अर्जुनधारा। नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीका सभापतिकै कमजोरीका कारण कार्यकर्ता निराश हुनुपरेको बताएका छन् ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले आयोजना गरेको कार्यक्रममा ठूलो पार्टी भएर पनि निराश हुनुपर्ने अवस्था आउनुको कारक सभापति देउवा नै रहेको बताए । सभापतिको गलत निर्णयका कारण गठबन्धन बिग्रिएको उनको भनाई थियो ।
ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद खतिवडाले उम्मेद्वार छनौट गर्ने समयमा पार्टीभित्र नेता, नाता, दाता र भ्राता हुँदै टिकट बाँडिएपछि त्यहीबाट शुरु भएको असन्तुष्टिका कारण पनि कांग्रेसले धेरै ठाउँ पराजय भोग्नुपरेको बताए ।
‘म पनि देउवा लवीभित्रैबाट प्राप्त टिकटले विजय भएको हुँ’ उनले भने, ‘तर, यस्तो अवस्थामा सभापति देउवाको जय गाउनु भन्दा कार्यकर्ता माझ गल्ति भएका कुराहरु खुलेरै भन्न पछि पर्दिन ।’
पार्टीका कार्यकर्तामाझ सांसद खतिवडाले गठबन्धनलाई मजबुद बनाउँदै सरकार निर्माण गर्नुपर्ने बेलामा कांग्रेसभित्र गट र उपगुटको भेला हुनुले पनि समस्या भएको बताउँदै सांसद खतिवडाले भने–‘मन्त्री को बन्ने ? कसका गुटबाट कति हुने ? भन्नेतर्फ लागे’ उनले थपे–‘सभापतिलाई सल्लाह दिनुको साटो सांसदहरु मन्त्री हुन दौरा सुरुवाल सिलाउन कुदेका कारण पनि दुर्घटना हुन पुगेको हो, त्यो बेला महामन्त्रीहरुले पनि खबरदारी गर्न सक्नुभएन ।’
पार्टीका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले पार्टी अझै सुध्रिन बाँकी रहेको धारणा राख्दै भातृ संगठनका पदाधिकारीहरुलाई गोजीबाट पद दिने चलनले नेवि संघ जस्तो सक्रिय संगठन अगाडि बढ्न नसकेको उदाहरण पेश गरे ।
समानुपातिकदेखि वडाध्यक्षसम्म पार्टीले पैसा मागेर पद बेचेको खुलासा गर्दै केन्द्रीय सदस्य खतिवडाले कार्यकर्ताहरु अझै पीडित भएको यथार्थ राख्दै केन्द्रीय समितिको बैठकमा छानविन हुने र सुदृढिकरणका विषयमा आवाज उठाउने बताउदै गर्दै कार्यकर्तालाई आश्वस्त पारे ।
स्थानीय तह पार्टीले जित्दै गर्दा केन्दीयदेखि प्रदेश सरकारसम्ममा पार्टी सहभागि नहुँदा विजयी स्थानीय तहका जनप्रतिनिधिहरुलाई काम गर्न कठिन भएको बताउँदै आलोचना र समिक्षासँगै देश दौडाहमा पार्टीका शीर्षस्थ नेताहरु लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
सुकुम्बासी समस्या राष्ट्रको समस्या भएको उल्लेख गर्दै सुकुम्बासीसँग पैसा लिएर धनीपूर्जा दिने आश्वासन गलत भएको हुँदा सदनमा यसको जोडदार आवाज उठाउने समेत बताए ।

उनले कम्युनिष्टहरुको आलोचना गर्दै अन्तर्राष्ट्रियस्तरबाट कम्युनिष्टको सत्ता अन्त्य हुँदै जाँदा कांग्रेसकै गल्तीका कारण त्यो बेला दुईतिहाइ बहुमत ल्याएको हो । पछिल्लो पटक कम्युनिष्ट टुक्रिए पनि सत्ता सम्हाल्न पुग्नु गट उपगुटकै फाइदा लिएको उनको भनाई थियो ।
पार्टी नगर उपसभापति चतुर्भुज काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा पार्टी झापा जिल्ला सचिव कृष्ण हुमागाई, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई, वडा नं.–३ का वडाध्यक्ष सीताराम भट्टराई, जीवन भण्डारी, शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापा, अधिवक्ता कृष्ण पौडेल, पम्फा विक, रञ्जिता कार्की, विशाल थापा लगायतले स्थानीय तहका समस्याका विषयमा नेतालाई जानकारी गराएका थिए ।
कार्यबाहक सभापति प्रशान्त भण्डारीले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा क्षेत्रका सचेत कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

































































































