रेजिना गौतम
सुरुङ्गा । आइमाई केटाकेटीलाई त पटक्कै टेर्दैनन् । छोरा मान्छे छन् भने चै भाग्छन्–झापा सुरुङ्गाकी एक स्थानीय बृद्धाले घरमा आएका ढेडु (लङ्गुर) धपाउँदाको अनुभव यसरी सुनाइन् ।
सुरुङ्गा बजार उत्तरबाट धनुषकोटी जाने बाटाको पश्चिमतर्फ जंगल छ भने पूर्वतर्फ गाउँ । जंगल र गाउँलाई कालोपत्रे बाटोले छुट्याएको छ । जंगल नजिकै भएका कारण बढीमा हप्तादिनमा लङ्गुरहरु घरमै प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । घरमा पसेर खानेकुरा (मकै) चोरेर लैजाने गरेको उनीहरुको भनाई छ ।
विहिबार समूहमा गाउँ पसेका लङ्गुरले भुटेर खान राखेका मकैका घोगा लगेर बाटो पश्चिममा रहेका सिसौंका बोटमा बसेर तिनै स्थानीयलाई देखाउँदै खाए ।
छिमेकीको घरमा ढेडु पसेको देखेपछि कराउँदै बाटामा निस्केकी स्थानीय एलिसा अधिकारीले भनिन्–‘धेरै हुँदा त कुकुरलाई पनि कहाँ टेर्दा रछन् र ! उनले थपिन–‘कुकुरले झम्टिन खोस्दा कुकुरलाई आक्रमण गरौंला जस्तो पो गर्दा रछन ।’ ढेडु (लङ्गुर) खेदाउन भुँईबाट कुकुरले झम्टन खोजे पनि केहीले सिसौंको रुखमा बसेर मकै खाँदै थिए भने केही सजिनाको फूल खान थाले ।
सजिनाको फुल खाँदै गरेको ढेडु (लङ्गुर)लाई देखाउँदै अर्की स्थानीयले भनिन्–‘केही राख्दैनन्, भुटेर खान राखेको मकै घरबाटै लगे, ऊ त्यसरी सजिना खाँदैछन् उनले थपिन–‘दैनिक आउँदैनन् र मात्रै नत्र तरकारी फलफूल केही खान दिंदैनन् ।’ मान्छेकै कारण ढेडु (लङ्गुर)हरु गाउँ पस्ने गरेको ९६ बर्षिय मोतीप्रसाद रिजालले बताए । २०५० सालदेखि सोही ठाउँमा बसोबास गर्दै आएका रिजालले भने–मान्छेले पल्काए ।
विस्कुट दिन्छन् नी त उनले थपे–‘विस्कुट दिएपछि हात हातमा आएर खान्छन् ।’ जंगलमा कन्दमुल खोजेर खाने ढेडु–बाँदर गाउँ पस्नुको कारणबारे रिजाल भन्छन्–‘जंगलमा केही भा पो खानु ! यो पाली त पानी पनि परेको छ्रन, सबै सुकेको छ । फेरी मान्छेले विस्कुट दिएर विगारेका छन् ।’ बाली थन्क्याउने बेलामा आपतै नपारेपनि बाली खाने गरेको बताउँदै रिजालले भने–‘बर्खाको समयमा मकै पाकेको बेला बारी–बारीमा पुग्छन्, मन लाग्दी खान्छन् ।’
धनुषकोटी क्षेत्र सुरुङ्गाको पर्यटकीय क्षेत्र पनि हो । धनुषकोटी पुग्ने एकमात्र सहज बाटो भएका कारण पनि सो क्षेत्रमा आवात जावत बढी नै हुन्छ । पछिल्लो समय मानिसको आकर्षण जंगली जनावर, चरासंग खेलेर रमाइलो गर्नेतर्फ देखिन्छ । सोही कारण ढेडु, बाँदर, माछा, चराचुरुङ्गी पाइने ठाउँमा जाँदा केही न केही खानेकुरा लिएर जाने, उनीहरुलाई त्यही देखाएर आफूतर्फ आकर्षण गर्ने र उनीहरुसंगै फोटो खिचाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने मोहले बढेको छ ।
जसले आगन्तुकलाई क्षणिक रमाइलो होला ! तर, त्यही रमाइलोका कारण स्थानीयले भने दुःख खेप्नुपर्ने बाध्यताको सही व्यवस्थापन गर्न जरुरी छ ।
जंगलमा कन्दमुल खोजी खाने पशुपंक्षी, जनावर, चराचुरुङ्गी पनि विना परिश्रम पेट भर्न पाएभने अल्छी हुनु स्वाभाविकै हो । तर, प्राकृतिक नेचरबाट विमुख भएमा उनीहरुले गर्ने उपद्रोका कारण मानव समुदायलाई सकस अवश्य हुन्छ ।
एकातिर जंगलमा खानेकुरा नपाउनु अर्कोतिर खोजी खाने बानीबाट विमुख भएकालाई पर्यटकीय क्षेत्रमा संरक्षण गर्दै आयआर्जनतर्फ जोड्ने हो भने समस्या समाधान हुन सक्छ । स्थानीय सरकारले त्यतातर्फ बेलैमा सोच्न आवश्यक छ ।

































































































