रुपमा प्रवाहित हुनु भयो । त्यसैले दाजु र बहिनीको धेरै काल भेट नभएको हुँदा र एकपटक यमराजको पदीय जिम्मेवारीले दिक्क लागेकाले पितृलोकबाट पृथ्वीलोकमा झरी बहिनी यमुनासंग भेट गर्ने विचार गर्नुभयो । यमराजलाई यसरी वैराग्य आउनमा उनकी सौतेनी आमा छायाँको पक्षपातपूर्ण व्यवहार पनि एक कारण रहेको मान्न सकिन्छ । यसरी यमराज बहिनीसंग भेटेर आफ्ना मन बहलाउने क्रममा बहिनीलाई म आउँदै छु है बहिनी ! भनेर सूचनाका रुपमा उनका अनुचरका रुपमा, काग, कुकुर, गाई र गोरुलाई पहिले क्रमैसंग पढाउनु भयो । यसरी काग कुकुर, गाई र गोरु आउँदाका चार दिन र पाँचौ दिन यमराज स्वयं बहिनी यमुनाको घरमा गएको प्रसङ्गबाट नै यी पाँचदिनहरुलाई यम पञ्चक भनिएको हो । यो यम पञ्चक कात्तिक कृष्ण त्रयोदशीदेखि कात्र्तिक शुक्ल द्वितीयसम्म रहन्छ । स्मरण रहोस् लक्ष्मी पूजा स्वाती नक्षत्र, गोवद्र्धन पूजा चित्रा नक्षत्र र भातृ पूजा अनुराधा नक्षत्रले युक्त रहेको हुन्छ । यी दिनहरुमा हामी हिन्दू धर्मावलम्बीहरुले महान चाडको रुपमा चाड मनाइने हुनाले पहिलो दिन कागको, दोस्रोदिन कुकुरको र तेस्रोदिन लक्ष्मीमाताको घरघरमा दीप प्रज्ज्वलन गरी सुनचाँदी द्रब्य आदिको पूजा गरी मनाइन्छ भने चौथो दिन गोवद्र्धन पूजाका रुपमा गोरुलाई पूजा गर्ने र पाँचौ दिनमा स्वयं दिदी–बहिनीले दाजुभाइलाई विधिवत ढंगबाट पूजा गरी रङ्गी–विरङ्गी टीका लगाएर मीठा–मीठा भोजन फलफूल र सेलरोटी खुवाइ खुशी राख्ने काम गरिन्छ भने दाजुभाईले पनि वस्त्र तथा यथेष्ट दक्षिणा दिने काम गरिन्छ ।
यसरी यम पञ्चकका पाँच दिन मध्ये लक्ष्मी पूजा देखि भाइ टिकाको रातभर र टीका लगाएर दिनभरसम्म नाच गान देउसी भैलो गरी रौसका साथ यो चाड मनाइन्छ । दशैं पर्व सकिएको लगत्तै तिहारको मानसिकताले सबैका मनमा नयाँ लहरको सृजना गरिदिएको हुन्छ । यस पर्वको नेपाल तथा भारतमा सर्वाधिक सामाजिक, धार्मिक महत्व रहेको छ । स्मरण रहोस् यस पर्वले केही हदसम्म दुःख कष्ट र मानसिक पीडा हटाउन मद्दत गर्छ भने आफ्नी श्रीमती बाहेक आफ्ना लागि सबै दिदी–बहिनी र श्रीमान् बाहेक सबै पुरुषलाई दाजु भाईका रुपमा हेर्नु वा मान्नु पर्छ भन्ने गहिरो सन्देश दिएको छ । अर्कातिर यो चाड भावनात्क पक्षले मानवमा मात्र सिमित नभएर मानवेत्तर हितको रुपमा पनि महत्व राख्दछ ।
त्यसैले जहाँ समाज रहेको हुन्छ त्यहाँ अवश्य परम्परा रहेको हुन्छ र परम्पराभित्र जीवन अडेको हुन्छ । आजकाल परम्परा भित्रका चाडवाड मनाउने क्रममा उछि«ङ्खलता बढ्नुका साथै अर्थ सङ्कलन गर्ने वहाना जोडिन पुगेको देखिन्छ । यस्ता प्रवृत्तिले भने हाम्रा अनमोल संस्कार र संस्कृतिको लोप हुन गई मानव जीवन फोस्रो औ निरर्थक वन्न पुग्ने संभावना प्रवल देखिन लागेको छ ।
अस्तु

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारतिहारसंग जोडिएका ऐतिहासिक प्रसङ्ग र जीवनसंग जोडिएको तिहार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img