Homeसमाचारको हुन् ? उपसभामुखमा निर्वाचित मगर

को हुन् ? उपसभामुखमा निर्वाचित मगर

समाजसेवीका रुपमा परिचित इन्दिरा राना मगरले प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी छन् । राना उपसभामुखमा निर्वाचत भएसंगै झापाको क्षेत्र नं. २ बाटै सभामुख र उपसभामुखमा पुगेका छन् । यसअघि यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन् । मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य भएकी थिइन् । उनी सत्ता गठबन्धनबाट उपसभामुखमा निर्वाचित भएकी हुन् । मगरले १६६ मत प्राप्त गर्दै उपसभामुख बन्दा उनकी प्रतिष्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गरेकी थिइन् ।
साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगर सामाजिक कामकै कारण विश्वभर चिनिभएकी छिन् । बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी मगरले बालबालिकाको स्याहार र शिक्षा दिक्षामा खेल्दै आएकी छन् ।
मध्यम वर्गीय परिवारमा जन्मिएर पनि सामाजिक कार्यमा छुट्टै पहिचान बनाएकी मगर राजनीतिकमा नौलो भएपनि सामाजिक क्षेत्रमा भने अब्बल र कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिका रुपमा परिचित छन् ।
गैह्रनाफामुलक संस्था ‘प्रिजनर्स असिस्टेन्स नेपाल’की संस्थापक अध्यक्ष समेत रहेकी राना प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनित सांसद हुन् । उनी सो पार्टीको केन्द्रीय सदस्य हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकको बन्द सूची हुँदै प्रतिनिधिसभा सदस्य बनेकी सामाजिक अभियन्ता मगर आफैंमा संर्घषशील नारी हुन् ।
आफ्नो बाल्यकाल संर्घषमा बिताएकी रानाले आफ्ना दाजुभाइ जस्तै विद्यालय जान नसकेर आँगनको धुलोमा झिँजाले कोरेर अक्षरको अभ्यास गरेर पढ्न, लेख्न शुरु गरेकी थिइन् ।
विसं। २०२७ सालमा झापाको साविक शनिश्चरे–६ सालबारीमा बुवा प्रतापसिंह र आमा मनमाया मगरकी कान्छी छोरीका रुपमा जन्मिएकी इन्दिराले पढ्ने इच्छा भएर पनि ११ वर्षसम्म गरिवी र अशिक्षाकै कारणा पढ्न पाइनन् । आफू बुझ्न सक्ने भएपछि दाजुले पढेको देखेर बस्तु चराउन जाँदा झिँजाले लेख्न सिकेकी इन्दिराले अन्ततः पहिलो पटक कक्षा पाँचमा भर्ना हुँदै प्रथम भएर कक्षा उत्तीर्ण गरेसंगै उनमा रहेको अभूतपूर्ण क्षमताको चौतर्फी चर्चा भयो ।
१६ वर्षमा एसएलसी उत्तीर्ण इन्दिराले २०५३ सालमा स्नातकसम्मको अध्ययन पूरा गरिन् । मार्केटिङमा स्नातक गरेकी उनले समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै उनले सन्तानको लालनपालनका कारण स्नातकोत्तर भने पूरा गर्न सकिनन् ।
सन् २००० मा ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ को स्थापना गर्दै सामाजिक क्षेत्रमा सक्रिय बनेकी इन्दिरा कामकै दौरानमा सन् २०१४ मा स्विडेनकी महारानी सिल्भियाद्वारा विश्व बाल सम्मान पुरस्कारबाट सम्मानित भइन् । बन्दी अभिभावकका बालबालिकाको शिक्षादीक्षामा काम गर्ने इन्दिराले काठमाडौं नयाँबजार, साँखु, पाल्पा र झापामा बन्दी सहायता नेपाालका शाखा सञ्चालनमा ल्याएर सयौं बालबालिकालाई निःशुल्क आवास सहितको शिक्षा प्रदान गरिरहेकी छिन् ।
उनले आफ्नो संस्था मार्फत चार बालगृह, दुई विद्यालय, कैदी र उनीहरूका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले विभिन्न सामाजिक परियोजनाहरू समेत सञ्चालन गरेकी छिन् । इन्दिराले जेलमा रहेका कैदीहरू रिहा भएपछि र उनीहरूका परिवारका सदस्यहरूलाई मद्दत गर्न बन्दी सहायता नेपालको स्थापना पछि देशभरका ७० भन्दा बढी कारागारमा रहेका कैदीबन्दीलाई सेवा प्रदान गरिरहेकी छिन् । यस कामको मान्यतामा बीबीसीले उनलाई सन २०१७ मा संसारका १०० महिलाको सूचीमा सूचीवद्ध गरेको छ । बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आएकी इन्दिरा एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाको रुपमा समेत चिनिन्छिन् ।
अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२० को शीर्ष ३ स्थानमा पर्न सफल भएकी इन्दिराले त्यस्ता दर्जनौ अवार्ड जितेकी छिन्, जुन अवार्डले उनलाई सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिल्ने गरेको उनको भनाइ छ ।
इन्दिराले सञ्चालन गरेको वन्दी सहायता नेपालमा रहेका बालबालिका मध्ये ठूला नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाइ–बुनाइ, कृषि जस्ता आयमूलक काम पनि सिकाउने गरेकी छिन् ।
उनकी एकमात्र छोरी सुवानी आले मगरले मात्र होइन इन्दिरालाई अहिले पाँच सय भन्दा धेरै बालबालिकाले आमा भनेर बोलाउँछन् । उनको संस्थामा अहिले देशका विभिन्न ठाउँमा रहेका बन्दी सहायता नेपालमा १९० जना बालबालिका आश्रित छन् । रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ ।
पीए नेपालले कोभिड–१९ महामारीका कारण समस्यामा परेका गरिब र जोखिममा परेका सडकवासीलाई झण्डै डेढ वर्षसम्म शुरुमा सात सय र पछि एक हजार, गरिब र जोखिममा रहेका सडकवासीलाई दैनिक खाद्य प्याकेज उपलब्ध गराउने अभियान समेत चलाएको थियो । पीए नेपालले ‘भोकका लागि खाद्य कार्यक्रम’ शुरु गरेको यो कार्यक्रम निक्कै प्रभावकारी भएसँंगै नेपालमा पहिलोपटक लकडाउन लागू भएको बेलादेखि नेपालभर यो कार्यक्रम पुग्दा झण्डै पाँच लाख मानिस लाभान्बित भएका थिए । जसका कारण उनलाई महामारीको समयमा घरबारविहीन र जोखिममा परेका मानिसहरूलाई खाना खुवाउने निःस्वार्थ समर्पणका लागि ३६० प्रभाव पुरस्कार २०२२ बाट सम्मानित गरिएको थियो।
यस अघि उनलाई सन् २०१४ मा नेपालका कैदीबन्दीका बालबालिकाका लागि उज्यालो भविष्य प्रदान गर्ने कामको कदरस्वरुप विश्वको सबैभन्दा प्रतिष्ठित सामाजिक कार्य पुरस्कार मध्ये एक होनरी अवार्ड समेत प्रदान गरिएको थियो । सन २००५ मा प्रतिष्ठित अशोक फेलोशिप अवार्डबाट सम्मानित भएपछि, इन्दिराले सो पुरस्कारको रकम संस्थाका लागि पूर्वाधार निर्माण गर्न, आफ्नो संगठन विस्तार गर्न र बालबालिकाको कल्याणका लागि प्रयोग गरिन् । तीन वर्षको लागि मासिक तीन सय डलर उनका लागि वरदान साबित भयो ।
सन् २०१० मा पनि उनलाई एशियाई –२१ युवा नेता सार्वजनिक सेवा पुरस्कार प्रदान गरियो । जुन पुरस्कारबाट उनले झापामा प्राथमिक विद्यालय र पाल्पामा मदर प्याराडाइज होम स्थापना गरिन् । जसले कैदीका बालबालिकाका लागि काम गर्छ । पाल्पा, झापा र काठमाडौंमा कृषि, बागवानी र पशुपालनले उनलाई आत्मनिर्भर बन्न निकै मद्दत गरेको छ ।
इन्दिराले आफ्नो निःस्वार्थ कामका लागि धेरै अवार्ड जितिसकेकी छिन् । उनी सन् २०१४ को विश्व बाल पुरस्कारका लागि तीनमध्ये मनोनयनमा परेका मध्ये एक थिइन् । तर, उनले स्विडेनकी रानी सिल्भियाले प्रदान गरेको विश्व बाल सम्मान पुरस्कारको उपाधि जितेकी थिइन् । उनले आफ्नो जीवनकालमा युवा एसिया पब्लिक सर्भिस अवार्ड र अशोक फेलोशिप अवार्ड सहित धेरै उल्लेखनीय पुरस्कार जितिसकेकी छिन् ।
संघर्षको समयमा कपडा मिलमा मजदुरको रुपमा काम गरेकी उनले गरेकै कर्मकै कारण लीलाराम–कुन्तीदेवी न्यौपाने समाजसेवा पुरस्कार २०१४, नईखरुगौरब पुरस्कार २०१३, उत्कृष्ट समाजसेवी पुरस्कार २०१३, शान्ति दूतका रूपमा विश्व शान्ति महासंघबाट सम्मानित, नवतालश संघर्षरत महिला विकास पुरस्कार २०१३, नवतालश सङ्घर्षकारी महिला पुरस्कार २०१३, सामाजिक विकास पुरस्कार २०१३, लगायतका विभिन्न राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारको हुन् ? उपसभामुखमा निर्वाचित मगर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img